ताजा खबर

समाचार

  • प्रिय चिकित्सा…

    news

    अनिल रेग्मी

    प्रिय चिकित्सा

    प्रणय दिवसको शुभकामना!

    जिन्दगीको यात्रामा तिमी साथै रहने भएकाले पत्रमा प्रिय भनेर सम्बोधन गरेँ। तिम्रो न्यानोपनले गर्दा सम्बोधनमा पनि 'तिमी' लेखेँ। तिमी भनेर सम्बोधन गरेपछि मनका कुरा धकनफुकाई खोल्न बहुत सजिलो हुँदो रहेछ। मैले त्यस्तै अनुभव गरिरहेको छु। नत्र यति लामो पत्र मैले कोर्नै सक्दिन थिएँ सायद।

    पुराना डायरीका पाना पल्टाउँदा पनि तिथिमिति भेटिएन, मैले कहिलेदेखि तिमीलाई मन पराएँ भन्ने। एक दिन नजिकैको आफन्त बिरामी भएर हस्पिटल भर्ना गरेका बेला भेट्न जाँदा सोतो पोसाकमा आएकी एउटी महिलाले सासले भनेको सम्झिन्छु, 'डाक्टर'साप राउन्डमा आउँदै हुनुहुन्छ, एउटा बिरामीको एउटा मात्र कुरुवा बसिदिनु होला, अनि हल्ला नगरी बसिदिनुहोला।'

    बिरामी र आफन्तको होहल्लाले माछाबजार जस्तो ठाउँ डाक्टरको नाम सुन्नासाथ एकाएक शान्त भयो। मलाई ती डाक्टर हेर्न रहर लाग्यो। एकजना बिरामीको एउटै मात्र कुरुवा बस्नु भने पनि, म फुच्चेले टुक्रुक्क बसेर आफूलाई बच्चा बनाएको थिएँ। सोचेँ, 'सानो भएर बस्यो भने पाँच वर्षमुनिको भनेर गाडीमा त भाडा छुट दिन्छ । हल्ला नगरी, खुट्टा खुम्चाएर सानो भएर बसिदिँदा, यहाँ कसो छुट नमिल्ला र।' त्यहीँ बस्ने छुट पाइयो।

    अदबका साथ राउन्डमा डाक्टर आए। अहो! कस्तो राम्रो मान्छे। खाइलाग्दो शरीर, हँसिलो मुहार, सुकिका कपडा, घाँटीमा एउटा डोरीजस्तो भिरेको। ती फिल्मका हिरोजस्तो लाग्ने डाक्टरले मलाई मोहनी पो लगाए। चिकित्सा पेशाको मान र शान देखेर म १० - ११ वर्षको फुच्चे आयलकायल भएँ। सायद त्यही दिन पो थियो कि मैले तिमीसँग एकतर्फी प्रेम सुरु गरेको।

    तिमीलाई मन पराउन त थालेँ, तर कसलाई सुनाउने आफ्नो रुचीको कुरा? तर हिम्मत त गर्नु नै थियो। आमालाई सुनाएँ, 'ममी, डाक्टर बन्न के गर्नुपर्छ?' जवाफ रेडिमेड थियो, 'धेरै पढ्नुपर्छ बाबु ।'

    ममीले डाक्टर बन्न धेरै पढ्नुपर्छ भन्ने अचुक मन्त्र सुनाउनासाथ म पढ्न तयार भइसकेको थिएँ। लगत्तै मैले 'मेरो स्वास्थ' भन्ने किताब खुरुखुरु पढ्न थालिहालेँ। १०-१२ पेजभन्दा बढी एकैखेपमा पढिसिध्याएँ। जीवनमा एकैचोटि त्यति धेरै पढेको पहिलो पटक थियो।

    घडीको सुइ घुम्दै गयो, क्यालेन्डरका पाना पल्टिँदै गए, समय बित्दै गयो। बाल्यकालले बिस्तारै बिदा माग्यो र छाडेर हिँड्यो। तर, बाल्यकालमै मनमा गडेका केही प्रश्न र रहरले मरिगए छाडेनन्। उमेरसँगै अलिअलि कुरा बुझ्ने भएँ, अलिअलि शारीरिक र मानसिक विकास हुँदै गयो। बाल्यकालका धेरै कुरा ओझेल पर्न थाले तर तिमीलाई मनपराएको कुरा झन् छर्लङ्ग हुँदा आयो।

    प्लस टु सकेर पेशाको कुन मार्ग हिँड्ने भन्ने चौबाटोमा आइपुगेँ। विभिन्न संकायका, विभिन्न विषयका होडिङ बोर्ड र विज्ञापनतिर आँखा त गए तर मन गएन। मन त उहिल्यै तिमीले हरिसकेकी थियौ।

    तर तिम्रो मनमा बास पाउन कहाँ सजिलो कुरा थियो र। एकपटक तिम्रो मनको कुरा बुझ्न र तिमीसँग सम्बन्ध गाँस्न पाउँ भनेर बिन्ती त बिसाउनु नै थियो। तिमीलाई मनमनै मन पराएको कुरा मनमै गुम्स्याएर राख्नुभन्दा एकचोटि तिम्रो राय बुझ्न किन कोसिस नगर्ने भनेर प्रवेश परीक्षाको फारम भरेको थिएँ।

    तिमीले चुनौती दिएकी थियौ, 'परीक्षामा पास भएर आइस् भने प्रस्ताव स्वीकारौँला।' म पनि चुनौतीबाट भाग्नेवाला थिइनँ, डटेर सामना गर्ने खालको थिएँ। अन्ततः सम्बन्धका लागि तिमी राजी भयौं र नाम निस्कियो मेरो। नाम त निस्कियो, तर सशुल्क कोटामा। मैले तिमीसँगको प्रेमको मूल्य धेरै चुकाउनुपर्ने वाला थियो। खुसी हुँदै घरमा बालाई सुनाएँ, 'एमबिबिएस प्रवेश परीक्षामा नाम निस्कियो बा।' बुबा खुसीले कति उफ्रिनु भयो होला मैले फोनबाट देखिन अनुमान मात्र गरेँ। तर जब पैसा तिरेर पढ्नुपर्ने कोटामा नाम निस्किएको कुरा खुलाएँ, त्यसपछि मौनता छायो।

    तिमीलाई पाउन तिम्रा घरपटिकाले धेरै मूल्य तोकेका थिए। मेरो हैसियत कहाँ त्यत्रो थियो र। सोचेँ, अझ मिहिनेत गरेर अर्को पाला पूर्णरुपमा तिमीलाई निःशुल्क आर्जन गर्नेछु। यस्तैमा घरबाट बोलावट आयो। बुबाको बोल्ड आवाज सुनेँ, 'पढ्न त सक्छस् नि? सोचेर भन्। लगानी र समय दुवै खेर जानु हुँदैन।' मैले दायाँबायाँ केही सोचिन सिधै सक्छुमा टाउको हल्लाइदिएँ। साँचि, बाहरु कति बलिया, हिम्मतिला हुन्छन् है। आफ्नो सन्तानको रहरका लागि आफू जस्तोसुकै अफ्ट्यारोमा हिँड्नु परे पनि पछि हट्दैनन्। मलाई त्यो बेला तिमीलाई भन्दा सयौँ गुणा बाको माया लागेको थियो।

    भर्ना प्रक्रियाका एकदुई औपचारिकतापछि सुरु भयो तिमीसँगको जम्काभेट। सुरु भयो मेरो मेडिको लाइफ। नया ठाउँ, नया परिवेश,  नयाँ सम्बन्ध, नयाँ साथी, नयाँ भाषा, नयाँ बोलिचाली सप्पैसप्पै नयाँ। नेपालगञ्जको तातोमा दुई-तीन महिना त नयाँकै रनाहामा परियो।

    बिस्तारै तिमीलाई बुझ्न थालेपछि, घुलमिल हुँदै गएँ यहाँको परिवेशसँग। रमाउँदै गएँ। तिम्रो आत्मियताको न्यानो छाहारी काफी थियो, नेपालगञ्जको गर्मी भुलाउनका लागि। तिमीसँग रम्म थालेदेखि, तिमीलाई पढ्न, बुझ्न पूरापूर समय दिन थालेपछि आफन्त, साथीभाइसँगको संगत पातलिँदै गयो। म यस्तरी तिमीमा डुबेको छु कि, बाँकी सारा कुरा मेरालागि फिका भएका छन्।

    तिमीसँग बिताएका साढे चार वर्ष मेरो जीवनको अमूल्य समय हो। आफ्नो बन्धनमा बाँधेर मलाई मिठो बोल्न सिकायौ, मनका कुरा खोल्न सिकायौ, धैर्यता राख्न सिकायौ, समयको मजा चाख्न सिकायौ, मान्छे चिन्न सिकायौ, दुःखमा पनि खुसी हुन सिकायौ। बिरामीसँग कसरी व्यवहार गर्ने भन्ने सिकायौ। दिनरात नभनी पढ्न सिकायौ, पढेर नै अगाडि बढ्न सिकायौ, आफू मात्र बाच्न नभई अरुलाई पनि बचाउन सिकायौ।

    यत्रो वर्षको सुमधुर सम्बन्धपछि अब म हाम्रो सम्बन्धलाई आधिकारिकता दिने मोडमा उभिएको छु। अबका केही महिनामै सम्पूर्ण पूर्वतयारीका साथ स्टेथेस्कोपको माला, हेड मिररको टोपी, कैँचीको औंठी लगाएर, सेतो सुकिलो एप्रोन कोटमा सजिएर तिम्रो सामु उभिनेछु। तिम्रो 'डाक्टर' भन्ने टाइटललाई आफ्नो नामसँग जोड्न आतुर छु।

    सामाजिक सञ्जालका भित्ताभरि भ्यालेन्टाइन्स डेको नाममा लेखिएका स्ट्याटस र पोस्ट गरिएका फोटोहरु हेर्दा मलाई पनि आफ्नो भ्यालेन्टाइनलाई सम्झिन मन लागेको हो। यही रहरले मलाई पनि आफूले मन पराएको, माया गरेको 'चिकित्सा'बारे केही भावना पोख्न मन लागेको हो।

    पत्र लेख्नुअघि धेरै बेर सोचेँ। चिकित्सानुरागी मन चिकित्साको गलत व्याख्या होला भनेर डरायो, प्रेमानुरागी मन प्रेमको गलत व्याख्या होला भनेर डरायो। तर, साहित्यानुरागी मनले आँट गर्‍यो, मन पराएको चिकित्सालाई प्रणय दिवसको उपलक्ष्यमा पत्र लेख्न। आजकाल मेरो मस्तिष्कमा तिमीबाहेक केही आउँदैन, आफैँमा तिमीलाई पाउन थालेको छु। साँच्चै भनूँ भने तिमीबिना जिन्दगी नै देखेको छैन मैले। चिकित्सासँगको मेरो प्रेम यस्तै छ र यस्तै रहनेछ। म मेरो प्रेम सफल बनाउन चाहन्छु। यो विशेष दिनमा गरेको बाचा म आजन्म भुल्ने पनि त छैन।

    उही

    तिमीलाई आफ्नो ठान्ने

    चिकित्साशास्त्रको विद्यार्थी।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org