समाचार

  • चस्मा लगाउनुपर्ने नियमित लगाउनुहोस् नत्र दृष्टि नै गुम्न सक्छ

    news

     
    सृष्टि सुनुवार, सोलखुुम्बु
    जिल्ला सामुदायिक आखाँ केन्द्र फाप्लु सोलुखुम्बुका प्रमुख पुष्पबाबु बस्नेतले दृष्टि दोष भएर चस्मा लगाउनुपर्ने भएका सबैले नियमित चस्माको प्रयोग गर्न सुझाव दिनुभएको छ । उहाँले अप्ठ्यारो मानेर चस्माको प्रयोग नियमित रुपमा नगरे वा ढिलाई भएमा आखाँको पर्दाहरु फाट्ने र पछि गएर चस्मा लगाएपनि सुधार नहुने जोखिम हुने भएकाले बेलैमा सचेत हुन आग्रह गर्नुभयो ।  
     
         चेतनामुलक कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाएपछि पत्रकार महासंघ सोलुखुम्बुको कार्यालय सल्लेरीमा गरिएको पत्रकार सम्मेलनमा बोल्नुहदै बस्नेतले ग्रामिण भेगमा ४ प्रतिशत बढि नागरीकमा दृष्टि दोषको समस्या भएको उल्लेख गर्नुभयो । आधुनिक जिवन शैली तथा उमेरका कारण आखाँ सुख्खा हुने, दृष्टि दोष, मोतिविन्दु, जलविन्दु जस्ता समस्याले अन्धोपनाका समस्या आउने भएकाले समय समयमा आखाँ जाँच अनिर्वाय रहेको नेत्र विशेषज्ञको भनाई छ ।
     
          दिवसको अवसरमा सोलुदुधकुण्ड नगरपालिका वडा नं  ५ जैदुमा अन्तरक्र्रिया गरिएको छ । ६५ जनाको सहभागितामा भएको कार्यक्रममा आखाँ सम्वन्धि रोग, उपचार, आँखा स्वास्थ्य सेवाको आवश्यकता तथा महत्व ,  जिल्ला सामुदायिक आखाँ केन्द्रमा पाइने सेवाका विषयमा जानकारी गराइएको थियो । वालवालिका (१८ वर्षभन्दा कम उमेर) तथा वृद्ध (६० वर्ष देखि मथिका उमेर) विरामी गरी २१ जना विरामीको निशुल्क दर्ता गरिएको छ ।
     
         आँखा उपचार सम्वन्धि जनचेतना जगाउने उद्देश्यका पर्चा बितरण तथा सार्वजनिक स्थलमा पोष्टर टाँस गर्ने कार्यक्रम समेत भएको छ । “सबैका लागि आँखा स्वास्थ्य, दृष्टिको महत्व बुझौ, विश्व दृष्टि दिवस मनाऔ ” भन्ने नाराका साथ उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरु बारे विश्व भर चेतना जगाउन विश्व दृष्टि दिवस मनाइएको छ ।
     
         यसैबीच सोलुखुम्बुमा हाल सम्म दृष्टि सम्वधि समस्या भएका ७६ जनाले अपांगता परिचय पत्र लिएका छन् । महिला तथा बालवालिका कार्यालय सोलुखुम्बुकी निमित्त प्रमुख रिता ढुगांनाले कार्यालयको तथ्यांक अनुसार महिला ३० र पुरुष ४६ जनाले दृष्टि सगँ सम्वन्धित अपांगता भएपछि ख, ग र घ वर्गका परिचय पत्र लिएका छन् । जस्मा दृष्टि विहिनता भएका २३ जना महिला र ३७ जना पुरुषले ख वर्गको परिचय पत्र पाएका छन् । न्युन दृष्टि युक्त ७ जना महिला र ९ जना पुरुषले ग र घ वर्गका परिचय पत्र लिएको ढुगांनाले बताउनुभयो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org