समाचार

  • आफ्नै ठाउँ बिरानो हुँदा

    news

    भूमिराज पराजुली -

    म कामका लागि विदेश कहिल्यै जान्न । मेरो सीप, लगनशिलता र मेहनत मेरै देश, मेरै ठाउँलाई दिन्छु । मैले धेरै पढ्नुछ । पढेर नेपालमै कुनै एउटा क्षेत्रमा नाम उज्वल बनाउनु छ । मेरो मिसन आफ्नै देशमा मेरो फरक पहिचान बनाउनु हो ।

    यी मेरा ‘पञ्चप्रतिज्ञा’ आज भन्दा सातवर्ष अघिका हुन । त्यसबेला जोशजाँगरका साथ क्याम्पस गइन्थ्यो । केहि सामाजिक काम गर्ने संघसस्थातिर आवद्ध भइएको थियो ।  क्याम्पस पढ्दै स्थानीय मिडियामा काम गरिन्थ्यो ।स्थानीयदेखि जिल्ला तहसम्म  चिनजान बढ्दै थियो । त्यसबेला चाहनु मात्र पर्छ झापामा गर्न नसकिने केही काम नै छैन भन्ने घमण्ड जस्तै थियो । नहोस् पनि कसरी, नेतामा नेता, ब्यापारीमा ब्यापारी, सरकारी कर्मचारी, स्थानीय सचिवदेखि सिडियो, डिएसपी, एलडिओ सबैसँग कुरा गर्न सकिन्थ्यो । सिधै फोन गर्न सकिन्थ्यो । सर्वसाधारण, युवा माझ पनि त्यतिकै घुलमिल थियो । जिल्ला तहका मात्र होइन केन्द्रिय तहकै नेताहरुसँग पनि सम्पर्क गाह्रो थिएन । 

    तर धेरै कुराले मात्र साथ दिएर नहुँदो रहेछ । चिनजान, बोलीचाली र हाई हेल्लोको पहुँचले मात्र नहुने रहेछ । स्थानीय मिडीयामा काम गरेर आफ्नो पढाईलाई निरन्तरता दिइरहेको म अल्लारे केटाको पारिवारिक अवस्था माथिल्लो स्तरको थिएन । पहाडमा भएको थोरै पुख्र्यौली सम्पत्ति र दमकमा रहेको ओत मात्र लाग्ने सानो झुपडीले नपुग्ने भयो । अनि बिकल्पमा आयो वैदैशिक रोजगार ।

    मेरा दाजु प्रदिप रोजगारीकै सिलसिलामा तीन वर्षदेखि मलेसियामा हुनुहुन्थ्यो । दाजुले आफु काम गर्ने कम्पनी नजिकैको लेटेक्स कम्पनीको कामका बारेमा बताउनुभयो । काम सजिलो र तलब पनि राम्रै हुने दाजुको जानकारी अनुसार म राहदानी बनाउन काठमाडौं लागे । राहदानी बनाएर काठमाडौंको नक्सालमा रहेको एससिएम मेनपावरबाट ७० हजार रुपैयाँ बुझाएर म मलेसिया हानिएँ । २०६७ साल असोज महिनाको २५ गते सोमबार घटस्थापनाको दिन , परिवार र देश नै दशैमा रमाउदै गरेका बेला म भने हातमा हरियो राहदानी बोकेर मुग्लान भासिँदै थिए । 

    बाहिरी रुप हेर्दा धेरै झिलीमिली, रंगीबिरंगी, गगन चुम्ने महल, फराकिला बाटा देखिएपनि यसको भित्री अबस्था नेपाल र नेपालीको भन्दा खोक्रो रहेछ । चार वर्षसम्म दाजुले रोज्नुभएको कम्पनी इन्नो लेटेक्स एस डि एन बिच डि मा निरन्तर काम गरियो । यस अवधिमा पनि मैले मलेसियाबाटै उज्यालो रेडियो र अनलाइनमा काम गरि नै रहेँ । दैनिक १६ घण्टा कम्पनीमा  काम गरेर बचेको समयलाई मैले पत्रकारितामै लगाएँ । 

    यसैबिचमा मैले मलेसियामा पनि पहुँच राम्रै विस्तार गर्न सकें । मलेसियाका विभिन्न नेपाली संघसंस्थाले, दूतावासले आयोजना गर्ने गरेका हरेक खालका कार्यक्रममा आफ्नो उपस्थिति जनाउन थालें । यसरी मलेसियामा सक्रिय भएर व्यापार गरेको ब्यापारी, नेपाली राजनैतीक दलका प्रवास संगठनका प्रतिनिधि, दुतावास, श्रमिक लगायतसँग राम्रै हिमचिम भयोे । यत्तिको हिमचिम भएपछि अब म कम्पनीदेखि बाहिरै बसेरपनि केही गर्न सक्छु भन्ने आत्मविश्वास जाग्यो । लगातार चार वर्षसम्म काम गरिरहेको कम्पनी छोडेर बाहिरको आफ्नो छुट्टै दुनियामा हराउन मन लाग्यो । तर सजिलो थिएन ।

    आफ्नो भिसा, स्वतन्त्र भएर गरिने काम,  बस्ने ठाउँ लगायतको टुंगो लगाएर मात्र निस्कन पर्थ्यो । यतिकैका मलेसियाबाट प्रकाशित हुने प्रवासी सन्देश साप्ताहिकमा सहसम्पादक भएर काम गर्ने प्रस्ताव आयो । खान र बस्न सहित कम्पनीको भन्दा राम्रै तलब दिने प्रस्ताव आयो । प्रस्ताव स्वीकार गर्नुभन्दा पहिला  ठूलो समस्या रहने भिसा मिलाउनुपर्ने थियो । कम्पनीकै भिसा तर काम भने बाहिर गर्ने सोच बनाइयो । यहि सोच अनुसार एकदिन मौका पारेर कम्पनीको मानव संसाधन विभाग प्रमुखलाई व्यक्तिगत भेटें । भिसा लगाउन लाग्नेभन्दा दोब्बर शुल्क दिने प्रस्ताव मैले गरें । मलाई भिसा लगाइदिएर मेरो राहदानी मलाई नै दिन उनी राजी भए । त्यसपछि मैले प्रवासी सन्देशको प्रस्ताव स्वीकार गरें । 

    म पत्रिकामा आएपछि पत्रिकाको स्तरमा सुधार आउन थालेको प्रतिक्रिया पाउन थालें । यसबाट मेरो काम गर्ने हौसला बढायो । म आएको एक वर्षभित्र नम्बर वान पत्रिका बनाउने योजना बनायौं । सबै साथीले उत्कृष्टताका  साथ काम गरिरहनुभएको थियो । दिनानुदिन मलेसियामा पत्रिकाको माग बढ्न थाल्यो । तर मलेसियाको प्रसाशनले मलेसियाबाट प्रकाशित सबै आप्रवासी पत्रिका बन्द गराईदियो । त्यसपछि के गर्ने भन्ने अन्यौलमा बसिरहेको मलाई एकजनाले रेष्टुरेन्ट चलाउने सल्लाह दिए । अनि रेष्टुरेन्ट किनें । 

    फरक तरिकाले रेष्टुरेन्ट चलाउन थालेपछि ग्राहकपनि दिनानुदिन बढ्न थाले । ब्यवसायीले राम्रै पिकअप लिईनै रहेको भएपनि नेपाल फर्कन पर्यो । सात वर्ष  मलेसियामा बसेर बिभिन्न क्षेत्रमा रहेर काम गरियो । केही सिकियो, केही कमाईयो,  अनि केही गुमाईयो ।

    अहिले आफ्नै ठाउँ दमकमा छु । सात वर्षपछि म आफ्नो ठाउँमा केही गर्न भनेर आएको छु । तर सात वर्षको अन्तरालमा दमकमा कायापलट परिवर्तन भएछ । अहिले केही गर्ने सोच छ, सानोतिनो केही गर्न सक्ने आर्थिक हैसियत पनि छ । तर के गर्ने भन्ने अन्योलमा छु । किनकी सात वर्षअघि यही दमकमा म जुन अबस्थामा थिएँ, अहिले म त्यहिबेला मलेसिया पुग्दाको जस्तो भएको छु ।

    अर्थात आफ्नै ठाउँ बिरानो भएको छ । त्यसबेलाका न मेरा दौंतरी छन् यहाँ, न मेरो त्यसबेलाको जस्तो पहुँच अर्थात चिनजान छ । त्यसबेलाको आँट अहिले हराइरहेको महसुस भएको छ । यसैकारण अल्मलिरहेको छु । आफ्नै ठाउँ मेरा लागि अपरिचित बनेको छ । आफ्नै ठाउँमा आफैलाई खोजिरहेको छु ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org