शिक्षामा निक्कै पछाडी परेको सोलुखुम्बु जिल्लामा अझै पनि आफ्ना बालबच्चाहरुलाई स्कुल पठाउनु पर्छ भन्ने बुझाउनु निक्कै जरुरी छ । त्यसमा पनि छोरा र छोरीमा भेदभाव गरी छोरालाई स्कुल पठाउने र छोरीलाई डोको बोकाएर जंगल पठाउने प्रवृत्ति अझै पनि छ ।
सबैले आफ्ना बाल बच्चालाई स्कुल पठाउनु पर्छ भन्ने सन्देश बोकेको "छोरीलाई पनि स्कुल पठाउनु पर्छ" भन्ने र्सार्वजनिक हितको सुचना सोलु एफ.एम.ले प्रसारण गरिरहेको छ । दैनिक जसो प्रसारण हुने यहि र्सार्वजनिक हितको सुचना सुने पछि सोलुखुम्बु जिल्लाको टाप्टीङ गाविस वडा नम्बर २ फतान्जे की मगर थरकी एक महिलाले आफ्नी छोरीलाई पनि स्कुल पठाउन थालिन् ।
आफ्नो सानो छोरालाई मात्र स्कुल पठाएको र ठुली छोरीलाई चाही स्कुल नपठाएको कारण सोलु एफ.एम.वाट त्यस सन्देश प्रसारण हुँदा आफैलाई भने जस्तो लागेर उनी धरधरी रुने गरेकेा उनले सोलु एफ.एम.लाई बताइन् ।
अन्त्यमा केही सीप नलागेर उनले स्कुल नपर्ठाई दाउरा घाँसमा पर्ठाई रहेकी छोरीलाई पनि भाईसँगै स्कुल पठाउन थालिन् । "छोरा र छोरीमा भेदभाव गर्ने समाजको परम्परागत संस्कारलाई जारी राख्न खोज्ने मलाई रेडियोले ठुलो पाठ सिकाएको छ, म अरुलाई पनि छोरा र छोरीमा भेदभाव नगर्न आग्रह गर्दै हिडिरहेकी छु" । ति मगर थरकी अन्दाजी २६/२७ बर्षी महिलाले सोलु एफ.एम.लाई भनिन् ।
यस्तै पढ्नलाई उमेरले छेक्तैन भन्ने भन्ने सन्देश सोलु एफ.एम.मा सुने पछि गोराखानी गाविस वडा नम्बर ९ की निमल्हमु तामाङ स्वेच्छाले १९ बर्षो उमेरमा स्कुल भर्ना भएर अहिले पढिरहेकी छिन् । ८५ बर्षो उमेरमा एसएलसी पास गरेर नेपालमा नै चर्चा कमाएका सोलुखुम्बुकै राइटर बाजे -बलबहादुर कार्की) र ६५ बर्षो उमेरमा पनि नियमित रुपमा स्कुल गएर एसएलसी पास गर्ने काजी बहादुर गिरीको आवाज सोलु एफ.एम.ले प्रसारण गरिरहेको छ ।








