ताजा खबर

समाचार

  • स्वास्थ्य विमा दर्ता प्रक्रिया सोलुखुम्बु सहित ३ जिल्लामा बुधबारबाट सुरु

    news

     
    सृष्टि सुनुवार, सोलुखुम्बु
    असोज २५
    स्वास्थ्य सेवा उपयोगको क्रममा पर्न सक्ने आर्थिक जोखिम कम गर्न नेपाल सरकारले सुरुवात गरेको स्वास्थ्य विमा कार्यक्रमको दर्ता प्रक्रिया बुधबारबाट थप ३ जिल्लामा एक साथ सुरु भएको छ ।
     
    सोलुखुम्बु, झापा, सुनसरीमा दर्ता प्रक्रिया प्रारम्भ भएको हो । हाल सम्म विभिन्न १९ वटा जिल्लामा यो कार्यक्रम सन्चालित छ । आर्थिक बर्ष २०७४/७५ सम्म ३९ वटा जिल्लामा पुर्याउने योजना अनुसार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले काम गरीरहेको समितिका तर्फबाट सोलुखुम्बुका जिल्लाका लागि संयोजक प्रदिप बाबु बस्नेतले जानकारी दिनुभयो ।
     
    गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरीकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको राष्ट्रिय प्रतिवद्धता अनुसार कैलालीबाट सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (स्वास्थ्य विमा)को सुरुवात गरिएको थियो ।
     
    सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा मेयर नाम्गेल जाङ्बु शेर्पाले आफ्नो परिवारको विमा गर्दै दर्ता प्रक्रियाको सुरुवात गर्नुभएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति सोेलुखुम्बुको आयोजनामा गरिएको औपचारीक कार्यक्रममा मेयर शेर्पाको परिवारमा रहेको ४ जना सदस्यले २५ सय तिरेर स्वास्थ्य विमा गराएको हो ।
     
    स्वास्थ्य बिमा दर्ता प्रक्रियाका लागि ३८ जना दर्ता सहयोगीहरु वडागत  तहमा  परिचालित हुने छन् । खुम्बु पासाङल्हमु गाउँपालिका बाहेकका गाउँपालिका सहित नगरपालिकामा दर्ता कार्यक्रम संचालन हुने संयोजक बस्नेतले जानकारी दिनुभयो । पर्यटकीय सिजन तथा चाडपर्वका कारण खुम्बुपासाङल्हमु गाउँपालिकामा दर्ता सहयोगी छनौट तथा अभिमुखीकरण गर्न नसकिएको भन्दै बस्नेतले गाउँपालिका सगँ समन्वय गरी चाडै कार्यक्रम सन्चालन गरिने उल्लेख गर्नुभएको छ ।
     
    सोलुखुम्बुका सबै सरोकारवाला स्वास्थ्य विमा कार्यक्रम प्रति सकारात्मक रहेका छन् । आर्थिक अभावकै कारण कसैले अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नका लागि यस कार्यक्रमले भुमिका खेल्ने विश्वास उहाँहरुको रहेको छ । ५ जना सम्मको परिवारले २५ सय तिरेर १ बर्ष सम्मका लागि ५० हजार सम्मको सेवा प्राप्त गर्न सक्नेछन्  । सोलुखुम्बुको हकमा विमा गरेका सदस्यहरुले जिल्ला अस्पताल फाप्लु, प्राथमिक स्वास्थ्य केन्द्र सोताङ र सल्यानमा  सेवा लिन सक्नेछन् ।
     
    सोलुखुम्बुमा  बुधबार देखि सामाजिक स्वास्थ्य सुरक्षा ( स्वास्थ्य विमा ) दर्ता कार्यक्रम सुरु भएको छ । नागरीक समाज सोलुखुम्बुका अध्यक्ष कुल नारायण श्रेष्ठले आफु स्वस्थ भएपछि मात्र देशका लागि केही गर्न सकिने भन्दै सरकारले लिएको कार्यक्रम सफल बनाउन सबैको दायित्व भएको बताउनुभयो ।  स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा जनसहभागितालाई व्यापक गराउनका लागि सक्दो सहयोग गर्ने नेपाल रेडक्रम सोसाइटीका  सभापति रामकाजी श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
     
    निमित्त प्रमुख जिल्ला अधिकारी सरस्वती खनालले सबै नागरिकलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यो कार्यक्रम आएको भन्दै निम्न वर्गका नागरीकलाई लाभ पुर्याउन सक्नुपर्नेमा जोड दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिङमार छिरीङ शेर्पाले विमा प्रक्रियाका क्रममा आउन सक्ने जटिलताहरुलाई समाधान गर्दै अघि बढ्ने बताउनुभयो ।
     
     सोलुदुधकुण्ड नगरपालिकाकी निमित्त कार्यकारी अधिकृत इन्दिरा थापाले आर्थिक अभाव, जनेचतनाको कमी आदिका कारण स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेकालाई विमा कार्यक्रमले समेट्न सक्नुपर्ने बताउनुभयो । उहाँले ७० बर्ष भन्दा माथिका वृद्धावृद्धलाई नगरपालिकाले नै विमा गराईदिने निती नगरपालिकाले लिएको जानकारी दिनुभयो ।
     
    सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले कार्यक्रम सफल बनाउन नगरपालिकाले आवश्यक सहयोग तथा समन्वय गर्न तयार रहेको भन्दै विमा गरेका सदस्यहरुलाई सेवा दिने अस्पताल तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । उहाँले सेवा ग्राहीको चाप बढ्न सक्ने भएकाले आवश्यक जनशक्ति, प्रविधिलाई चुस्त राखेर प्रभावकारी सेवा दिन सक्नुपर्नेमा जोड दिनुभयो ।
     
    सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा जुनसुकै समयमा सदस्य बन्न सकिन्छ तर सेवा सुरु हुन भने निश्चित समय कुर्नुपर्ने हुन्छ । असोजमा सदस्य बन्नेले मंसिर १ गतेबाट सुचीकृत स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने छन् ।  

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org