समाचार

  • न्युरो सम्बन्धी समस्या आउन नदिन के गर्ने ?

    news

    नशासम्बन्धी समस्या बढ्दो अवस्थामा छ । केही वंशाणुगत भएपनि नेपालमा धेरै अस्वस्थ जीवनशैली र खानपानका कारण निम्तिएको देखिन्छ।

    विश्वका अन्य देशमा कमै हुने तर नेपाल लगायतका दक्षिण एशियाली देशमा हुने समस्या पनि छन् । तीमध्ये च्याप्टेकिरा (न्युरोसिस्टसेरोसिस) एक हो । यो किराका कारण ७० प्रतिशतमा छारे रोगमा देखिनेजस्तै लक्षण देखापर्छ । बाटो छेउमा बेचिने फलफूल र सागपात, सुँगुरको मासुका कारण यो समस्या हुन्छ । यो कीरा यी अस्वस्थकर खाद्यको माध्यमबाट पेटमा गएर त्यहाँबाट दिमागमा जान्छ । च्याप्टेकिरा दिमागमा पुगेपछि समस्या देखिन थाल्छ ।

    त्यसैले सागपात  र फलफूल किन्दा ध्यान दिनुपर्छ । राम्ररी पखालेर मात्रै खाने गर्नुपर्छ । किनभने नेपालमा धेरै सागपात र फलफूल बाटोको छेउमा बेचिन्छन् ।

    यसैगरी माइग्रेन पनि धेरैको साझा समस्या बन्दै गइरहेको छ । माइग्रेन लामो समय देखिने रोग हो । यो रोग हुँदा टाउको एक भागमा वा दुवै भागमा ब्लिक–ब्लिक भए जसरी दुख्ने गर्छ । यसैगरी कहिलेकाहीँ आँखाका गेडा दुख्ने, निधार र घाँटीतिर दुख्ने, वाकवाकी लाग्ने, उज्यालो र हल्ला सहन नसक्ने र हातखुट्टा चिसो हुने हुन्छ  ।

    यसको ठ्याक्कै कारण पत्ता नलागेपनि बढी मानसिक चिन्ता लिने, चिया  र कफी धेरै पिउने, समयमा नसुत्ने, शिशीमा राखिएको अचार, गुन्द्रुकजस्ता खानेकुरको अत्याधिक सेवन गर्ने र बढी मात्रामा पेनकिलरको प्रयोग गर्नेमा बढी देखिएको छ ।  यसैगरी डायबिटिज, ब्लड प्रेसर र चुरोट सेवनकर्ता यसको जोखिममा हुन्छन् । त्यसैले यी खानेकुरा सेवन गर्दा ध्यान पुर्याउनुपर्छ ।

    जीवनशैली स्वस्थकर अपनाउन सकियो भने रोक्न सकिने अर्काे रोग अल्जाइमर्स पनि हो । यो रोगले मष्तिष्कको कार्य क्षमता नष्ट पारेर स्मरणशक्तिमा ह्रास ल्याइदिन्छ । यो पाको उमेरमा देखिने भएपनि अहिले युवा अवस्थामा पनि समस्या आउन थालेको छ ।
    स्वस्थ जीवनशैली अपनाएकाहरू भन्दा अरुमा बढी देखिन्छ । त्यसैले नियमित कसरत, गेडागुडी खाने, मष्तिष्कलाई सक्रिय राख्ने, पढ्ने र सामाजिक कार्यमा खट्ने लगायतका कार्यले अल्जाइमर्स हुने जोखिम घटाउँछ ।

    साझा समस्याका रुपमा विकसित भइरहेको तर आफ्नो जीवनशैली परिवर्तन गर्दा रोक्न सकिने रोग एन्जाइटी पनि हो । यो हुँदा मन आत्तिने, डर लाग्ने, राति निद्रा नपर्ने, मुटु ढुकढुक हुने जस्ता लक्षण देखा पर्छन् ।

    यो कसरत गर्ने बानी नभएकाहरूमा बढी देखिन्छ । त्यसैले यो रोकथामका लागि हरेक दिन कसरत गर्ने र सामाजिक हुने बानी बसाल्नुपर्छ ।

    ढाड र गर्धन दुख्ने समस्या पनि आफैंले निम्त्याएको मध्ये पर्छ । महिलाहरू यो समस्यामा ज्यादा प्रताडित हुन्छन् । लामो समय निहुरिएर काम गर्ने भएकाले महिलामा यस्तो समस्या बढी देखिन्छ ।

    आफ्नो दैनिकीमा ध्यान नपु¥याउँदा कतिपयले ढाड र कम्मर दुखाइको पीडा सहनुपरेको हुन्छ ।  करिब ८५ देखि ९० प्रतिशत बिरामी जीवनशैली र बसाइका कारण समस्यामा पर्छन् ।  विहानदेखि बेलुकीसम्म एउटै पोजिसनमा काम गरिरहेनेहरू ढाडसम्बन्धी साझा समस्याबाट पीडित हुन्छन् ।

    त्यसैले नियमित कसरतका साथै अफिस वा अन्यत्र हिँड्दा लिफ्ट नलिएर भर्याङ चढ्नु राम्रो हो । कुर्सीको पोजिसन पनि मिलेको हुनुपर्छ । कुप्रिएर काम गर्नु हुँदैन । पछाडि ढल्किएर पनि काम गर्नु हुँदैन । कम्प्युटर र आँखाको सतह बराबर हुनुपर्छ । लगातार काम गरेपछि हरेक ४५ मिनेटमा उठेर जिउ तन्काउनु राम्रो हो ।

    कतिपय नशाका समस्या अन्य समस्यालाई बाटो बनाएर आउँछन् । त्यसमध्ये कसरत नगर्दा रक्तचापको समस्या हुन्छ । जुन समस्याले पछि मष्तिष्कघात हुन सघाउँछ । विशेषगरी रक्तचापका  बिरामीले औषधिमा सामान्य हेलचेक्राइँ गर्दा नशा फुटेर हुने मस्तिष्कघातको सामना गर्नु परिरहेको छ ।

    मस्तिष्कमा रगतको प्रवाहमा हुने अवरोधका कारण सिर्जना हुने समस्या मस्तिष्कघात वा स्ट्रोक हो । मस्तिष्कमा रगतको प्रवाह दुई कारणले अवरोध हुन्छ । एउटा नशा फुटेर र अर्को रगतको नशा साँघुरिएर बन्द हुँदा हुन्छ । त्यसमा नशा फुटेर हुने स्ट्रोकको प्रमुख कारण ब्लड प्रेसरको औषधिमा गरिने लापरबाही हो ।
     
    बिरामीले चिकित्सकको सल्लाहबिना आफूखसी औषधि सेवन गर्ने र छाड्ने गर्दा मस्तिष्कघातको सिकार हुनु परिरहेको छ । किनभने अस्वस्थ जीवनशैलीका कारण हुने उच्च रक्तचापको औषधि खान सुरु गरेपछि जीवनभर औषधि खानु पर्छ । तर यही कुरामा खेलबाड गर्दा मष्तिष्कको समस्या निम्तिन्छ ।

    सामान्यतः ५० वर्ष नाघेका मानिस ब्रेन एट्याकको जोखिममा हुन्छन् । तर,  अस्वस्थ जीवनशैलीका कारण विस्तारै यो समस्या युवामा पनि देखिन थालेको छ । धूमपान गर्ने तथा मोटा मानिसहरूले तत्काल जीवनशैली परिवर्तन नगर्ने हो भने सानै उमेरमा मस्तिष्कघात हुने खतरा हुन्छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org