ताजा खबर

समाचार

  • यसरी हुन पुग्यो ‘धुर्मुस–सुन्तली’को विवाह

    news

    कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल उर्फ धुर्मुस र कुन्जना घिमिरे उर्फ सुन्तली मंसिर १४ गते  विवाह बन्धनमा बाँधिएको ९ वर्ष पूरा भएको छ । 

    रौतहटको सन्तुपुर बस्ती निर्माणमा सक्रिय रहेका यी दुईले १० औँ वैवाहिक वर्षगाँठ त्यही बस्तीमै मनाउने भएका छन् । उनीहरुको वैवाहिक वर्षगाँठ पारेर आज हामीले उनीहरुको विवाह कसरी हुनपुग्यो ? त्यस विषयमा एक सामग्री तयार पारेका छौँ । यस सामग्रीका लागि सबै जानकारी सीताराम कट्टेलले दिएका हुन् ।

    कलाकार बन्न संघर्ष गरिरहेका सीतारामले दमन रुपाखेतीको हाँस्य टेलिश्रृखला ‘लौन सतायो’मा व्यवस्थापक भएर काम गर्ने अवसर पाए । यही टेलिश्रृङखलाले उनको भेट गरायो कुन्जना घिमिरेसँग । यही सिरियलको छायाकंनको क्रममा पहिलो पटक सीतारामले मैतिदेवीमा कुन्जनालाई भेट्ने अवसर पाएका थिए । तर सीताराम भने त्यति छिट्टै बोल्ने गर्दैनथे  । यही कारण कुन्जनाले नै बोल्न सुरु गरेकी थिइन् । पछि उनीहरुको भेट रेडियो नेपालको दिनप्रतिदिन नामक कार्यक्रमले पनि गरे । पछि  ‘मेरी बास्सै’गर्ने निधो भयो ।  ‘मेरी बास्सै’मा कामगर्ने शिलशिलामा उनीहरुको भेट बाक्लिँदै गयो । ‘मेरी बास्सै’मा सुरुवातमा उनीहरु काकाभतिजी भएर काम गरे । तर शहरी कथामा आधारित रहेर गरिएको उक्त कार्यक्रममा दर्शकको खासै रुचि देखिएन । यही कारण उनीहरुले धुर्मस–सुन्तली नाम पाए र श्रीमान् श्रमितीको भूमिकामा देखिए । यो भूमिकाले उनीहरु दर्शकको आँखामा परे । सबैले उनीहरुको भूमिका मन पराइदिए । उनीहरु यही नामले कलाकारितामा स्थापित भए । उनीहरु धुर्मुस–सुन्तली भएर स्थापित हुनुमा खेम शर्मा, दमन रुपाखेती, केदार घिमिरे रजितु नेपालको  विशेष सहयोग र भूमिका छ । 

    ‘मेरी बास्सै’मा काम गर्ने क्रममा उनीहरुको माग स्टेज कार्यक्रममा पनि हुन थाल्यो । यही क्रममा उनीहरु एकपटक सीतारामको गृह जिल्ला झापा पुगे ।  झापामा पुगेर सीतारामको परिवारलाई नजिकबाट चिनेपछि कुन्जना सीतारामसँग झन् नजिक हुन थालिन् । सीतारामको परिवारको अवस्था बुझेर सीतारामप्रति कुन्जनाको माया झन् बढ्न थाल्यो । सीतारामको परिवारलाई लागेको ऋण तिर्न कुन्जनाले त्यतिबेलै साथ दिएकी थिइन् । त्यसबखत नै कुन्जना सहयोगी र सफा मनकी भएको भन्दै सीताराम उनीप्रति इम्प्रेस भएका थिए ।  

    टेलिभिजनमा श्रीमान् श्रीमतीको भूमिकामा देखेका कारण बालबालिकादेखि बृद्धाबृद्धसम्म सबैले उनीहरुलाई श्रीमान् श्रीमती जस्तै ठान्दथे । धेरैले वास्तविक जीवनमा पनि श्रीमान् श्रीमती बन्न आशीर्वाददिन्थे ।  तर उनीहरुले यी कुराहरुलाई सामान्य रुपमा लिए र सहयोगी साथीका रुपमा मात्र सम्बन्ध अगाडि बढाउँदै गए । यता केदार घिमिरे र दमन रुपाखेतीले पनि रमाइलो पाराले उनीहरुलाई जिस्काउन थालेका थिए ।  देश विदेशका कार्यक्रम आयोजकहरु जिस्क्याउँदै एउटै कोठा बुक गरे हुन्छ होलानी ! भन्न सम्म पनि पछि पर्दैनथे ।  सीताराम भने पुरुष प्रधान देशमा हुर्किएका कारण उनका लागि यी कुरा सामान्य थिए । तर कुन्जनाका लागि भने यी कुरा पीडादायी थिए ।  समाजका लागि यस्ता कुरा उनको कुरा काट्ने हतियार थिए ।  इज्जतमा दाग लगाउने धब्बा थिए ।  

    तर यी सबै कुरामा कुन्जनाको सहनशीलता देखेर थाहै नपाई सीताराम कुन्जनाप्रति आकर्षित भए । कुन्जनाकै  कारण केटीसँग लजाउने र बोल्न डराउने सीताराम माया गर्ने प्रेमी बन्न पुगे । कुन्जनाले नै आफूलाई माया गर्न सिकाएको सीताराम बताउँछन् ।  कुन्जना मायालु हुनुका साथै हकी स्वभावकी पनि छिन् । यसै कारण सीतारामलाई  मनका कुरा भन्न केही समय लाग्यो । एक दिन उनले मौका मिलाएर कुन्जनालाई मनका कुरा भने । तर कुन्जनाले भने उल्टै उनलाई सम्झाउन थालिन् । भर्खरै आफूहरु हाँस्य क्षेत्रमा स्थापित हुने क्रममा भएको भन्दै कुन्जनाले, ‘यो समयमा हामी माया प्रेममा रमाउन थाल्यौँ भने बरालिन थाल्यौँ भने समाजले हामीलाई के भन्छ ?’ भनेर उल्टै प्रश्न गरिन् । उनको प्रश्नमा दम थियो भन्छन् सीताराम । 

    सीतारामले  माया गर्ने कुरा थाहा पाएपछि कुन्जनाले त्यसलाई सकारात्मक रुपमा लिइन् ।  यसले सीतारामलाई अझै निकटताको महसुस गरायो ।   डेटिङ बिना नै उनीहरु एक वर्षसम्म एकअर्काको मायामा रहे । त्यसबखत झापाका ज्योतिष ढकाल चर्चामा थिए । उनले गरेका भविष्यवाणीहरु मिल्ने विश्वास धेरैलाई थियो ।  घर गएको मौका पारेर सीतारामले पनिआफ्नो चिना हेराए ।  सीतारामको चिना हेरेपछि उनले विवाह गरिहाल्न सुझाव दिए । त्यो पनि कुन्जनासँगै । विवाहमा सीतारामलाई भने कुनै पनि समस्या थिएन । उनको परिवारले पनि कुन्जनालाई राम्ररी चिनेको थियो । तर कुन्जनाको परिवारमा भने सीतारामको परिवारको बारेमा खासै जानकारी थिएन ।  तर कुन्जनाले परिवारलाई मनाइन् ।  यसरी उनीहरुको विवाहहुने पक्काभयो । २०६५ सालको मंसिर १४ गते उनीहरुले लगनगाँठो कसे । विवाहको दुई दिनपछि नै उनीहरुले पोखरा महोत्सवमा प्रहसन दिए । यो नै विवाहपछि उनीहरुको पहिलो कार्यक्रम थियो । तर कुन्जना जीवनमा प्रवेश गरेपछि सीतारामको जीवनमा स्टेज कार्यक्रमको ओइरो नै लाग्यो । उनीहरु देशदेखि विदेशसम्मका दर्शक हँसाउन व्यस्त भए ।

    यसै क्रममा सरकारले उनीहरुलाई सरसफाई दुत घोषणा गर्यो । त्यसबखत पनि कुञ्जनाले नै सीतारामलाई हिम्मत दिएकी थिइन् ।  उनी भन्थिन्, ‘यो हामीलाई देशले दिएको जिम्मेवारी हो । हामीले यसलाई पूरा गर्नुपर्छ । चुपचाप बस्नु हुँदैन ।’ काखे छोरी छाडेर कुन्जना र सीताराम समाजमा मानिसको सोच परिवर्तन गर्न हिँड्न थाले । सामाजिक अभियन्ता भएर उनीहरुले काम गर्न थाले । 

    उनीहरुले सरसफाई दुत भएर काम गर्ने क्रममै नेपालमा विनाशकारी भुकम्प गयो । धेरै नेपालीहरु घरबार बिहिन भए । भूकम्पपछि घरबारबिहिन भएकाहरुलाई घर बनाइदिने काम गर्न यो जोडीले सुरु गर्यो ।  सुरुमा काभ्रेको डाँडागाउँमा ‘धुर्मुस–सुन्तली एकीकृत नमुना बस्ती’ बन्यो ।  यो बस्ती त्यति सहजै निर्माण भएको थिएन । बस्ती निर्माणको कार्य भईरहँदा आर्थिक अभाव भएर सीताराम चिन्तामा परेका थिए । यही क्रममा कुन्जनाले उनलाई आफ्नो घर बेचेरै भएपनिउक्त बस्ती निर्माण कार्य सकाउन सुझावदिईन् । कुन्जनाले सीतारामलाई भनेकी थिइन्, ‘दर्शक हँसाएर कमाएको पैसाले बनाएको घर दुःखमा परेका दर्शकको अनुहारमा खुशी ल्याउनकै लागि त खर्च हुने हो ।’ 

    जसोतसो पहिलो बस्ती निर्माण भयो । तर कुन्जनालाई भने  त्यो बस्ती सोचेजस्तो नभएको आभाष भयो ।  उनले सीतारामसँग बेलाबखतमा भन्ने गर्थिन्, ‘यस्तो बस्ती निर्माण गर्न मन छ जहाँ हरेक प्रकारका चिटिक्कका घर होस्, बालबालिकालाई खेल्नको लागि छुट्टै मैदान होस्,  चौडा बाटो होस्,  बगैँचा होस्,  समाज एक भएर बस्न पाउने एउटा सामुदायिक भवन होस्, त्यो बस्ती नै मानिसको आर्थिक आयआर्जनको स्रोत बनोस् । त्यहाँका मानिसको जीवनस्तर सुध्रेको महसुस सबैले गर्न सकुन् ।  यस्तै बस्तीको आवश्यकता बुझेर समाज मिलाउने, शान्ति फैलाउने  र फिजाउने बाटोमा देश अघि बढ्न सकोस् ।’ उनको यही सपना पूरा गर्ने प्रयासमा ‘गिरान्चौर एकीकृत नमुना बस्ती’ निर्माण भएको सीताराम बताउँछन् ।

    दुईवटा बस्ती निर्माणले मात्रै समाज सेवाबाट सीताराम र कुन्जनाको मन भरिएन । फेरि उनीहरुले महोत्तरीको मुसहर बस्ती निर्माण गरे । त्यहाँका बालबालिकालाई विद्यालय जाने व्यवस्था गरिदिए । यो बस्तीको काम सकिएपछि उनीहरुले नमुना नेपाल बनाउने घोषणा गरेका थिए । तर यसको काममा लाग्नु भन्दा अगाडि नै तराईमा बाढी आएर केही तराईबासीहरु घरबारबिहिन हुन पुगे ।

     

    उनीहरुले तत्कालका लागि नमुना नेपालको काम छोडेर रौतहटमा सन्तपुर बस्ती निर्माण कार्यमा जुटे । यो बस्तीको काम आधा भैसकेको छ । जीवनमा जति पनि काम भए ती सबै काम कुन्जनाको आँट र सहयोगले नै पूरा भएको सीताराम बताउँछन् । कुन्जना पनि जीवनमा सीतारामको साथ र सहयोगको कुनै मोल नभएको बताउँछिन् ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org