समाचार

  • जीप पार्किङ स्थलको प्रयोगका लागि दबाव दिन दोर्पुमा सडक अवरुद्ध

     
    चैत्र २७
    सोलु एफएम, सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका वडा नं ६ दोर्पुबजारमा बनेको जीप पार्किङ स्थलमा व्यवसायीले जीप पार्क  नगरेको भन्दै मंगलबार केही स्थानीयले बाटो अवरुद्ध गरेका छन् । सरोकारवालाको ध्यानाकर्षण गराउन भन्दै मंगलबार विहान जीप पार्किङ स्थल नजिकै सवारी आवागमन बन्द  गराएका हुन् । आफुहरु विकास विरोधी नभएको र जनतालाई दुख दिने मनसाय समेत नरहेको  दावी गर्दै स्थानीय राजकुमार खत्रीले जीप पार्किङ स्थलको उपयोग हुनुपर्ने माग राख्नुभयो ।  विहान ८ बजे देखि यातायात अवरुद्ध हुदाँ पुर्वमन्त्री एवं नेपाली काग्रेस केन्द्रिय सदस्य बलबहाुदर केसी  समेत १ घण्टा रोकिनुभएको थियो । 
    स्थानीय राजकुमार खत्रीले  यातायात व्यवसायीले सल्लेरी बजार क्षेत्रमा अव्यवस्थित रुपमा पार्किङ गर्ने गरेको तर दोर्पुमा निमार्ण भईसकेको जीप पार्किङ स्थलमा जीप पार्क गर्न अटेरी गरेको  आरोप लगाउनुभयो ।  उहाँले वडा कार्यालयले जारी गरेको सुचनालाई समेत व्यवसायीले वेवास्ता गरेपछि बाध्य भएर बाटो अवरुद्ध गरेको बताउनुभयो । 
    करिब ५० लाखको लागतमा निमार्ण गरिएको उक्त जीप पार्किङ स्थलका लागि स्थानीय कुल नारायण श्रेष्ठ र  रत्नबहादुर श्रेष्ठले साढे २ रोपनी जग्गा दान गर्नुभएको थियो । जीप पार्कको उपयोग गर्नका लागि नगरपालिका, वडा कार्यलय सबैमा आफुले निवेदन दिएको  जग्गादाता कुलनारायण श्रेष्ठले बताउनुभयो । 
    पुर्व मन्त्री एवं नेपाली काग्रेसका केन्द्रिय सदस्य बलबहाुदर केसीले स्थानीयको माग आफ्नो पक्षबाट सही भएपनि बाटो अवरद्ध गरेर जनतालाई दुःख दिनु राम्रो नभएको भन्दै सर्वपक्षिय छलफलबाट समाधानमा पुग्न सुझाव दिनुभयो । 
    अवरुद्ध बाटो खुलाउन दोर्पु पुग्नुभएका जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले जिल्ला प्रशासन कार्यालयले चाडै सर्वपक्षिय वैठक राखेर समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    सोलुखुम्बु प्रदेश सभा ख का सांसद बुद्धिकुमार राजभण्डारीले जीप पार्कलाई प्रयोगमा ल्याउनका लागि गर्नुपर्ने सहजीकरणका लागि आफु तयार रहेको  प्रतिक्रिया दिनुभयो । तर बाटो अवरुद्ध गरेर वा जर्वजस्ती  कसैलाई पार्किङका लागि बाध्य बनाउन नहुने भन्दै  पार्किङ स्थललाई थप व्यवस्थित, सुरक्षित बनाउने तर्फ जोड गर्नुपर्ने उल्लेख गर्नुभयो ।  
    यता संयुक्त लोकल यातायात व्यवसायी संघ सोलुदुधुकण्ड नगरपालिका वडा नं ६ का अध्यक्ष सन्तोष श्रेष्ठले दोर्पुबजार अपाएक पर्ने भन्दै प्रयोग गर्न समस्या भएको बताउनुभयो । गाडी चालक तथा यात्रुहरु स्वयंमलाई पनि असुविधा हुने कारण प्रयोग गर्न नसकिएको उहाँको भनाई छ । 
    जिरोपोइन्ट, सल्लेरी बजार क्षेत्रको बीच बाटो तथा पार्किङ निषेधित क्षेत्रमा अव्यवस्थित रुपमा गरिएको  पार्किङले दुर्घटना निम्तीन सक्ने उच्च सम्भावना छ । यसर्थ यस्को समाधानका लागि सम्वन्धित पार्किङ स्थलको सदुपयोग गर्न तर्फ सबै सरोकारवालाको ध्यान जानुपर्ने देखिन्छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org