समाचार

  • १५ जना नेपाली महिला सहित ३४६ जनाले सगरमाथा आरोहणको अनुमति पाए

    news

     
    सृष्टि सुनुवार, सोलुखुम्बु 
    वैशाख ११,२०७५ -
    विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस बर्षको बसन्त ऋतुमा १५ जना नेपाली महिला सहित ३ सय  ४६  जनाले अनुमति लिएका छन् ।  आज मंगलबार सम्मको आरोहण अनुमति लिने समुहको तथ्यांक अनुसार ४ वटा नेपाली समुह रहेका छन् । नेपाली समुहको २० जना आरोही मध्ये १५ जना महिला रहेको पर्यटन विभागका सुचना अधिकारी रामकुमार सापकोटाले जानकारी दिनुभयो ।
    विगतका बर्षको तुलनामा यस बर्ष पर्वतारोहण जस्तो साहसिक कार्यका लागि महिलाको आर्कषण बढेको पाइएको सापकोटाले बताउनुभयो । महिलाहरुले विभिन्न खालका कृतिमान कायम गर्ने उदेश्यका साथ सगरमाथा आरोहण गर्दैछन् । पितृसतात्मक सोचले ग्रसित समाजमा महिलाहरुले  पनि साहासिक कार्य गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथा आरोहण गर्न लागेका ति महिला आरोहीको भनाई रहेको छ । सगरमाथा आरोहणका लागि ३४ वटा विदेशी समुहका ३ सय २६ जना आरोहीले अनुमति लिएका छन् । यसरी नेपाली र विदेशी गरी ३८ समुहका ३ सय ४६ जनाले सगरमाथा आरोहणको अनुमति पाएका छन् । 
      सोलुखुम्बु जिल्लामा रहेको सर्वोच्च शिखर सगरमाथा सहित ६ वटा हिमाल आरोहणका लागि पर्यटन विभागले अनुमति प्रदान गर्ने गरेको छ । लोहोत्से हिमालका लागि ९ समुहका ९६ जनाले अनुमति पाएका छन् । आमादब्लम हिमालका लागि ५ समुहका ३७ जनाले अनुमति पाएका छन् । नुप्से हिमालका लागि २ समुहका २६ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागका सुचना अधिकारी सापकोटाले जानकारी दिनुभयो ।
    चाम्लाङ हिमालका लागि एउटा समुहका ५ जना र बरुन्चे हिमालका लागि एउटा समुहको ९ जना आरोहीले  अनुमति लिएका छन् । आरोहणका लागि अनुमति लिएका अधिकाशं पर्वतारोहण समुहलाई आरोहणका क्रममा पालन गर्नुपर्ने नियमहरुका बारेमा अभिमुखिकरण दिएर पठाउने गरिएको छ । 
    आरोहीले हिमाल सम्वन्धी कुनै समाचार एवं सामाग्री विभागको अनुमति विना सम्प्रेषण गर्न नपाइने नियम रहेको छ । सम्पर्क अधिकृत सगँ नियमित सम्पर्कमा रहनुपर्ने, आरोहण समुहका नेतृत्व कर्ताले सम्पुर्ण आरोहीको जिम्मेवारी लिनुपर्ने, पर्याप्त मात्रामा अक्सिजनका सिलिण्डर आरोही आफैले लिएर जानुपर्ने लगायतका नियम रहेका छन् । 
      नेपाल भरीका विभिन्न २३ वटा हिमाल आरोहणका लागि ८४ समुहका ७ सय ९ जना आरोहीले मंगलबार सम्म अनुमति लिएको पर्यटन विभागले जनाएको छ । आरोहण सिजन अनुसार अनुमति लिनेको संख्या अन्तिम चरणमा पुगेको जनाइएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org