समाचार

  • विदेशमा सिप सिक्ने, स्वदेशमा व्यवहारमा लागु गर्ने

     
    रामधन राई, खोटाङ 
    फागनु १७-
    वैदेशिक रोजगारीमा गई फर्केका खोटाङका अधिकांश युवाहरु आफ्नै जन्मस्थानमा ब्यवसायिक कृषि तथा पशुपालनमा लागेर मनग्गे आम्दानी गरिरहेका छन् । वैदेशिक रोजगारीमा गएर श्रमको महत्व बुझेर त्यहाँ सिकेका सिपलाई आफनै भुमिमा आएर व्यवहारमा उतार्दै  आम्दानीमुलक कृषि तथा पशुपालन व्यवसाय अपनाईरहेका छन् । यि नै मध्येको एक हुनुहुन्छ, हरी लुईटेल । उहाँ अहिले कृषि तथा पशुपालन ब्यवसायमा रमाउने मात्र हैन अरु ६ जनालाई रोजगारी समेत दिन सफल हुनुभएको छ । 
    खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँका हरी लुईंटेल । खाडी मुलुक कतारमा सेक्युरिटी गार्डको रुपमा काम गरेर १० बर्षपछि नेपाल फर्कनुभयो ।  कतार जस्तो मरुभूमिमा माटो र पानी किनेर हजारौं कामदार राखेर गरिएको ब्यवसायिक कृषिबाट आम्दानी गरेको  देख्नुभएको उहाँले २०७० सालमा स्वदेश फर्किएर सदरमुकाम दिक्तेलबजार नजिकै ३ सय रोपनी जग्गामा भैंसी, बाख्रा, कुखुरा पालनका साथै  तरकारी खेति गरेर राम्रो कमाई गरिरहनुभएको छ । 
    १० बर्षसम्म मरुभूमिमा पसिना बगाएको कमाईबाट अजम्बरी कृषि फर्म सञ्चालन गरी पशुपालन गर्दै हराभरा तरकारी उत्पादन गरिरहनुभएको लुईंटेललाई  कतारमा हुने बार्षिक ३–४ लाख रुपैंयाँ त कमाई हो जस्तोपनि लाग्न छाडीसकेको छ । आम्दानीसँगै सन्तुष्ट हरीले ६ जनालाई रोजगारी समेत दिनुभएको छ । लगानी र ब्यवस्थापनको चरणमै भएको अवस्थामा पनि कामदारको तलब, लगानी रकम सबै कटाएर मासिक ३० हजार रुपैंयाँसम्म चोखो आम्दानी हुने  लुईंटेलले बताउनुभयो । 
    हरीका अनुसार जिल्लामा माग अनुसारको दुध आपूर्ति हुन सकेको छैन । त्यसैले   कृषि फर्मलाई अझ ब्यवस्थित बनाई उन्नत जातको गाई पालन गर्ने  योजना उहाँको रहेको छ ।  
    हरी एक उदाहरणीय पात्र  हुनुहुन्छ, बिशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु कृषि तथा पशुपालन ब्यवसायको लागि परामर्श तथा ब्यवसायिक सीपको लागि सम्पर्कमा आउने गरेको जिल्ला कृषि बिकास कार्यालयको प्रमुख वरिष्ठ कृषि बिकास अधिकृत श्यामप्रसाद घिमिरेको भनाई छ ।
    कृषि ब्यवसायको लागि सरकार तथा बिभिन्न निकायले समेत सीप तथा अनुदान प्रदान गर्न थालेपछि वैदेशिक रोजगारीबाट फर्किएका तथा जान तयार जिल्लाका युवाहरु स्वदेशमै लगानी र श्रम गर्न उत्साहित बनेका हुन् । जिल्लामा सडक बिस्तारको अवस्था समेत तीब्र भएको कारण कृषि तथा पशुपालन ब्यवसायमा राम्रो सम्भावना भएको जिल्लाबासी बताउँछन् ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org