ताजा खबर

समाचार

  • मार्क जुकरबर्ग, मेरो लोकतन्त्र तिम्रो प्रयोगशाला होइन

    news

    मेरो देश सर्बिया हो। म यहाँ एक स्वतन्त्र र गैरनाफामूलक मिडियामा प्रधानसम्पादक छु।

    गत महिना मैले थाहा पाएँ, हामीले फेसबुकमा पोस्ट गरेका समाचार पाठकहरूसम्म पुग्न छाडेका छन्। म छक्क परेँ।

    हाम्रो वेबसाइटमा पाठक आउने मुख्य बाटो भनेकै फेसबुक थियो। हामी त्यसैबाट हराइरहेका थियौं। हाम्रो दर्शक संख्या ह्वात्तै घटेको थियो।

    यसो हुनुमा हाम्रै केही प्राविधिक त्रुटि होला भन्ने मैले सोचेँ।

    होइन रहेछ!

    फेसबुकले नै आफ्नो संरचनामा ‘झिनो परिवर्तन’ गरेको रहेछ।

    हामीजस्ता मिडियाले पोस्ट गरेका समाचार वा अन्य सामग्री उसले ‘न्यूजफिड’ बाट हटाएको थियो। जुन पाठकले फेसबुकमा हाम्रो समाचारका लिंक खोलेर पढ्ने गर्थे, ती देखिनै छाडेका थिए। फेसबुक प्रयोगकर्ताले ती समाचार पढ्न न्यूजफिडको सट्टा ‘एक्सप्लोर फिड’ मा जानुपर्थ्यो, जसका लागि अलग्गै लग-इन जरुरी थियो।

    फेसबुकले त्यस्ता समाचारका लिंक मात्र सबै प्रयोगकर्ताकहाँ पठाउन थाल्यो, जसमा हामीले पैसा तिरेका हुन्थ्यौं। अर्थात्, ‘स्पोन्सर्ड पोस्ट’ मात्र पाठकका न्यूजफिडमा देखिन थाले।

    फेसबुकले यसलाई आफ्ना विशेषता परीक्षण गर्न अपनाएको ‘झिनो परिवर्तन’ मानेको छ, तर यही ‘झिनो परिवर्तन’ हाम्रा निम्ति भयावह बनेको छ।

    हामीले पोस्ट गर्ने समाचारमा एक क्लिकको पनि महत्व हुन्छ। हामीलाई मात्र होइन, हाम्रो देशका नागरिकलाई पनि। फेसबुकको अप्रत्यासित परिवर्तनले हामीजस्तो समाचार संस्थाको अस्तित्व त जोखिममा पारेकै छ, देशका गतिविधिबारे नागरिकले पाउँदै आएका सूचना पनि खोसिएका छन्।

    सबभन्दा उदेकलाग्दो त, फेसबुकले यो परीक्षण अमेरिका वा युरोपमा गरेन, हामीजस्ता साना देशमा गर्यो, जहाँ नागरिकलाई सुसूचित गराउन समाचार र सञ्चामाध्यमहरूको ठूलो हात छ। सर्बिया मात्र होइन, ग्वाटेमाला, स्लोभाकिया, बोलिभिया र कम्बोडिया पनि फेसबुकको परीक्षणस्थल बनेका छन्।

    केही सञ्चारमाध्यमले यो नियम विस्तारै विश्वभर लागू हुने बताएका छन्। वास्तविकता भने कसैलाई थाहा छैन।

    सानो देशको विडम्बना के भने, हामी ‘भन्न’ बाहेक केही गर्न सक्दैनौं। अमेरिकीहरूको ध्यान नखिचियोस् भनेरै फेसबुकले साना देशलाई प्रयोगशाला बनाएको होला! तर, उसको परीक्षणले हाम्रोजस्तो देशको राजनीति र सूचना प्रवाहमै असर परेको छ। किनकि, फेसबुकले त्यस्ता लिंक मात्र सबै पाठकसम्म पुर्याउँछ, जसको निम्ति हामी पैसा तिर्छौं। विडम्बना, हामी सबै समाचार फेसबुकमा हालेको पैसा तिर्न सक्दैनौं।

    सर्बिया सन् २००० मा मात्र स्लोबोदन मिलोसेभिकको शासनबाट मुक्त भएको देश हो। यहाँ अझै पूर्ण लोकतन्त्र विकास भएको छैन। राष्ट्रपति अलेक्जेन्डर भुकिक नेतृत्वको पार्टीले संसद र पूरै राजनीतिक व्यवस्था नियन्त्रणमा लिएको छ। यसले शासन व्यवस्थामाथि निगरानीको खाँचो बढाएको छ। यहाँनिर स्वतन्त्र सञ्चारमाध्यमको ठूलो भूमिका हुन्छ। र, उत्तिकै महत्व हामीले बढीभन्दा बढी जनतासम्म खबर पुर्याउनु पनि हुन्छ।

    हुन त राष्ट्रपति भुकिक आफूलाई सुधारवादी र युरोपेली पक्षधर साबित गर्न खोजिरहेका छन्। तर, मिलोसेभिक सरकारमा सूचनामन्त्री छँदा समाचार सम्प्रेषणमा पाबन्दी लगाउने उनै थिए।

    आज सर्बियामा मिलोसेभिक शासनको जस्तो कडा समाचार पाबन्दी छैन। सरकारप्रति वफादार समाचार संस्थाहरूले स्थानीय र केन्द्रीय बजेटबाटै विशेष सुविधा तथा आर्थिक सहयोग पाइरहेका छन्। यो परिधिभित्र बस्न नरुचाउने संस्थाले भने कर कार्यालयको आकस्मिक छापा बेहोर्नुपरेको छ।

    यस्तो देशमा स्वतन्त्र पत्रकारिता गर्नु निकै चुनौतीपूर्ण छ। सन् २०१५ देखि मेरो खोजमूलक गैरनाफामुखी मिडिया ‘केआरआइके’ ले मूलधारका मिडियाले छुँदै नछोएका समाचार प्रकाशन गरिरहेको छ।

    बदलामा हामीले के पायौं?

    हामीमाथि जासुसी गरियो। धम्की आयो। यतिसम्म कि, मूलधारका पत्रिकाको आवरण पृष्ठमै भए-नभएका कुरा समेटेर हाम्रो व्यक्तिगत जीवनकथा छापिए।

    गत वर्ष केआरआइकेले एक जना डाक्टरका विषयमा खोजमूलक लेख छापेको थियो। ज्लाटिबोर लोन्कार नामक ती शल्यचिकित्सकले भर्खर भर्खर पेसा थाल्दा एक आपराधिक गिरोहलाई मद्दत गरेका थिए। त्यो गिरोहले आफ्ना दुश्मन सफाया गर्न उनलाई प्रयोग गरेको अदालतले पुष्टि गरेको थियो। तिनै डाक्टर आज स्वास्थ्य मन्त्री छन्।

    मन्त्री ओहोदामा पुगेका ती डाक्टरले सलाइनमार्फत् बिरामीलाई विष दिँदै आएको खबर सनसनीपूर्ण थियो। देशको राजनीतिक अवस्था उजागर गर्न यो समाचारको भूमिका महत्वपूर्ण थियो। तर, मूलधारका कुनै मिडियाले यसलाई समेट्न त के, वास्तासमेत गरेनन्।

    केआरआइकेले भने त्यो समाचार लेख्यो। सर्बियाका केही नागरिकले हाम्रो वेबसाइटमै गएर उक्त खबर पढ्न पाए।

    हाम्रा लागि सबभन्दा खुसीको क्षण तब भयो, जब फेसबुक हाम्रो सन्देशबाहक बन्यो। हाम्रा समाचार फेसबुकको न्यूजफिडमार्फत् धेरैभन्दा धेरै पाठकसम्म पुग्यो। त्यसैमार्फत् पाठकहरू हाम्रो वेबसाइटसम्म आए। उनीहरूले हाम्रा समाचार मन पराए।

    यहाँनिर मैले भन्नैपर्छ, फेसबुकले हामीलाई मूलधारका पत्रिकाभन्दा माथि उठेर हजारौं पाठकसम्म समाचार पुर्याउन मद्दत गर्यो। यसले हामीलाई खोजमूलक पत्रकारितामा लाग्न थप प्रेरित गर्यो।

    यो एक महिनाअघिको घटना हो।

    आज हामीले पोस्ट गरेका समाचार तथा अन्य सामग्रीका लिंक फेसबुकमा देखिँदैनन्। कुनै लुक्छन् त कुनै जाँदै-जाँदैनन्।

    फेसबुक भन्दैछ, ‘झूटा समाचार’ को प्रभाव कम गर्ने उद्देश्यले यसो गरिएको हो।

    मलाई लाग्छ, यस्तो प्रयोगले हामीजस्तो स्वतन्त्र ढंगले खोजमूलक पत्रकारिता गर्दै आएको संस्था बर्बाद पार्नेबाहेक केही उपलब्धि हुँदैन। मार्क जुकरबर्गले गर्दै आएको परीक्षण खतरनाक छ। मुख्य टिभी च्यानल, मूलधारका पत्रपत्रिका र संगठित अपराधमा संलग्न संस्थाहरूलाई फेसबुक विज्ञापन किन्न समस्या हुँदैन। उनीहरू भनेजति पैसा तिरेर आफ्ना सामग्री बढीभन्दा बढी पाठक वा दर्शकसम्म पुर्याउन सक्छन्। आर्थिक क्षमता भएका उनीहरूका लागि त्यो बाटो कठिन छैन। हामीजस्ता हजारौं साना संस्था भने प्रभावित हुनेछन्।

    यस्तो स्थिति आउनुमा फेसबुक मात्र जिम्मेवार छैन, हामी पत्रकार पनि छौं।

    आफ्ना पाठकसम्म पुग्न फेसबुककै सहारा लिने आवश्यकता हामीले देख्यौं। त्यसैका पछाडि दौडियौं, समय खर्चियौं। फेसबुकमा आफ्नो उपस्थिति जनाउन लागिपर्यौं। हाम्रो यही पालनपोषणले आज फेसबुक भयावह रूपमा हामीमाथि हाबी भयो।

    अब जे हुनु भइसक्यो। कसैप्रति जवाफदेही नभएको एक व्यक्तिगत कम्पनीले आज विश्व मिडिया समाजमाथि आधिपत्य जमाइसकेको छ। अब जे हुन्छ, त्यसको जिम्मेवार फेसबुक नै हुनेछ। यहाँनिर फेसबुकले आफ्नो परीक्षण निम्ति अस्थिर राजनीतिक अवस्था भएका स-साना देशलाई प्रयोगशाला बनाउँदा पर्ने प्रभाव बेवास्ता गरेको छ।

    फेसबुकले आफ्नो शक्तिमार्फत् के के गर्न सक्छ भन्ने त हामीले देखिसक्यौं। उसको पकडबाट जोगिन र त्यसको शिकार नहुन के गर्न सकिन्छ भन्ने अब हामीले खोज्नुपर्छ।

    सर्बियामा फेसबुकपछि सबभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल ट्विटर हो। फेसबुकको तुलनामा यसका प्रयोगकर्ता धेरै कम भए पनि हामी यसमा भर पर्दै जान सक्छौं। विस्तारै यसलाई पाठकसम्म पुग्ने प्लेटफर्म बनाउन सक्छौं।

    यसबाहेक अन्य विकल्प खोज्ने समय पनि आइसकेको छ।

    म जहिल्यै वैकल्पिक श्रोतमा आकर्षित हुने मान्छे हुँ। सन् १९९० दशकमा म सानो स्वतन्त्र ‘पंक म्यागेजिन’ चलाउथेँ। आज खोजमूलक रिपोर्टर र सम्पादक भएको छु। यही हैसियतले अरूले नसमेटेका ठूला र आश्चर्यजनक समाचार सम्प्रेषण गर्न चाहन्छु।

    सर्बियाजस्तो राजनीतिक उथलपुथल भएका देशमा सत्य-तथ्य जान्न मेरो संस्थाजस्तो साख जोगाउन सफल केही मिडिया मात्र उपयुक्त माध्यम हुन्। यस्ता संस्थालाई आफ्नो अस्तित्व जोगाउन फेसबुक नै वैकल्पिक मार्ग हो भन्ने लाग्ला। तर, कम्तिमा सर्बियामा यो अवस्था रहेन। यहाँ त एक शक्तिशालीका निम्ति आफ्नो शक्ति प्रदर्शन गर्ने खेल मैदान मात्र बन्दैछ, फेसबुक।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org