समाचार

  • ‘कवितालाई कविको जीवनशैलीसँग होइन, कविताकै युनिभर्सल थ्योरीले हेर्नुपर्छ’

    news

    मोरङ्गको रमिते खोला आसपासमा बाल्यकाल बिताएका कवि हेमन यात्री समकालीन नेपाली कविहरुमध्ये एक चर्चित कवि व्यक्तित्व हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हेमनका कविताहरु पाठकलाई तरङ्गित पार्न मात्र होइन समाज र मानव अस्तित्वप्रति सचेत गराउन पनि सक्षम छन् । अखबारी लेखनमा समेत निकै पढिएका उनको ‘पहाड मसितै यात्रा गर्छ ‘ कविता संग्रह प्रकाशित छ । हालसालै कतारमा एकल कविता वाचन गरेर फर्किएका यी सशक्त कविसँग सुरञ्जन घिमिरेले गरेको कुराकानी ः

    भर्खरै कतारमा कविता सुनाएर आइपुग्नुभएको छ । एउटा कविको नजरबाट त्यहाँको साहित्यिक वातावरण कस्तो पाउनुभयो ?
    आज विश्वको जुन–जुन मुलुकमा नेपालीहरु पुगेका छन् । त्यहाँ नेपाली कला–साहित्य पुगेको छ । निजी वा संस्थागत दुवै किसिमले कला–साहित्यसम्बन्धी कामहरु भइरहेका छन् । अझ पछिल्लो समय त साहित्यको ग्लोबल फोरम नै तयार गरी कला साहित्यसम्बन्धी गतिविधिहरु भइरहेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नाम दिएर, उक्त समाजलाई विश्वव्यापी बनाइरहेका छन्, प्रवासी नेपालीहरुले । यी र यस्ता साहित्यिक संस्थाहरु कतारमा पनि क्रियाशील छन् । अनेसास कतार शाखा, सन्ध्यागु्रप अलखोर कतार, एनआरएन साहित्य विभाग कतार र नवोदित साहित्यिक वाचनालय यी चार संस्थाको संयुक्त आयोजनामा कतार पुगेको थिएँ म । मलाई लाग्छ– प्रवासमा संस्थागत साहित्यक गतिविधि गर्नेहरुमा मध्यएसियाली मुलुक कतार निकै अग्रणी स्थानमा पर्छ ।

    समग्र नेपालकै एक प्रतिनिधि कवि भएर कविता सुनाउँदा कस्तो अनुभव हुँदो रहेछ ?
    नेपाल बाहिरको मेरो प्रस्तुति पहिलो थिएन त्यो । तर कतारका लागि भने पहिलो । वर्षेनी नेपालबाट सेलेक्टेड कविहरु गइरहेका थिए अघिल्ला वर्षहरुमा पनि । त्यसैको निरन्तरता हो मेरो उपस्थिति । एउटा कविका लागि देशबाहिर गएर एक्सपोजर हुनु सुखद कुरा त हुँदै हो । सँगसँंगै त्यस देशको व्यवस्था, भूगोल, समृद्धि र सुखदुःखहरु बुझ्ने अवसर पनि हो । थोरबहुत कतारबारे ‘नलेज गेन’ गर्ने अवसर मिल्यो । मैले कतारयात्राबारे आफ्ना तमाम अनुभवहरु केही दिनअघि अखबारमा पनि लेखिसकेको छु । सोच्दै छु – कतारमाथि रहेर एउटा पुस्तक नै तयार गरूँ ।

    कतारमा तपाईंले कुन–कुन विषयका कतिवटा कविता वाचन गर्नुभयो ?
    मेरो कविताकृति ‘पहाड मसितै यात्रा गर्छ’बाट केही र केही कलेक्सन बाहिरबाट वाचन गरेको थिएँ । दुई घण्टाको समय सकिएको पत्तै भएन । आयोजकले समाप्त भएको चिट थमाउँदा मात्रै झस्किएको थिएँ म । तपाईंलाई थाहा छँदै छ मेरा कविताहरुको स्वभाव । तिनै कविताहरुबाटै विभिन्न विषयका १८ कविताहरु वाचन गर्न भ्याएछु कार्यक्रममा ।

    नेपालमा अझै पनि सःशुल्क कविता सुन्ने वातावरण बनिसकेको छैन तर कतारमा तपाईंले सःशुल्क कविता वाचन गरे पनि धेरै श्रोताहरुले साथ दिनुभयो । यसको कारण विदेशमा नेपालीहरुले भाषा–साहित्यलाई गर्ने बढी माया हो या तपाईंका कविताहरु नै हुन् ?
    सःशुल्क कविता वाचन एउटा संस्कार पनि हो । हाम्रोमा त्यो संस्कारको विकास गर्ने दायित्व पनि हामीमै छ । तर हामी साहित्यिकहरु नै यस मामिलाबाट टाढा छौँ । तर असम्भव भन्ने छैन । विगतमा आरोहण गुरुकुलले सःशुल्क कविता वाचनको निक्कै लामो श्रृङ्खला सञ्चालन ग¥यो । कविहरुलाई थोरबहुत पारिश्रमिक दिइन्थ्यो । आरोहणको अवसानसँगै कविताको श्रृङ्खला पनि स्वतः रोकियो । त्यसयता छिटफुट सःशुल्क कविता वाचनबाहेक अन्य शुल्क तिरेर कविता सुन्ने संस्कार नै छैन हामीकहाँ ।

    जहाँसम्म कतारको कुरा छ, कतारमा पनि सधैँ सःशुल्क कविता वाचन हुने होइन । उनीहरुले वार्षिक क्यालेन्डरअनुसार नेपालबाट प्रत्येक लक्ष्मी जयन्तीमा एक जना कविलाई बोलाउने र सःशुल्क कविता वाचनमा उभ्याउने गर्छ । विगत ८÷९ वर्षदेखि नियमित रुपमा उनीहरुले सस्तो इभेन्ट म्यानेजमेन्ट गर्दै आइरहेका छन् । यस कार्यक्रमलाई उनीहरु विशेष किसिमले सेलिब्रेट गर्छन् । अब आयोजकले कवि र कविता सेलेक्सन गर्ने उनीहरुको आफ्नै क्राइट एरिया होला । हामीले त इमानदार ढंगले हाम्रो सिर्जनामार्फत उपस्थित श्रोता÷दर्शकलाई विश्वास दिलाउने हो आफ्नो प्रस्तुतिमार्फत । मैले त्यही धर्म निभाएर आएको हुँ कतारबाट ।

    हाम्रामा पछिल्लो समय कविहरुलाई उपन्यासले आकर्षित गरिरहेको पाइन्छ, वास्तवमा कविको कर्म त कविता सिर्जना नै हुनुपर्ने होइन र ?
    एउटा कविले उपन्यास वा इतर कवितामा जानै हुन्न भन्ने छैन । कति कविलाई चल्तीको बजारमा गएर एक्सपेरिमेन्ट गरौँ पनि भएको होला । कतिलाई कवितामा काम गर्न गार्हो भएर अर्को विधामा काम गर्न मन लागेको हुनसक्छ । यस्तै अरु पनि केही कारणहरु हुनसक्छन् । त्यो उनीहरुको वैयक्तिक स्वतन्त्राको कुरा हो भन्ठान्छु म । केही गरी भोलि हेमन यात्री फिक्सनमा गयो भने पनि आश्चार्य मान्नुपर्दैन । त्यो सम्भावना जीवित छ । मलाई के विश्वास छ भने एउटा कवि आख्यानमा गयो भने जरुर केही पठनीय भाषा र आवाज दिन सक्छ । आजको नेपाली आख्यान लेखकहरु यसको उदाहरण हुन् । अमर, बुद्धिसागर, नगरकोटी, राजन मुकारुङ सबै कविताबाट आख्यानमा गएकाहरु हुन् । एउटा कवि आख्यानमा गयो भने जरुर केही पठनीय भाषा र आवाज दिन सक्छ । आजको नेपाली आख्यान लेखकहरु यसको उदाहरण हुन् । अमर, बुद्धिसागर, नगरकोटी, राजन मुकारुङ सबै कविताबाट आख्यानमा गएकाहरु हुन् ।

    मोफसलमा बसेरै कविता सिर्जना गर्ने एक कविका हिसाबले मोफसल र केन्द्रको साहित्यिक–शक्तिमा कत्तिको अन्तर पाउनुहुन्छ ?
    यो केन्द्र भनेको काठमाडौँलाई भन्नुभएको होला तपार्इँले । सरसर्ती हेर्नुहोस् त काठमाडौंमा के–के सुविधा उपलब्ध छ ? जम्मै शक्तिकेन्द्रै त काठमान्डुमा छ । त्यही अवसर र शक्तिको उपभोग गर्न काठमाडौँ छिरेका हुन् मानिसहरु । साहित्यिक मान्छेहरु पनि यसबाट अलग हुने कुरै भएन । अवसरलाई पछ्याउँदै पछ्याउँदै गएर पछ्याउनेहरुको एउटा ठूलो समूह बनेको हो काठमाडौँ । त्यसकारण काठमाडौंको स्वर ठूलो सुनिनु कुनै नौलो कुरै भएन । बाँकी रह्यो काठमाडौ¬ंइतरका हामीहरु । बाहिर बसेर हामी पनि लेखिरहेका छौँ । सुनाइरहेका छौँ । पोखरा, चितवन, हेटांैडा, दाङ, रोल्पा, धरान, इटहरी, विराटनगर बसेर बोल्दै छौँ । सुनाउँदै छौँ । काठमाडौंले छोडेर बचेका हामीले धेरै बोलिरहेका छौँ भन्ने लाग्छ आजको समय । बोल्नेहरु कम भएपछि जति चिच्याए पनि आवाज सानै सुनिने हो । केन्द्र र मोफसलको कुरा यति हो । बाँकी सिर्जना भनेको भूगोलको जुनसुकै विन्दुमा बसेर पनि फरक पर्दैन । तपाईँले राम्रो लेख्नुभयो भने केन्द्र र मोफसलमा बसेर लेख्यो भन्ने तर्कले केही फरक पर्दैन ।

    कतिपय कवि कवितामा आदर्शका कुरा छाँट्ने तर व्यवहारचाहिँ साह्रै रुखो दर्शाउने गर्छन् र कवितालाई आफ्नो व्यक्तिगत स्तरीयताको सिँढी बनाउने गरेको पाइन्छ । कवितालाई यसरी दुरुपयोग गर्न मिल्छ ?
    कविहरु कुनै नौलो ग्रहका मानिसहरु नभएर यही समाजका प्रोडक्सनहरु हुन् । आम मानिसहरु जस्तै गुणदोषसहित नै बाँचेका हुन्छन् । उनीहरुको जीवनमा पनि अप्सन्सडाउन स्वाभाविक ढंगले आउने नै भए । अर्को कुरा आजका कविहरु समाजसँग अत्यन्तै नजिक भएर काम गरिरहेका छन् । यस्तो अवस्थामा एउटा कविलाई अमुक ईश्वरको जग्गामा राखेर हेर्नु पनि कविप्रति अन्याय हुन्छ जस्तो लाग्छ मलाई । जिन्दगी बाँच्ने आदर्श प्रत्येक मानिससँग निहित हुन्छ । एउटा कविको जीवनशैली हामीले त्यतै कतै खोज्नुपर्छ । र सिर्जना बिल्कुल अलग कुरा हो । एउटा कविको जीवनशैलीसँग उसको कवितालाई जोडेर तुलना गर्नुभन्दा पनि कविताकै युनिभर्सल थ्योरीले हेरिनुपर्छ भन्ने लाग्दछ मलाई ।

    एक पहिचानवादी कविका हिसाबले पछिल्लो चरणको राजनीतिक परिवर्तनले सबै वर्गका हक, अधिकार र पहिचानका कुरालाई प्राथमिकताका साथ प्रकाशमा ल्याएको कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ? यस्तो परिवर्तनको चरणमा कविहरुको भूमिका कत्तिको हुन्छ ?
    यो त बिल्कुल पोलिटिकल सवाल हो । सीमान्तमा रहेका मानिसहरुको आवाज मुखर भएर कोही पहिचानवादी भएका होइनन् । सीमान्तकृतहरुकै रगत, पसिना, संघर्ष र मृत्युहरुको सामूहिक यत्नले हो पहिचान स्थापित हुँदै गरेको । यो त प्रारम्भ मात्रै भएको हो । यसमा कवि लेखकहरुको पनि अहम् भूमिका रहँदै आएको छ । सीमान्तमा रहेका मानिसहरुको पहिचानको सवालमा कैयौँ कविहरुले बोलेका छन्, लेखेका छन् ।

    कविता बोकेर सडकमा निस्किएका छन् । विभेदकारी व्यवस्थाप्रति खबरदारी गरेका छन् । लेख्दालेख्दै नविन राई, कृष्णसेन इच्छुकहरु हराएका छन्, मारिएका छन् । त्यसकारण पहिचान राज्यले स्थापित गरेको नभई तिनै आवाजविहीनहरुको आवाजले पहिचान स्थापित हुँदै गरेको हो । अहिले राज्यले थेग्नै नसकेर सीमान्तकृतहरुको आवाजलाई एड्रेस मात्रै गर्न सुरु गरेको हो । यो उपलब्धि पूर्ण हुँदै होइन । यसकारण राज्यको हरेक तहमा सीमान्तकृतहरुको समान पहुँच र सहभागिता नगराई पहिचान स्थापित हुन्छ भन्नु मुख्र्याइँ मात्र हुन जान्छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org