ताजा खबर

समाचार

  • संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?

    news

    धेरै मानिसहरुले यसलाई हतारमा गरिएको विश्लेषण ठान्न सक्छन् । तर, मतगणनाको सुरुआती रुझानले के देखाइसकेको छ भने यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने पक्कापक्की जस्तै छ ।

    कांग्रेस नेता बालकृष्ण खाँडको दाबीअनुसार पहिलो चरणमा मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा माओवादी र एमालेले बढी सिट जिते पनि दोस्रो चरणमा चुनाव भएका ४५ जिल्लामा कांग्रेसको परिणाममा सुधार हुनेछ । तर, खाँडले भनेको त्यो ‘सुधार’ ले कांग्रेसलाई ठूलो दल बनाउने र सरकारमा लैजाने सम्भावना लगभग सकिएको छ ।

    अहिलेसम्म के विश्लेषण गरिँदै आएको छ भने समानुपातिकमा नेपाली कांग्रेसले ल्याउने मत बढी हुनेछ र त्यही मतका आधारमा कांग्रेसले माओवादीलाई ह्वात्तै जित्न सक्छ । तर, देशैभरि बढेको कांग्रेसको अलोकप्रियतालाई हेर्दा समानुपातिकमा पनि माओवादी र कांग्रेसवीच प्रतिस्पर्धा नहोला भन्ने स्थिति अब रहेन ।दोस्रो संविधानसभाको चुनावसम्म सबैभन्दा ठूलो दल रहेको र स्थानीय चुनावमा दोस्रो भए पनि एमालेको हाराहारीमै रहेको कांग्रेस अहिले प्रत्यक्षतर्फ एमालेसँग होइन, माओवादीसँग संघर्ष गरिरहेको छ ।

    नेपाली कांग्रेस प्रत्यक्षतर्फको चुनावमा मात्रै अलोकप्रिय हुने र समानुपातिकमा चाहिँ लोकप्रिय नै भइरहने अनुमान गर्न सकिँदैन । तैपनि अहिले यति भन्न सकिन्छ कि माओवादी र कांग्रेसमध्ये को दोस्रो पार्टी बन्ने भन्ने विषयको छिनोफानो समानुपातिक मतले नै गर्नेछ ।

    राजधानी र तराईको रुझान

    कांग्रेस नेता खाँडले दोस्रो चरणमा निर्वाचन भएका जिल्लाहरुबाट कांग्रेसको राम्रो परिणाम आउने दाबी गरिरहेकै बेला शुक्रबार अपरान्हसम्म राजधानी र तराई–मधेसका अधिकांश जिल्लामा प्रारम्भिक मत परिणाम आउन थालिसकेको छ ।

    राजधानीमा प्रकाशमान सिंहको क्षेत्रबाहेक अन्य स्थानमा वाम गठबन्धनकै अग्रता देखिन्छ । ललितपुरमा पनि वाम गठबन्धनकै सुरुवाती अग्रता देखिएको छ ।र, काठमाडौं उपत्यकादेखि लिएर तराई–मधेसको अवस्था हेदा त्यहाँ पनि कांग्रेसको स्थिति दयनीय छ । धनुषामा विमलेन्द्र निधिको क्षेत्रमा होस् या बिराटनगरमा सुरक्षित भनिएको डा. शेखर कोइरालाको क्षेत्रमा नै किन नहोस्, कांग्रेसले अग्रता लिन सकिरहेको छैन । मोरङमा वाम गठबन्धनले सबै सिटमा अग्रता लिनु कांग्रेसका लागि निकै ठूलो धक्का हो ।

    कांग्रेसले पहाडमा गुम्ने सिटहरुको ‘रिकभर’ मोरङ, सुनसरी र कैलाली– कञ्चनपुरका जिल्लाहरु अनि काठमाडौं उपत्यकाबाट गर्ने सोचेको थियो । तर, यिनै क्षेत्रमा उसको स्थिति राम्रो नदेखिँदा यसपालिको चुनावमा कांग्रेसले इतिहासकै सबैभन्दा ठूलो धक्का व्यहोर्ने देखिएको छ ।

    अब देउवाले राजीनामा देलान् ?

    नेपाली कांग्रेसले यसपालि व्यहोर्ने पराजय सामान्य हुने छैन । पहिलो संविधानसभामा हारेको स्थितिमा भन्दा पनि नराम्रो पराजय ठहरिनेछ कांग्रेसका लागि अहिलेको चुनाव ।

    अब ५ वर्ष बहुमत पाउने दलले कांग्रेसलाई सत्ता बाहिरै राख्ने अवस्था आउन सक्छ । त्योबेलामा कांग्रेसभित्र चरम निराशा र विग्रह आउन सक्छ । भनिन्छ, हारेका सिपाहीहरु झगडा गर्छन् ।

    कांग्रेस पार्टीलाई पराजयको पन्तुरो बोकाउने स्थिति आयो भने कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठ्न सक्छ । र, एक प्रकारले भन्दाखेरि देउवाको कार्यशैलीले कांग्रेसलाई अगाडि बढाउन सक्दैन भन्ने पुष्टि हुनेछ । त्यो अवस्थामा देउवाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र रामचन्द्र पौडेललाई कार्यवाहक सभापति बनाउनुपर्ने माग पार्टीभित्रै बाट उठ्न सक्छ ।

    त्यसैगरी दोस्रो संविधानसभा चुनावपछि माओवादी अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षबाट राजीनामा दिएनन् ।त्यो बेला देउवाले नैतिकताका आधारमा पार्टी सभापतिबाट राजीनामा दिन्छन् या दिँदैनन् ? त्यो अहिले नै बताउन सकिँदैन । विगतको नजिरलाई हेर्ने हो भने पहिलो संविधानसभाको चुनावपछि एमालेका तत्कालीन प्रमुख माधवकुमार नेपालले पदबाट राजीनामा दिएका थिए । तर, गिरिजाप्रसाद कोइरालाले पार्टी सभापतिबाट राजिनामा दिएनन् ।

    निश्चय नै चुनावमा एउटा दलले जित्नु र अर्कोले हार्नु स्वाभाविकै हो । चुनाव भनेकै हारजितका लागि हो । चुनावपछि एउटाले बहुमत पाउने र अर्कोले बहुमत गुमाउने स्वाभाविकै विषय हो । तर, विश्वका धेरै मुलुकमा चुनाव हारेपछि पराजित दलभित्र नेतृत्व परिवर्तन हुने गरेको पाइन्छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावै गराउँदैनन् कि भन्ने धेरै मानिसहरुमा आशंका थियो । तर, उनले आफ्नो दलले हार्ने अवस्थामै पनि चुनाव गराएर मुलुकलाई निकास दिएका छन्, यसका लागि देउवालाई धन्यवाद दिनैपर्छ ।

    मुलुकको संक्रमणकाल अन्त्यका लागि देउवाले प्रधानमन्त्रीका रुपमा खेलेको भूमिकाका लागि इतिहासले उनलाई सम्झिइरहनेछ । नेपाली कांग्रेसलाई पनि इतिहासले सम्झनेछ । तर, यसो भनिरहँदा कांग्रेसलाई अलोकप्रिय बनाउने र बदनाम गराउनमा देउवाको कार्यशैलीले भूमिका खेलेको कुरालाई बिर्सन सकिँदैन ।

    प्रधानमन्त्रीका रुपमा देउवाले सुशासन दिन सकेनन् । ६४ सदस्यीय मन्त्रिमण्डल बनाउनेदेखि लिएर विभिन्न अलोकप्रिय निर्णयहरु उनले गरेकै हुन् । प्रधानमन्त्री भएपछि जे गर्दा पनि हुन्छ भन्ने उनले सोचे । र, यसैको प्रतिफलस्वरुप देउवा प्रधानमन्त्री बनेपछि कांग्रेसको लोकप्रियता ह्वात्तै घट्यो । अनि कांग्रेसले जनताको विश्वास गुमायो ।

    आम जनता भन्दा मुठ्ठीभर मानिसहरुको कुरा सुन्ने र भ्रष्टाचार र कमिसनतन्त्रमा भर पर्ने ‘कांग्रेस स्कुलिङ’ का प्रणेता देउवा आफैं थिए । त्यस्तो नभएको भने उनले ६४ सदस्यीय मन्त्रिमण्डलको झुण्ड बनाउने नै थिएनन्, उनी संविधानले भनेअनुसार २५ सदस्यीय सरकार बनाएर चुनावमा जाने थिए ।

    तर, देउवाले जनताको आवाज र भावना सुन्दै सुनेनन्, अरु कसैका कुरा सुनेर निर्णय लिए । त्यसको मूल्य उनी र उनको पार्टीले निर्वाचनमा चुकाउनुपर्‍यो ।

    हुन त वाम गठबन्धन बनेका कारणले पनि कांग्रेसले गणितमा पराजय भोग्नुपरेको हो । तर, माओवादीलाई विश्वासमा लिन नसक्नु कांग्रेसको दलीय हितका लागि देउवाको अदुरदर्शिता नै मुख्य कारक बन्यो ।

    यी सबै परिस्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व आफैंले लिएर पाँच वर्षसम्म पार्टीलाई जनपक्षीय बनाउनेतिर लाग्छन् या कांग्रेसलाई झनै विद्रूप बनाउँदै लैजान्छन् ? यो हेर्न बाँकी छ ।

    तर, अझै पनि कांग्रेसले खेलाँची गर्‍यो भने कांग्रेसको वर्तमानमात्रै होइन, भविश्यसमेत धरापमा पर्न सक्छ । त्यसबेला कांग्रेसलाई भगवानले पनि जोगाउन सक्ने छैनन् ।

    कांग्रेसको पुनर्जागरण कति सम्भव ?

    चुनावमा नेपाली कांग्रेस किन हार्‍यो भन्ने पहिलो प्रश्न हो । तर, योभन्दा अर्को गम्भीर प्रश्न के छ भने अबको ५ वर्षपछि कांग्रेसको पुनर्जागरण सम्भव होला कि नहोला ?

    सर्वप्रथमतः कांग्रेस नेताहरुले नेपाली राजनीतिको ‘रियल ग्राउण्ड’ नै चिन्न सकेनन् । नेपाली जनता भ्रष्टाचारको अन्त्य भएको हेर्न चाहन्छन् । तर, कांग्रेस नेताहरुले ०४८ सालदेखि चिरञ्जीवी वाग्ले र खुमबहादुरहरुले सुरु गरेको भ्रष्ट संस्कारलाई नै निरन्तरता दिए । त्यसैलाई संस्थागत गरे । फलाए, फुलाए ।

    जनताले ०६२/०६३ पछि देशमा परिवर्तन चाहेका थिए । यही परिवर्तनको आकांक्षाका लागि हजारौंको रगत बगेको थियो । तर, यसको मर्म नेताहरुले बुझेनन् । लोकतन्त्र, वीपीको समाजवाद इत्यादि नारा जपिसकेपछि जे गर्दा पनि हुन्छ भन्ने नेताहरुको बुझाइ देखियो । व्यापारी, तस्कर, ठूलाठूला ठेकेदारहरु अनि घैंटे डनहरु कांग्रेसजन साथी बने, सारथी बने ।कर्मचारी, प्रहरी आदिको सरुवामा घुस खानु कांग्रेस नेताहरुको दैनिक खान्कीजस्तै बन्यो । कांग्रेस नेताहरु भ्रष्टाचारको पर्याय बने । अन्ततः यही भ्रष्टाचारकै कारणले गर्दा ०४८ सालयता देशमा न बिकास भयो, न अमन चयन ।

    डा. रामशरण महतको ‘स्कुल अफ थट’ का कारण उद्योगधन्दाहरु कौडीका भाऊमा बिक्री भए । निजीकरणले देश टाट पल्टियो । युवाहरु विदेश पलायन हुन बाध्य भए । विदेशमा छोराछोरी पढाउने कांग्रेसका रिटाडर्य उमेरका नेताहरुले मुलुकको गरीबीमाथि अनवरत रजाइँ गरे । तर, शिक्षा स्वास्थ्य जस्ता आधारभूत विषयमा गरीब जनताको पहुँच बढाउन कांग्रेस नेताहरुले फिटिक्कै ध्यान दिएनन् । दिनै चाहेनन् । सोझा जनतालाई चुनावमा मासु चिउरा ख्वाएपछि जे गर्दा पनि हुन्छ भन्ने उनीहरुले ठाने ।

    जनता चुपचाप–चुपचाप कांग्रेस नेताहरुले मच्चाएको ब्रह्मलुट, भ्रष्टाचार र अव्यवस्थाको शिकार बनिरहन बाध्य भए । लोकतन्त्रका लागि केही वर्ष, केही महिना जेल बसेको बाहना बनाउँदै चारतारे झण्डा ओढेर देशको सम्पत्तिमा रजाइँ गर्ने काम भयो यसअवधिमा निरन्तर हुँदै आयो । कांग्रेसले वीपीको समाजवाद मात्रै बिर्सिएन, लोककल्याणकारी राज्यको अवधारणालाई नै रामशरण महतको थ्यौरीको चास्नीमा खोलेर घुट्क्याउने काम गर्‍यो ।

    कांग्रेसका दार्शनिक नेता रामचन्द्र पौडेल बेलाबखत भन्ने गर्छन्, लोकतन्त्रमाथि वामपन्थी र दक्षिणपन्थी (राजावादी) अतिवादले प्रहार गरेका कारण कांग्रेसले मुलुकको विकास गर्न नसकेको हो । तर, पौडेलको यो भनाइले नेपाली कांग्रेसभित्रको खराबीलाई पूरै ढाकछोप गर्छ । जबसम्म कांग्रेस नेताहरुले कुतर्कको घुम्टोमा छोपिएर आफूभित्रको फोहोरको गन्ध पत्तो लगाउन सक्दैनन्, तबसम्म वामपन्थीको विरोध गरेकै भरमा कांग्रेसको पुनर्जागरण सम्भव छैन ।

    देशको विकास नहुनुमा उग्रवामपन्थी र दक्षिणपन्थीहरुलाई दोष देखाउने कांग्रेसले यो चुनावमा तिनै दक्षिणपन्थीलाई हलो र गाईमा भोट हालेर आफ्नो दाबीको आफैं खण्डन गरिसकेको छ । कांग्रेस नेताहरुले अरुलाई गलत देखाएर आफू सही सिद्ध हुने अवैज्ञानिक प्रयास गर्दै आएको देखिन्छ ।

    वामपन्थी पनि उही ड्याङका

    चुनावी हारको पीडामा परेको नेपाली कांग्रेसमाथि यसरी निर्मम आलोचना गरिरहँदा कांग्रेस समर्थकहरुले प्रश्न उठाउन सक्छन्– के उसोभए माओवादी–एमालेलगायतका वामपन्थी दलहरु चाहिँ दूधले नुहाएका हुन् त ? के उनीहरु चाहिँ भ्रष्टाचार र बेथितिबाट मुक्त छन् ?

     

    एमाले र माओवादी लगायतका दलहरु पनि जनपक्षीय नीति लिनमा चुक्दै आएका छन् । तर, वामपन्थीहरु खराब छन् भन्ने देखाएर मात्रै अब जनताले कांग्रेसलाई पत्याउने चरणको लगभग अन्त्य भएको छ ।

    अब कांग्रेसले आफूलाई जोगाउन र सत्तामा पुर्‍याउन विपक्षीको विरोध होइन, आफूभित्रको शुद्धीकरणमा जोड दिन आवश्यक देखिन्छ । यसबारेमा कांग्रेस नेताहरुले पक्कै समीक्षा गर्लान् ।

    कांग्रेसले आफूलाई सुधार्न के के गर्नुपर्छ ? यस विषयमा यो एउटै लेखमा चर्चा गर्न सम्भव छैन, भावी दिनमा यसमाथि समीक्षा हुँदै जाला ।

    अब वाम गठबन्धनको सरकार बन्यो भने त्यो सरकार सम्भावना र चुनौतीको दोभानमा उभिनेछ ।

    वामपन्थी नेताहरुको अवस्था ‘ढाँटको निम्तो खाई पत्याउनु’ भन्ने स्थितिमा छ । उनीहरु पनि कांग्रेसकै जस्तो विकृत राजनीतिबाट मुक्त हुन सकेका छैनन् । नातावाद, डनहरुलाई संरक्षण गर्ने, कर्मचारीतन्त्रमा राजनीतिकरण गर्ने अनि देश र जनतालाई भन्दा कार्यकर्ता र परिवारलाई ध्यान दिने नेताहरुको अभाव छैन एमाले र माओवादीमा ।

    एमालेभित्र पनि शिक्षा र स्वास्थ्यका व्यापारीहरुको अभाव छैनन् । मेडिकल माफिया र शैक्षिक माफियाहरुले एमाले नेताहरुलाई जकडेको अवस्था छ । माओवादीमा त्यस्ता माफिया कम भए पनि पार्टीभित्रैका भ्रष्टहरु समृद्धिका बाधक बन्दै आएका छन् । कमिसन खाने सवालमा माओवादीहरु पनि कांग्रेसभन्दा कम छैनन् ।

    एमाले र माओवादीभित्रको अर्को खराब पक्ष भनेको के हो भने उनीहरुभित्र लोकतान्त्रिक भन्दा बढी सामाजिवक फासीवादी चरित्र छ । मुखले उनीहरु लोकतन्त्रको कुरो गर्छन् तर व्यहारमा अनैतिक, भ्रष्ट र भिन्न विचारप्रति असहिष्णु छन् । एमाले नेताहरुले मधेसीप्रति गरेको व्यवहार र एमाले नेताले स्वयं माओवादीप्रति विगतमा गरेको व्यवहार यसको ज्वलन्त उदाहरण हो ।

    वाम सरकार र कांग्रेसको ढोडिया

    यसरी आफैं नसुध्रिएको वाम सरकारले जनपक्षीय काम गर्न सकेन भने त्यसबाट कांग्रेसले आफ्नो अस्तित्व रक्षाका लागि पाँच वर्षको अवधिमा केही सुविधा पाउन सक्छ । तर, वामपन्थीको बदनामीको लाभ कांग्रेसकै ढोडियाभित्र पर्छ भन्ने ग्यारेन्टी छैन, त्यसपछि जनताले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टीलाई लत्याएर नयाँ राजनीतिक शक्तिलाई राजनीतिको केन्द्र भागमा ल्याइदिन सक्नेछन् । त्यसको भ्रुण अहिले नै विवेकशील साझा र नयाँशक्ति इत्यादिका आदि नाममा भइसकेको अवस्था छ ।

    वाम सरकारले जनप्रिय काम गर्न सकेन भने विप्लव समूह वा सिके राउत आदि नामका ‘बाइप्रोडक्ट’ हरुले पनि देशलाई दुःख दिन सक्छन् । त्योबेला कांग्रेसले आफूलाई जनपक्षीय बनाउनुको साटो उल्टै खराब तत्वहरुलाई बोकेर ठिमीको उकालो चढ्ने नीति लियो भने कांग्रेसका लागि भावी राजनीतिक यात्रा थप प्रत्युत्पादक हुन सक्छ ।

    वाम सरकारले राम्रो काम गर्‍यो भने त्यो बेलामा कांग्रेसको शक्ति अझै खिइने र प्रजापरिषजस्तै हालतमा पुग्ने सम्भावना बढ्ने छ । त्योबेला छिमेकीले पनि शक्तिहीन कांग्रेसलाई उपियाँले जसरी सहजै छाडिदिन सक्छ । कांग्रेसलाई न जनताको साथ रहनेछ, न पराईको ।कथंकाल वामपन्थीहरु सुध्रिए र पुण्य कमाउने बेलामा एकचोटि साधु बनौं

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org