समाचार

  • समाजले थिचेको मस्तिष्क र मानसिक समस्या

    news

    एउटै खालको खानाले हामीलाई दिग्दार लाग्छ । त्यसैले हामी सकेसम्म फरक–फरक स्वादको खाना खान रुचाउँछौँ । हाम्रो मस्तिष्क पनि त्यस्तै हो । एकैखालको क्रियाकलापमा भुल्नुभन्दा फरक–फरक क्रियाकलापमा रमाउन खोज्छ । हाम्रो मस्तिष्कले पनि भिन्नाभिन्नै विषय अनुभूत गर्न खोज्छ ।

    मानिसको खाना खाने आदतलाई मस्तिष्कको बानी र कसरतसँग तुलना गर्न सकिन्छ । हामीले खाना खाइसकेपछि २–४ घण्टासम्म केही खाइहाल्दैनौँ । किनकि तत्काल थप खाना खाने इच्छा नि हुँदैन र शरीरले पनि माग गर्दैन । त्यसलाई पचाउन र त्यसमा भएको पोषणलाई शरीरले ग्रहण गर्न समय लाग्छ । लगातार खाना खाइरह्यो भने अपच हुन्छ । त्यसैगरी, मस्तिष्कमा पनि एउटै कुरा हालिरह्यो भने त्यसले ग्रहण गर्न सक्दैन । एउटै खालका क्रियाकलापमा मानिस अभ्यस्त भयो भने विभिन्न मानसिकसमस्या निम्तिने खतरा बढ्छ ।

    केही वर्षयता बढ्दो सहरी जीवनशैली, वैदेशिक रोजगारीमा युवाहरुको आकर्षण र बृद्धावस्थामा अरुमा भर पर्नुपर्ने कारणले नयाँ–नयाँ मानसिक समस्या देखा परेका छन् ।

    बच्चालाई सास्ती

    विशेष गरी बालबालिकाको दिमाग विकासको चरणमा हुन्छ । अभिभावकहरुले कतिपय बालबालिकालाई बिहान ८ बजेदेखि नै विद्यालयमा भर्ना गरिदिन्छन् । अलि ठूलो कक्षामा पुगेपछि विद्यार्थीलाई विद्यालयले पनि कडाइ गर्न थाल्छ । बिहान ७ देखि बेलुका ६ बजेसम्म एकोहोरो रुपमा स्कुलमा हुने पढाइका क्रियाकलापले उनीहरुको दिमागलाई थकित बनाउँछ । फलस्वरुप उनीहरु न पढाइमा राम्रा हुन्छन् न आफ्नो रुचीको काम गर्न सक्छन् ।

    सहरी जीवनमा दैनिकी चलाउन निकै गाह्रो छ । परिवारका दुवै सदस्य काममा जानुपर्ने हुन्छ । जसले गर्दा घरमा बालबालिकाले पर्याप्त समय पाउँदैनन् । कामकाजी बाबुआमाले आफ्ना बच्चालाई डे बोडर्स या होस्टेलमा राखिदिन्छन् । त्यहाँ राख्नासाथ उनीहरुको केयर र अरु कुरामा दिनुपर्ने समय घट्छ र काममा जान सहज हुन्छ । बच्चाको झमेलामा अल्झेर बस्नुपर्दैन भन्ने सोच हुन्छ ।

    सहरी जीवनशैलीले अन्ततः परिवारलाई टुक््रयाउँदै लगेको छ । सहरमा बस्ने अधिकांश गाउँमा आफ्नो घरपरिवार छोडेर एकल परिवार बनेर सहरमा बस्न बाध्य हुन्छन् । यसले गर्दा पहिलाजस्तो बच्चाहरु हजुरबा–हजुरआमा या परिवारका अन्य सदस्यसँग घुलमिल भएर बस्न पाउँदैनन् । बालबालिकाहरु अभिभावकबाट टाढा हुन थालेका छन् ।

    बालबालिकालाई होस्टेलमा राख्नु एकदमै नराम्रो चलन हो । किशोर र युवा अवस्थामा छोराछोरी लिएर परामर्शका लागि आउने जति पनि अविभावक छन्, तिनका बालबालिका होस्टेलमा राखेको पाइयो । लागू पदार्थ, मादक पदार्थ सेवन गर्ने, चुरोट खाने, रिसको मात्रा बढ्ने जस्ता समस्या भएका किशोर–किशोरीमध्ये अधिकांश होस्टेलमा बसेका वा अभिभावकले पर्याप्त समय नदिएका भेटिए ।

    किशोर–किशोरीहरु होस्टेलमा त बस्छन्, तर उनीहरुको मनमा प्रश्न उब्जिरहन्छ कि, बुबाआमाले मलाई घरमा नराखेर किन होस्टेलमा ल्याए ? आफूलाई केयर गर्ने मानिससँग टाढा हँुदा दुरीमात्रै होइन, रिस पनि बढ्छ । जसले गर्दा अविभावकले भनेको नमान्ने, आफ्नो मनलाग्दी गर्ने, दुव्र्यसनमा फस्ने जस्ता परिणाम देखा पर्छन् ।

    समाजले थिचेको मस्तिष्क

    समाजले हामीलाई एउटा मापदण्ड निर्माण गरिदिएको हुन्छ । तिम्रो घर यस्तो हुनुपर्छ, यो तहमा पुगेपछि गाडी लिनुपर्छ, यो ढंगको पढाइ हुनुपर्छ लगायतका मापदण्ड समाजले निर्धारण गरिदिन्छ । समाजद्वारा बनिबनाउ उचाइमा सँगैका साथीहरु पुग्दा र आफू पुग्न नसक्दा मानिसलाई हिनताबोध हुन्छ ।

    समाजले मान्ने सफलताको मापदण्डमा पुग्न नसकेका मानिसहरु गहिरो चिन्तामा पर्छन् । मेरो साथीसँग यस्तो सुविधा छ, तर मसँग छैन भनेर मानिसले महसुस गर्छ । आफूले प्राप्त गर्न नसकेको महत्वाकांक्षाले हामीलाई जहिले पनि ‘ह्याम्बरिङ’ गरिरहन्छ । यस्तै कारणले मानिस डिप्रेसन, तनाव लगायतको मानसिक समस्यामा जाने खतरा हुन्छ ।

    समाजले हामीलाई कुनै न कुनै रुपमा केही कामका लागि दबाव दिएको हुन्छ । हामी त्यसबाट भाग्न मिल्दैन र सक्दैनौँ पनि । यसका लागि हाम्रो मानसिकताको परिवर्तन नै महत्वपूर्ण पक्ष हो । समाजले जे अपेक्षा राख्छ, मैले त्यो पूरा गर्ने होइन, म मेरै संसारमा रमाउने हो भनेर आफूलाई आत्मविश्वासमा राख्न सकियो भने ठिकै हो । अन्यथा यसले समस्या ल्याउन सक्छ । समाजले हामीलाई आफ्नो मापदण्ड अनुसार चल्न दबाव दिइरहेको हुनाले मानिस आफ्नो सपना लिएर बाँच्दैन, अरुकै सपना पूरा गर्न दौडिरहेको हुन्छ ।

    हाम्रो समाजमा खुट्टा तान्ने प्रवृति व्याप्त छ । इमान्दारको तुलनामा छलछाम गर्नेहरु नै अघि बढिरहेको देखिन्छ । घर परिवारको आवश्यकता पूरा गर्न आर्थिक अपराधहरु पनि भएका छन् । वैकल्पिक अबसर नपाएका कारण मानिसहरु एउटै ठाउँमा लामो समय काम गरेका कारण दिग्दारी झेल्नुपर्ने हुन्छ । एक ठाउँमा काम गरेर नपुग्ने भएकाले धेरैतिर अल्झिनुपर्ने वाध्यता छ । यस्ता कारणले गर्दा मानिसले आफ्नो कामलाई मनोरञ्जन वा रमाइलो मान्नुभन्दा पनि वाध्यताका रुपमा लिन्छ । जहाँ ‘इन्जोए’ हुँदैन त्यहाँ मन खिन्न हुन्छ र मानिसक समस्याको जोखिम बढी हुन्छ । समाजका यावत जडहरुले थिचेर मानिसको मस्तिष्क थलिएको छ । यसले अन्ततः अनेक प्रकारका मानसिक समस्या नै निम्त्याउने हो ।

    प्रविधि प्यारो, आफन्त टाढा

    प्रविधिले समाजलाई पूरै परिवर्तन गरेको छ । घरभित्र बस्दा पनि बाबु, आमा र सन्तानहरु आ–आफ्ना ग्याजेटमा रमाएका हुन्छन् । एउटै कोठामा बसेकाहरुले अमेरिका, अस्ट्रेलिया र क्यानडा बसेकाहरुसँग गफ गरेर रमाएका हुन्छन्, तर छेवैमा बसेकाहरुसँग सामान्य सोधपुछ समेत गर्दैनन् ।

    मानिसहरु अहिले भर्चुअल संसारमा रमाइरहेका छन् । फुर्सद भयो कि सोसल मिडियादेखि ग्याजेटहरुको गेममा व्यस्त हुन्छन् । एउटा पति लामो समयदेखि यस्ता क्रियाकलापमा संलग्न हुँदा पत्नीलाई शंका लाग्छ । उसले केमा समय बिताइरहेको छ ? के गरिरहेको छ ? मलाई किन वास्ता गरिरहेको छैन ? भन्नेजस्ता प्रश्न उठ्न थाल्छन् । यस्ता क्रियाकलापले एक त परिवारका सदस्यबीचकै दुरी बढाएको छ । अर्कोतर्फ ‘यसले के गरिरहेको छ ? किन यस्तो गरिरहेको छ ? कोसँग संलग्न छ ?’ भन्ने शंका उब्जिन्छ । विश्वासको संकटबाट सुरु हुने शंकाले सम्बन्धमा दरार ल्याइदिन्छ ।

    आजभोलि कुनै दिन सामाजिक सञ्जाल खोलेनन् भने मानिसलाई खल्लो लागिरहन्छ ।  उनीहरुलाई एक किसिमको एडिक्सन पसिसकेको हुन्छ । कहिलेकाहीँ पति–पत्नी नै घण्टौँ आ–आफ्नो तरिकाले मोबाइलमा रमाइरहेका हुन्छन् तर एकआपसमा कुराकानीसम्म हुँदैन । यसले हामीबीचको सामिप्यता र न्यायोपना घट्छ ।
    हाम्रो दिमागले ‘भेराइटी अफ एक्टिभिटी’ खोज्छ । तर हामी भने उही खालको दैनिकी झेलिरहेका हुन्छौँ । एक त हाम्रो दैनिकी नै एकात्मक खालको छ । बिहान खाना खाऊ, अफिस जाऊ, फेरी घर आऊ । त्यसबाहेक सामाजिकीकरणका क्रियाकलापहरु कम भइरहेका छन् । मानिससँग मानिसको सम्पर्क केबल ‘व्यावसायिक वा पेशागत’ रुपमा मात्रै भइरहेको छ । साथीभाई बस्ने, रमाइलो गर्ने आदि क्रियाकलाप घट्दै गएका छन् । यस्तो प्रवृत्तिले मानिसलाई आखिरमा एकांकी र निरस नै बनाउँछ । तसर्थ प्रविधिलाई अँगाल्नु त राम्रो त तर त्यसकै लतमा फँसियो भने सम्बन्धहरु भत्किन सक्छन् र मानिस गहिरो दुःखको गर्तमा पुग्छ ।

    आफन्तसँग टाढिँदाको पीडा

    अहिले वैदेशिक रोजगारीमा नगएको घर भेट्न मुस्किल पर्न थालिसकेको छ । परिवारका कोही न कोही सुखद भविष्यको खोजीमा घार–परिवार, गाउँ छोडेर परदेश पुगेका छन् । जब मानिस आफ्नो घर, परिवार र परिवेशबाट टाढा पुग्छ, तब नौलो खालको मानसिक अवस्था देखा पर्छ । उनीहरु घरबाट अलगिन्छन्, नयाँ माहौलमा पुग्छन् । एकातिर कामको चाप, अर्कोतर्फ घरको याद । आफन्तसँग टाढिँदा विशेष गरी श्रीमान्–श्रीमती टाढा बस्नु पर्दा शंका बढ्न थाल्छ र विस्तारै ‘सस्पिसिसनेस’ वा ‘इन्सेक्युरिटी’ पैदा हुन्छ । अनावश्यक शंका बढ्दै जान थालेपछि त्यसले ‘डिलुजन’को रुप धारण गर्छ जसलाई हामी रोग भनेर बुझ्छौँ । घरबाट बाहिर सहयोग, माया र आत्मियता नपाएपछि मानिसहरुमा मानसिक समस्या देखिन थाल्छ । त्यसैले वैदेशिक रोजगारबाट फर्किएका कतिपयलाई त विमानस्थलबाट ओरालेर सोझै नजिकैको मानसिक विभाग भएको अस्पतालमा परामर्शका लागि ल्याउनुपरेको हुन्छ ।

    घरमुली लामो समय बाहिर रहेपछि परिवारका सदस्यमा पनि विभिन्न समस्या देखा पर्छन् । उदाहरणका लागि बाबु बाहिर छ, आमाले बच्चा हुर्काइरहेकी हुन्छिन् । बच्चा बिरामी भएमा आमालाई निकै तनाव हुन्छ । अरुले पनि बच्चाको ख्याल नगरेको भनेर कराइरहेका हुन्छन् । विवाहित र वयस्क जोडी छुट्टिएर टाढा हुँदा त्यसले निम्त्याउने मानसिक तनाव चानचुने हुँदैन । उनीहरुले भावनात्मक तथा शारीरिक आवश्यकता पूरा गर्न पाएका हुँदैनन् । त्यही अप्ठेरोपनलाई व्यवस्थापन गर्न नसक्दा कतिपयमा समस्या देखिएको छ, जसलाई हाम्रो समाजले विसंगतिका रुपमा बुझ्छ । केटा बाहिर छ भने पत्नीमाथि शंका गर्ने, पत्नीले पतिमाथि शंका गर्ने । समझदारी कायम हुन नसक्दा फर्केर आएपछि धेरैको पारिवारिक सम्बन्धमै फाटो आउने गरेको छ ।

    शरीर, मन र औषधी

    शारीरिक परिश्रम गर्नुपर्छ, राम्रो खाना खानुपर्छ भन्ने कुरा सायद सबैलाई जानकारी छ । जानीजानी आफ्नो स्वास्थ्यको बारेमा ख्याल नराख्ने मानिस हुँदैन । तर मानसिक स्वास्थ्यका बारेमा कसैलाई परवाह नै छैन । शरीरमा कुनै समस्या आए जँचाउने वा नियमित स्वास्थ्य परीक्षण गर्ने चलन त छ । तर, मानसिक स्वास्थ्यबारे खासै चासो दिएको पाइँदैन ।

    शारीरिक रुपमा स्वस्थ राख्न चासो राखेजस्तै मानिसक स्वास्थ्यमा पनि सजग हुनुपर्छ । मन र शरीर एउटै सिक्काका दुई पाटा हुन् । शरीर ठिक भएर मात्रै पुग्दैन, मन पनि स्वस्थ हुन आवश्यक छ । हामी मानसिक रुपमा निकै ओभरलोडेड भएकै कारण हामीभन्दा अघिल्लो पुस्ताको तुलनामा कम उमेरमा नै प्रेसर, सुगर लगायतका समस्या देखिएका हुन् ।

    हामी बिरामी भएको औषधी खान नपाएर होइन । अनि हामी निको भएको पनि औषधी खान पाएर होइन । मानिस बिरामी भयो कि औषधीमै जोड दिन्छन् । कोही बिरामी भयो, अस्पताल जान्छ, डाक्टरले ‘डिप्रेसन भयो’ भनिदिन्छन् अनि औषधी दिइहाल्ने परिपाटी छ । तर, बिरामीलाई भने डिप्रेसन हुनुको कारण अरु नै हुन्छ । मूल कारण अरु नै भए पनि औषधी नै सबै समस्याको अचुक समाधान जस्तो देखिएको छ ।

    धेरैजनाले समाधानको अचुक उपाय ठान्ने औषधी सेवनबाट अनेक साइडइफेक्ट निम्तिएका हुन्छन् । मानसिक स्वास्थ्यसँग सम्बन्धित औषधीले मानिस मोटाउने, शरीर कडा भइदिने, चनाखोपन घट्ने जस्ता समस्या देखा पर्छन् । त्यसैले समस्याको जरोसम्म पुग्दै नपुगी हतारमा निको हुने÷पार्ने उपाय औषधीलाई ठानिदिँदा त्यसले थप समस्या निम्त्याउन सक्छ । औषधीबाटै हरेक समस्याको समाधान खोज्नु गलत हो ।

    रित्ता गुँडका चराहरु

    चराले गुँड बनाउँछ, अण्डा पार्छ । एउटा माउले ओथारो बस्छ, अर्कोले खाना बटुल्छ । चल्ला हुर्केपछि आ–आफ्नो पाराले जीवन निर्वाहका लागि जान्छन् । अनि पुराना चराहरु खाली गुँडमा बस्न बाध्य हुन्छन् । यसै घटनालाई दृष्टिगत गरी क्लिनिकल साइकोलोजिस्टहरुले ‘इम्प्टिी नेस्ट सिन्ड्रोम’ भन्ने अवधारणा अघि सारेका छन् ।
    बाबुआमाले आफ्नो सम्पूर्ण स्रोत, साधन र मेहनत सन्तानलाई हुर्काउन, बढाउन खर्च गरिसकेका हुन्छन् । बालबच्चा वयस्क हुँदा बुढ्यौलीतिर ढल्किएका बाबुआमाको जागिर र जाँगर टुंगिन लागिसकेको हुन्छ । उनीहरुमा जोश घटिरहेको हुन्छ । कतिपय जागिरे छोराछोरीले बाबुआमालाई बृद्धाश्रममा छोडेर आएका हुन्छन् । सहर र वरपर खुलेका बृद्धाश्रममा अध्ययन गर्ने हो भने डिप्रेसनको समस्या एकदमै धेरै देखिन्छ । बाबुआमाको गुनासो आयो भने सन्तानहरुले ‘काम गर्ने मान्छे राखिदिएको छ, पैसाको कमी छैन, हामीले अरु के गर्न सकिन्छ र ?’ भनेर रुखो जवाफ दिन्छन् । जुन बाबुआमाको दृष्टिकोणबाट सही होइन ।

    बृद्धबृद्धालाई पैसा मात्रै चाहिएको हुँदैन । उनीहरुलाई आफ्ना सन्तानसँगको सामिप्यता, उनीहरुको होहल्ला र हेरचाह आवश्यक परेको हुन्छ । आफ्ना सन्तान, उनका आफन्त र नातेदारहरुको कुरा सुनौँ, रमाइलो होस्, रित्तोपन नहोस् भन्ने बृद्धबृद्धाको चाहना हो । त्यो परिपूर्ति हुन नसक्दा बृद्धबृद्धामा मानसिक समस्या देखा पर्छ, जसलाई हामी ‘इम्म्टिी नेस्ट सिन्ड्रोम’ भन्छौँ ।

    मानसिक रुपमा स्वस्थ रहन आवश्यक क्रियाकलाप

    -    सुत्ने र उठ्ने समय नियमित हुनुपर्छ । सकेसम्म साँझ छिटो सुत्ने र बिहान छिटो उठ्ने बानी गर्नुपर्छ । कतिपय मानिस मध्यरातसम्म बस्ने र बिहान ढिलोसम्म सुत्ने गर्छन् । मानसिक स्वास्थ्यका लागि त्यो राम्रो आदत होइन । बालबालिका र बृद्धबृद्धा बाहेक मानिसलाई ६ देखि ८ घण्टाको निद्रा पर्याप्त मानिन्छ ।

    -    हामीले विहानको समयमा शारीरिक परिश्रम गर्नुपर्छ । शारीरिक अभ्यासमा पनि मुख्यगरी ‘एरोविक एक्सरसाइज’मा जोड दिनुपर्छ । किनकि यस्ता एक्सरसाइजमा स्याँ–स्याँ हुँदा मुटुको चाल बढ्छ । यस्ता एक्सरसाइजले मस्तिष्कमा पर्याप्त मात्रामा पोषण पु¥याउने काम गर्छ । नियमित रुपमा नुहाउने गर्दा शरीर र मस्तिष्क स्फुर्त र हलुका हुन्छ ।

    -    बिहानको ब्रेकफास्टको महत्व हामीले बुझेकै छैनौँ । बिहानको खाना लिएपछि दिनभर मानिस काममा व्यस्त हुनु आवश्यक मानिन्छ । मानिसले आफूलाई व्यस्त देखाएर स्वस्थ मानसिक जीवनका लागि आवश्यक पर्ने क्रियाकलाप चाहिँ भुलिरहेका हुन्छन् । यसो गर्नु हुँदैन ।

    -    दिनभरको काम सकिएपछि यस्तो फरक गतिविधिमा लाग्नुप¥यो, जसले दिनभरको तनावलाई भुलाओस् र मन बहलाउन सहयोग गरोस् । रेस्टुरेन्टमा गएर खाना खाने, साथीहरुसँग घुम्ने, फिल्म हेर्ने वा यस्तै अन्य क्रियाकलापमा रमाउनु मानसिक स्फुर्तिका लागि राम्रो मानिन्छ । यसरी नियमित समयतालिका मिलाउन सकियो भने हामीलाई मानसिक रुपमा स्वस्थ्य रहन सहयोग मिल्छ ।

    - (क्लिनिकल साइकोलोजिस्ट शर्मा सेन्टर फल्ड साइकोलोजिकल हेल्थ एन्ड इमोसनल वेल बिइङका संस्थापक हुन्

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org