ताजा खबर

समाचार

  • राजनीति हुँदै स्टेजसम्म ‘गजुरियल’ गर्दै मनोज गजुरेल

    news

    हृदयभित्र हाँसोको पोखरी, त्यसैमाथि शब्दको बल्छीले हाँसोरुपी माछाहरुमाथि जाल फ्याँक्ने काम गर्दा मानिसहरु खुलेर हाँस्छन् खासै केही गर्नै पर्दैन । अनामनगरमा हाम्रो भेट हुनेबित्तिकै हँसाउन सुरु गरेका हास्य कलाकार मनोज गजुरेललाई हामीले रोकेरै हँसाउने खुराक कहाँबाट आउँछ भनेर सोध्यौँ । त्यसपछि उनले भाका मिलाएरै भनेका कुराहरु हुन् यी ।
    भेट्नेबित्तिकै गजुरेल नबोलेरै संवाद गर्नथाले एक महिलासँग । चिनेजानेकी ती महिलासँग उनले सांकेतिक भाषाको माध्यमबाट गफ गरेका थिए । केही समयपछि फेरि नेवारी भाषामा फोनमार्फत कुरा गरे, छुजु हालखबरदेखि बीच—बीचमा काका भनेर फोन काटेपछि हामीले मुख खोल्नैपर्‍यो । कतिवटा भाषा आउँछ तपाईंलाई । ‘१५ वटा भाषा बोल्नै आउँछ, २० ओटा बुझ्छु’, उनले भने ।

    हामीले यति धेरै भाषा आउनुको राज सोध्यौँ । उनले सजिलै भने अध्ययन ।

    एक कक्षादेखि अंग्रेजी पढ्नथालेका कतिपय हामीलाई अंग्रेजी बोल्न त राम्रो आउँदैन तपाईं कसरी अध्ययन गर्नुहुन्छ, टिप्स् दिनुस् भन्दा उनले भने, ‘पुस्तक मात्रै पढेको भए त मलाई पनि आउँदैन थियो होला । म त पुस्तकसँगै मानिसको जीवन पनि अध्ययन गर्छु । जसका कारण उनीहरुका भाषा बोल्न र बुझ्न सजिलो हुन्छ । हास्य कलाकार गजुरेल झापामा जन्मिए, तर कर्मथलो काठमाडौंलाई बनाए ।

    हँसाउन मात्रै होइन, पढ्नमा पनि उनले रेकर्ड नै तोडेका रहेछन् । उनी ८ कक्षासम्म पढ्न मात्रै ११ वटा स्कुल धाउने विद्यार्थी हुन् । यसका मुख्य कारण भने बसाइसराइ रहेछ । पूर्वमा रहँदा दाजुहरुको काम सरुवा भएसँगै पढाइ पनि सरुवा भएछ । जसका कारण ११ वटा स्कुलहरु परिवर्तन गर्नुपरेको उनले बताए । ११ वटै स्कुलहरुको नाम औंला भाँचेर गन्दै थिए, हामीले सजिलो बनाइदियौँ पूर्वको कुन विद्यालयमा पढ्न पाउनुभएन रुरु एउटा विद्यालय मात्रै रहेछ नपढेको ।

    कक्षा नौ पढ्नका लागि भने उनी काठमाडौं आए । उनका दाजुले पद्मोदय स्कुलमा भर्ना गरिदिए । त्यसपछि भने आरआर क्याम्पसमा पढ्नथाले । स्कुले जीवनदेखि नै राजनीतिको रस पसिसकेको उनी आरआरमा पनि अनेरास्ववियु पाँचौँमा आबद्ध भए र राजनीति गर्नथाले ।

    सानैदेखि क्रान्तिकारी स्वभावका उनी युगान्तर भन्ने साप्ताहिक पत्रिकामा स्तम्भ लेखक पनि बने । कक्षा नौदेखि नै स्तम्भ लेखन गरेका उनले यथार्थको धरातल नामक स्तम्भमा मनोज गजुरेल विप्लवको नामबाट लेख्थे । उनले हँसाउने पारामा भने, ‘अहिलेका नेत्रविक्रम चन्द विप्लवभन्दा अघिको विप्लव हो यो मनोज गजुरेल ।’

    हामीले सोधेका धेरै कुराहरुमा उनी बीचको कुरा बोल्थे । मध्यमार्गी बन्नका लागि भने उनलाई गौतम बुद्धको सहयोग रहेछ । गौतम बुद्धका भक्त गजुरेललाई हामीले त्यो समयमा युगान्तरले पैसा दिन्थ्यो कि दिँदैनथ्यो भन्ने प्रश्न गरयौँ । उनले एकछिनसम्म सोचे र भने, ‘दिन्छ भन्दा झुट बोलेजस्तो, दिँदैन भन्दा ऊ बेलाका सम्पादक रिसाउने हुन् कि भन्ने डर । बरु याद छैन लेख्दिनुस् ।’
    देख्दैमा चटपटे टाइपका मनोजको अनुहार र ज्यान पनि कम्ता मिलेको छैन । धेरै केटीहरुको सपनाका राजकुमार बन्नलायक उनको जिन्दगीमा धेरै केटीहरु आए होलान् भन्ने अनुमान सबैमा हुनसक्छ । तर उनकै भनाइ सापटी लिने हो भने उनलाई प्रेम गर्ने फुर्सद नै मिलेनछ ।

    कक्षा आठसम्म पढ्दा उनी सानै थिए । कक्षा नौदेखि दश पढ्दासम्म युवावस्था सुरु भयो तर उनी पढ्ने विद्यालयमा पुरुष मात्रै पढ्थे । महिलाको अनुहारसँग बसेर पढ्ने मौका उनलाई मिलेन । त्यसपछि सुरु भयो क्याम्पस जीवन । जहाँ पस्नेबित्तिकै उनी नेता बने । नेतालाई सबैले प्रेम गर्थे, जसका कारण कुन प्रेम कस्तो छुट्याउने फुर्सद उनलाई मिलेनछ । त्यसो त उनको प्रेमविवाह नै रहेछ ।

    पुतलीसडकको एक कार्यालयमा उनी काम गर्थे । पुतलीसडकमै अर्को कुनै कार्यालयमा उनी अर्थात् मीना काम गर्थिन् । जाँदा(आउँदा देखादेख भए पनि बोलचाल भएको थिएन । त्यो समयमा कहीँ कतै मात्रै ल्याण्डलाइन फोन थियो उनले सम्झिए । एक दिन उनले मीनाको अफिसमा फोन गरे अझ भनौँ ‘ब्लफकल’ गरे । त्यसको तीन महिनामा भेटे । दुवैलाई एकअर्को मन पर्यो र बिहे गरे ।
     
    ‘ ‘सुरुमा अनुहार राम्रो लागेर प्रेम भयो पछि सबै आनीबानी राम्रो लाग्यो’, मनोजले मख्ख पर्दै भने, ‘अहिले दुई छोराछोरी छन् । छोरा क्याम्पस पढ्ने भइसकेको छ भने छोरी सात कक्षामा पढ्छिन् ।’ मनोजलाई आफ्ना बाबु कस्ता थिए थाहा छैन । उनी छ महिनाको मात्रै थिए, बाबुले संसार छोड्दा । परिवारका कान्छा भएकाले बाबुको अभाव भने खड्केनछ उनलाई । उनैको भाषा प्रयोग गर्ने हो भने उनी परिवारका राजकुमार नै रहेछन् ।

    सानैदेखि रमाइलो गर्नुपर्ने स्वभावका थिए उनी । ठेट भाषामा औतारी, गीताङ्गी भन्छन् उनलाई । त्यसैले उनी भन्छन्, ‘५० प्रतिशत कला माथिबाटै प्राप्त भयो, ५० प्रतिशत मात्रै मेरो कला हो ।’ सबैलाई हँसाउँदै हिँड्ने क्रममा उनी तीन दर्जनभन्दा धेरै देशहरुमा पुगिसकेका छन् । हेर्ने नजरै राम्रो भनौँ उनलाई स्वदेशको हरेक ठाउँ र विदेशका पनि विभिन्न देशहरु सबै मन परेछ । अरबको अनकन्टार र युरोपका हिमपात सबै हेर्नका लागि सुन्दर छन् तर त्यस्ता ठाउँमा बस्नका लागि सुन्दर छैनन् । बस्नका लागि नेपालै ठीक छ, घुमघामका लागि सबै ठाउँहरु ठीक रहेको उनको ठम्याइ छ ।

    समय मिलेको बेला फिल्म पनि हेर्दा रहेछन् उनी । पछिल्लोपटक गजुरेलले ‘छक्का पञ्जा’ हेरे । आत्मरञ्जनका लागि फिल्म हेर्ने उनलाई ‘छक्का पञ्जा’ राम्रै लागेछ तर बलिवुडको फिल्म ‘ओएमजी’ भने उनको अहिलेसम्मकै फेभरेट फिल्म रहेछ । त्यस फिल्मका परेश रावलका फ्यान रहेछन् उनी । त्यसैगरी पुस्तक पढ्न पनि मन पर्दो रहेछ मनोजलाई । पछिल्लो समय बुद्धिसागरको फिरफिरे पढेका उनी आफै नयाँ पुस्तक लेख्ने तयारीमा पनि छन् । त्यसो त यसअघि नै उनका ४ वटा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

    नेपाली कला क्षेत्रको हास्यव्यंग्य विधामा मनोज गजुरेलको बेग्लै अस्तित्व र पहिचान छ । ‘प्रष्ट विचारसँगै उत्कृष्ट मनोरञ्जन’ पस्किने गजुरेल नयाँ कलाकारले नयाँ खुराक पस्किनुपर्नेमा जोड दिन्छन् । कतिपय नयाँ कलाकार मनोज गजुरेलजस्तै बन्ने रहर बोकेर यस क्षेत्रमा प्रवेश गरेका छन् । त्यस्ता कलाकारलाई उनी भन्छन्, ‘मनोजजस्तो त मनोज नै छ, मनोजभन्दा फरक र नयाँ भएर आउनुपर्‍यो ।’

    पत्रकारितामा ग्र्याजुएसन गरेका गजुरेल सिस्नुपानी नेपालका उपाध्यक्ष, माइ डियर इभेन्ट्स एण्ड क्रिएसनका डाइरेक्टर, मूल्यांकन मासिकसँग आबद्ध पत्रकार तथा इन्सेकसँग संबद्ध रहेर मानव अधिकारको क्षेत्रमा पनि सक्रिय रूपमा संलग्न छन् ।

    अहिले उनको ब्लग गजुरियलमा आफ्ना कुराहरु लेखिरहने गजुरेलका धेरैजसो लेख समाचारजस्तै लाग्छन् । ती कुराहरु रियल नभई ‘गजुरियल’ मात्रै हुन् । तर ‘गजुरियल’लाई पनि रियल बनाएर कतिपय ठूला मिडियाहरुले समाचार बनाइदिँदा मानिसहरु अन्योलमा पनि पर्ने गरेका छन् ।

    त्यसैमाथि अहिले हेडलाइन मात्रै पढ्ने पुस्ता भएका कारण धेरै कुराहरुमा ध्यान दिनुपर्ने उनको तर्क छ ।
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org