समाचार

  • दिल्ली भ्रमणको अनुभवः भारतीय ‘रुलिङ क्लासले’ नेपालमा अझै भूमिका खोज्दैछ

    news

    ७ फागुन, काठमाडौं । आज फागुन ७ गते । ‘दिल्ली सम्झौता’ भई नेपालमा प्रजातन्त्र आएको आज ६७ वर्ष लागेको छ । तर, आधा शताब्दी बित्दासम्म भारतीय शासक वर्गले नेपाललाई हेर्ने नजरमा खासै परिवर्तन नआएको महसुस अधिकांश नेपालीहरुले गरिरहेका छन् । माओवादीका बरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पनि अघिल्लो साता दिल्ली भ्रमणका बेला यस्तै महसुस गरेछन् ।

    दिल्लीबाट फर्केपछि नेता श्रेष्ठलाई  सोधेको छ-नेपालसम्बन्धी भारतीय नेताहरुको बुझाइ कस्तो रहेछ ? श्रेष्ठले निचोड सुनाउँदै भने- ‘मुख्य कुरा, जो उहाँहरुले खुलारुपमा भन्नुहुन्न, नेपालमा ऐतिहासिक-राजनीतिक घटनाक्रम जो अगाडि बढ्छ, भारतको भूमिका त्यहाँ हुनुपर्छ, भन्ने उहाँहरुको अन्तर्यमा छ ।’

    नेपालका नेताहरुले पनि भारतीय पक्षसँग आफ्ना कुराहरु प्रष्टसँग राख्न डराएको श्रेष्ठको विश्लेषण छ । माओवादी पार्टीको प्रवासी संगठनको सम्मेलनमा भाग लिन दिल्ली जाँदा पूर्वमन्त्री श्रेष्ठले यसपालि भारतीय नेतालाई भेटेर ‘माइक्रो म्यानेजमेन्ट’ नगर्न चेतावनी दिएका छन् ।

    माओवादी नेता श्रेष्ठले भारतीय नेतालाई एक्लै भेटेनन् । उनले राजनीतिज्ञबाहेक एजेन्सीका मानिसहरुलाई भेटेनन् । उनले दिल्लीस्थित नेपाली दूताबासका डीएसीम कृष्ण ढकाललाई साथैमा राखेर मात्रै भारतीयहरुसँग कुरा गरे, जुन नयाँ परम्पराको थालनी हो । शायद यही खुशीमा हुनुपर्छ, नेपाली दूतावासले पनि नेता श्रेष्ठको स्वागतमा बेग्लै कार्यक्रम आयोजना गर्‍यो । श्रेष्ठले भने- ‘मैले भारतीयहरुसँग प्रष्टसँग कुरा राखेको छु र नेपाली दुतावाससँग यसको रेकर्ड छ । मैले गुप्तरुपमा कसैलाई भेटिनँ, नेपालको हित विपरीत बोलिनँ ।’

    माओवादी पार्टीभित्र राष्ट्रवादी धारका नेताका रुपमा परिचित पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले दिल्ली भ्रमणका क्रममा के-कस्तो अनुभूति गरे ? यसैमा केन्द्रित रहेर  गरेको कुराकानीः

    तपाईको दिल्ली यात्रालाई धेरैले भारतसँग सम्वन्ध सुधार गर्ने प्रयासका रुपमा हेरेका छन्, के यो सत्य हो ?

    म अखिल भारत नेपाली एकता मञ्चको सम्मेलनमा भाग लिन गएको हुँ । त्यो ५ महिनाअघि नै निश्चित भएको कार्यक्रम हो । र, मसँग समय लिएर नै त्यो कार्यक्रम तय गरिएको थियो । त्यसकारण यो एक्कासी बनेको होइन, पूर्वनिर्धारित कार्यक्रम हो ।

    तर, तपाईले भारतीय नेताहरुसँग पनि भेटघाट गर्नुभयो, ‘पशुपतिनाथको यात्रा सिद्राको ब्यापार’ भनेजस्तो मात्रै भएको हो त ?

    आफ्नो मूल उद्देश्य पूरा भइसकेपछि दिल्लीमा गएका बेला भारतका राजनीतिक नेता, बुद्धिजिवी, कूटनीतिज्ञ एवं पत्रकारसँग छलफल गर्ने उपयुक्त समय मिल्छ भने राम्रो नै हुन्छ भन्ने ठानेँ र पहल गरेको हुँ । मैले दिल्ली जानु अगाडि भेटका लागि समय मिलाएको थिइनँ । नेपाली दूताबासलाई पनि भनेको थिइनँ । त्यहाँ गएपछि सल्लाह गर्‍यौं र आएका बेला देशका तर्फबाट आफ्नो दृष्टिकोण, अडान वा नेपाल भारत सम्वन्धबारे छलफल गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेर पहल गरिएको हो ।

    भारतीय नेतासँगको भेटपछि नेपालबारे उनीहरुको बुझाइ कस्तो पाउनुभयो ?

    मैले तीनवटा कुरा महसुस गरेको छु । एउटाः भारतमा नेपाल -भारत सम्वन्धलाई लिएर धेरै तथ्यहरु सही ढंगले पुगेको छैन । र, सरकारको पोलिसी जे बन्छ, त्यो नै प्रतिपक्ष, बुद्धिजीवी र पत्रकारले बोलेको देखिन्छ । पहिलो कुरा त, हामीले नेपाल भारत सम्वन्धका सन्दर्भमा कस्तो दृष्टिकोण राख्छौं र जे जति जटिलताहरु देखा परेका छन्, त्यो किन हो भन्ने राम्रो सम्प्रेषण गर्न सकेका रहेनछौं । सबै मानिस त भारतीय शासक वर्ग बनेर कडाइपूर्वक हाम्रा स्वार्थका निम्ति यसो गर्नुपर्छ भनेर तयार भएको मलाई लागेन । सूचनाको धेरै अभाव छ । र, छलफल गरेर हामीले आफ्ना कुरा प्रष्टसँग राख्न नसकेको अनुभूति भयो ।

    दोस्रो, आफ्नो राष्ट्रिय स्वार्थका निम्ति सरकारले राम्रो गरेकै होला भन्ने र सकेसम्म हाम्रो विदेश नीति, राष्ट्रिय स्वार्थमा एकतावद्ध भएर जानुपर्छ भन्ने भाव भारतीयहरुमा जबरजस्त भएको देखेँ ।

    साथै राजनीतिक र जनस्तरमा पनि यस्ता मित्र र शुभेक्षुकहरु छन्, जो नेपाल भारत सम्वन्धलाई असाध्यै महत्व दिन्छन् । र, नेपालमाथि भारतद्धारा हेपाहा व्यवहार भएको र अन्याय भएको पनि महसुसर गर्छन् । र, नेपालको पक्षमा बोल्छन् ।

    तेस्रो, नेपालको उच्चस्तरीय राजनीतिक नेतृत्वले, हामीले हाम्रो देशको राष्ट्रिय सार्वभौमिकता र हितको पक्षमा प्रष्ट-प्रष्ट कुरा गर्नेमा पनि शायद केही कमीकमजोरी भएको हो कि भन्ने अनुभूत गरेको छु ।
    त्यसो गर्दा हाम्रो छिमेकीको हितविरुद्ध नजाने तर, आफ्नो सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र हितको पक्षमा दृढतापूर्वक खुला र प्रष्ट गर्न पनि कमजोरी भएको अनुभूति गरेँ ।

    नेपालले भारतीयहरुसँग आफ्ना कुरा प्रष्टसँग राख्न नसकेको महसुस गरें भन्नुभयो, यसमा कसको कमजोरी छ ? दिल्लीमा रहेको नेपाली दूताबास ? या समस्या अन्तै छ ?

    मुख्य समस्या नेपालको उच्च राजनीतिक नेतृत्वमा देख्छु । मूलभूतरुपमा सरकारले नै भइहाल्यो । तर, समग्रमा नेपालको राजनीतिक दलहरुको उच्च नेतृत्वले सहमतिमा नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र हितको पक्षपोषण गर्ने परराष्ट्र नीति बनाउन नसक्नु एउटा समस्या हो ।

    दोस्रो, जे जति हाम्रा समझदारी हुन्छन्, यसमा पनि स्पष्ट, खुला र दृढतापूर्वक आफ्ना कुरा राख्न नसक्नु राजनीतिक स्तरकै कमजोरी हो भन्ने लाग्छ । यसमा एउटा हीनताग्रन्थीले काम गरेको छ कि हामीले सानो देश, कमजोर देश भएर आफ्ना कुरा राख्यौं भने केही अफ्ठ्यारो भोग्नुपर्छ कि भन्ने ।

    आजको २१ औं शताब्दीमा हामीले आफ्नो राष्ट्रिय सार्वभौमिकता र हितका पक्षमा प्रष्ट कुरा राख्दा हामी अप्ठ्यारोमा पर्छाैं कि भन्ने सही होइन, यो भित्रैदेखि बुझ्नुपर्ने आवश्यक थियो, यसमा कमजोरी भएको छ ।

    हामीले प्रष्ट गर्न सक्नुपर्छ कि तपाईहरु (भारत) र हामी (नेपाल) पनि आफ्नो राष्ट्रिय सार्वभौमिकता र हितको पक्षमा उभिनु हाम्रो राष्ट्रिय कर्तव्य हो । यसो गर्दा तपाईहरुको संवेदनशीलता र जायज सरोकार छन् भने र यो नेपालको राष्ट्रिय सार्वभौमिकता र हित विपरीत छैन भने पूरा गर्न तयार छौं । तयार छौं मात्र होइन, सम्बोधन नै गर्ने भइयो भने हामीलाई केही अप्ठ्यारो पर्दैन, बरु नेपाल-भारत सम्वन्धलाई हाम्रो राष्ट्रिय हितको प्रवर्दन गर्दै दुई देशको सम्वन्ध अघि बढाउन त्यसले मद्दत गर्छ ।

    नेपालबारे भारतीयहरुसँग के-कस्ता भ्रम वा गलत बुझाइहरु रहेछन् ?

    यसमा तीन चारवटा कुराहरु छन् ।

    एउटाः मधेसको वास्तविक हितमा भारतका हाम्रा मित्रहरु कति हुनुहुन्छ, त्यो वेग्लै कुरा हो । तर, मधेसको कुरा उहाँहरु धेरै गर्नुहुन्छ । मधेसलाई धेरै असमान व्यवहार गरियो, अहिलेको संविधानले पनि धेरै भेदभाव गर्‍यो भन्ने परेको जस्तो प्रस्तुत गर्नुहुन्छ । कति वास्तविक परेको हो, कति मधेसको पक्षमा आफूलाई देखाउन गरेको हो यो छुट्टै अध्ययनको विषय हो । तर, उहाँहरुले अतिरञ्जित तरिकाले मधेसमा भेदभाव भएको कुरा गर्नुहुन्छ । जो वास्तविकता होइन ।

    जस्तो मैले नै नागरिकताबारे कुरा गरेपछि उनीहरु आश्चर्यमा परे । हाम्रो एउटा नेपाली महिलाले भारतीयसँग बिहे गरेपछि नागरिकताका लागि ७ वर्ष कुर्नैपर्छ । त्यसपछि पनि नागरिकता पाउने निश्चित छैन । हामीकहाँ नेपाली पुरुषसँग बिहे गरेको त भोलिपल्टै नागरिकता पाइन्छ ।

    एउटा भारतीय महिलाले नेपालको नागरिकसँग बिहे गर्‍यो भने मैले भारतीय नागरिकता परित्यागको प्रक्रिया चलाएको छु भनेर निवेदन दिएपछि नेपालको नागरिकता पाइहाल्यो । यति लचिलो छ । अनि नागरिकतामा पनि मधेसीलाई समस्यामा पर्‍यो भन्नुहुन्छ भने कहीँ मिल्ने कुरै छैन ।

    भेटका क्रममा कतिपयले राष्ट्रपति, प्रधानमन्त्री हुन पाइँदैन नि भने । तर, मधेसीलाई कहाँ नपाइने भनेको छ ? अंगीकृत नागरिकले पो हो त ।

    त्यस्तै गरेर अरु पनि, समानुपातिक समावेशी अधिकार सबैलाई समान दिएको छ । तर, भारतीयहरुचाँहि मधेसीलाई त्यसमा पनि भेदभाव गरेको छ भन्छन् । त्यसैले जे प्रचार भएको छ, र जे उहाँले आफूलाई परेको जस्तो गरेर प्रस्तुत गर्नुहुन्छ, त्यो गलत छ ।

    उहाँहरुले थप गर्ने कुरा, सीमांकनको हो । मैले भनें कि मधेस मात्रै एउटा यस्तो प्रदेश हो, जुन निश्चित समुदायलाई सम्बोधन गर्न बनाइएको हो । जहाँ मधेसी समुदायको दुई तिहाई बढी बहुमत प्रष्ट छ । अरु कसैले त्यस्तो प्रदेश नै पाएका छैनन् ।

    दोस्रो, भारतीय नेताहरु नेपालमा चीनको प्रभाव बढेको, चीनतिर ढल्किएको भन्ने कुरा गर्नुहुन्छ । कतिपयले ‘यसो पनि भन्छन् नि’ भनेर त कतिले ‘यस्तो होइन र’ भनेर आफ्नो विचार राखे । मैले प्रष्ट भनेको छु कि नेपाल चीन र भारत दुबैसँग राम्रो, असल र मैत्रिपूर्ण सम्वन्ध राख्न चाहन्छ । यसमा हामी कहीँ कतै विचलनमा छौं कि भन्ने शंका गर्नुपर्दैन । हामीले कुनै एउटा देशसँग मात्र सम्वन्ध राख्ने वा एउटा विकल्प अर्को सोच्यौं भने वा कुनै कार्ड खेल्ने सोच्यौं भने त्यो हाम्रै लागि घातक छ र धेरै हानीकारक हुन्छ भन्नेमा हामी प्रष्ट छौं । त्यसैले हामी दुबै देशसँग राम्रो सम्वन्ध राख्न चाहन्छौं ।

    तर, चीनसँग मित्रता भयो भने वा कुनै सम्झौता भयो भने त्यो भारतविरुद्ध भयो भनेर सोच्ने चिन्तन गलत छ । त्यसले मात्र हामीलाई चीनतिर ढल्किएको देख्छ ।

    जस्तो-पारवहन सम्झौता हामीले चीनसँग पनि गर्‍यौं । यसले भारतलाई घाटा पुग्छ ? भारतको स्वार्थमा घाटा पुग्छ ? पुग्दैन । ओहो चीनसँग पारवहन सम्झौता भनेर तपाईहरुले किन सोच्ने ? हामीले उहाँहरुलाई यो कुरा प्रष्ट भनेका छौं ।

    तेस्रो, भारतीयहरुमा के देखियो भने नेपालमा क्रिष्टियानिटी बढ्यो भन्ने चासो । विशेष गरेर अहिले जो सत्तामा छ, भारतीय जनता पार्टीको अलि बढि सोच आइरहेको छ कि क्रिष्टियानिटी बढाउने काम भयो ।

    तर, यसमा हामीले उहाँहरुलाई भन्यौं कि धर्म निरपेक्षताले क्रिष्टियानिटी बढाउँछ र ? बढाउँदैन । बरु हाम्रो कमजोरी होला, कुनै एउटा धार्मिक समुदायले आर्थिक प्रलोभन वा अरु कुनै प्रलोभनमा विशेष योजना अनुसार धर्म प्रचार अभियान चलाएको छ भने राज्यले निगरानी राख्नुपर्छ, त्यो जुनसुकै धर्मको कारणबाट होस् । धर्म व्यक्तिको स्वतन्त्र इच्छा, निष्ठाको कुरा बन्नुपर्छ ।

    यी विषयहरुमा उहाँहरुको चासो र बुझाइ पाइयो । तर, मुख्य कुरा, जो उहाँहरुले खुलारुपमा भन्नुहुन्न, नेपालमा ऐतिहासिक-राजनीतिक घटनाक्रम जो अगाडि बढ्छ, भारतको भूमिका त्यहाँ हुनुपर्छ, भन्ने उहाँहरुको अन्तर्यमा छ ।

    भारतीयहरुमा यस्तो सोचाइ अझै बाँकी नै रहेछ ?

    ००७ सालमा पनि हामीले गरेको हो । ०४७ मा पनि गरेको हो । ०६२/६३ मा पनि हाम्रै हो । र, अब जसरी राजनीतिक घटनाक्रम अगाडि बढ्छ, त्यसमा हाम्रो निर्णायात्मक भूमिका हुनुपर्छ भन्ने कुरा नै भारतको रुलिङ क्लासमा छ । भारतीय शासकको यो अवधारणाद्वारा भारतीय समाज पनि प्रभावित छ ।

    तर, आज जनता, जसले धेरै कुरा बुझेका छैनन् र बुद्धीजीवीहरुले पनि धेरै चासो राखिरहेका छैनन् । यो प्रचारबाट प्रभावित छन् । यसमा प्रष्टरुपमा छलफल गर्ने, कुसल कूटनीतिद्वारा प्रष्ट पार्ने र सही ठाउँमा ल्याउने प्रयत्न गर्‍यो भने असम्भव छैन । किनभने नेपाल भारतको सम्वन्धको विकल्प अझ राम्रो नेपाल भारत सम्वन्ध नै हो भनेर हामीले अझ प्रष्ट गर्न सक्नुपर्छ । नेपाल भारत सम्वन्धको विकल्प नेपाल चीन वा अरु कुनै देशको सम्वन्ध होइन ।

    चीनसँग पनि हामीले असल मैत्री सम्वन्ध कायम गर्नुपर्छ । चीनसँग मैत्रीसम्वन्ध कायम नगर, भारतसँग मात्र होस् भन्ने कसैको चाहना छ भने त्यो पूरा गर्न मिल्दैन र सकिन्न पनि । अहिलेको विश्वमा त्यो हुनै सक्दैन ।

    चीन र भारतकै बीचमा थुप्रै विवादहरु छन् तर, दैनिक सम्वादमा बसिरहेका छन् र त्यत्रो आर्थिक अन्तरक्रियामा छन् भने हामीले पनि चीनसँग सम्वन्ध त राम्रो राख्नैपर्छ । तर, चीनसँगको सम्वन्धको आफ्नै पक्ष छ भने भारतसँगको सम्वन्धको पनि आफ्नै पक्ष छ । एउटालाई अर्कोको निम्ति प्रतिस्थापन गर्ने शक्ति हुन सक्दैन भन्ने हामीले राम्रोसँग बुझाउन सक्नुपर्छ ।

    भारतसँग त हाम्रो खुला सीमा छ । सामाजिक, सांस्कृतिक पक्षको सम्वन्ध, आर्थिक सम्वन्ध पनि छ । भौगोलद्वारा निर्दिष्ट पक्ष छन् । यो सबैको परिप्रेक्ष्यमा नेपाल-भारत सम्वन्ध असल बनाउनु मात्रै हाम्रो विकल्प हो । त्यो कसरी हुन्छ भनेर बहस चलाउन सक्नुपर्छ ।

    तर, संविधान जारी गर्ने क्रममा पनि भारतले आफ्नो भूमिका खोज्यो । यसलाई प्रमुख दलहरु मिलेर अस्वीकार गर्दा नाकाबन्दीसम्म भोग्नुपर्‍यो । अहिले त्यो नाकाबन्दीसम्मको कदम भारतकै हितमा रहेनछ भन्ने उनीहरुको समीक्षा हुँदाहुँदै पनि अझै हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नै अझै चाहेका रहेछन् कि ? जस्तो संविधान संशोधनमा पनि भारतले चासो राखिराखेको देखिन्छ नि ?

    मैले के भनेको छु भने हाम्रो यो स्थिति छ, के गरौं होला भनेर छलफल गरिनँ । मैले नेपाल-भारत सम्वन्धका समस्या कहाँ छन् र त्यसलाई समाधान गर्दै दुई देशको सम्वन्धलाई अझ राम्रो, नयाँ उचाइमा कसरी पुर्‍याउन सकिन्छ भनेर आधार प्रस्तुत गरेँ ।

    त्यही क्रममा जस्तो कि भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालको सुक्ष्म व्यवस्थापनमा रुची राखेका कारणले नै नेपाल भारत सम्वन्धमा मुलभूत रुपमा समस्या उत्पन्न भएको हो भनें । एउटा सार्वभौमसत्ता सम्पन्न देश नेपाल र त्यसका सार्वभौम जनताले जे निर्णय गर्छ, त्यसको हामीले सम्मान गर्नुपर्छ भन्ने दिशामा भारत जानसाथ नेपाल भारत सम्वन्धमा राम्रो आयाम थपिन्छ र, नयाँ उचाईमा जान सक्छ भनेर भनेको छु ।

    त्यसक्रममा मैले हामीले संविधान घोषणा गर्ने क्रममा जुन दबाव खप्नुपर्‍यो, त्यसलाई झेलेर संविधान जारी गर्दा नाकाबन्दीसम्म भोग्नुपर्‍यो । त्यसलाई पनि झेल्दै अगाडि बढिरहेका छौं र अब त्यस्तो स्थिति आउँदैन भनेर हामी सोच्छौं र हाम्रो प्लान तीनबुँदे छ भनेको छु ।

    एउटा, हामीसँग अब समय छैन । स्थानीय चुनाव घोषणा गरे जान्छौं । दोस्रो, संविधान संशोधन प्रक्रिया, मधेस केन्द्रीय पार्टीहरुलाई पनि सम्बोधन गरेर सबैलाई साथमा लिएर चुनावमा लैजाने उद्देश्यले ल्याइएको हो, त्यसलाई पनि हामी निष्कर्षमा पुर्‍याउन प्रयत्न गर्छौं ।

    र, तेस्रोः हामी त्यसपछि चुनाव गर्छौं । यो कुरा हो हाम्रो भनेको छु ।

    यहाँ तपाईहरु यसो नगर्नुस् भन्ने काम कसैले गर्नुभएन । तर, छलफलका क्रममा विभिन्न प्रस्तुतिले के अर्थ होला भनेर बुझ्न नसकिने त होइन । धेरैले यो गर्नुस्, चुनाव भएन भने अब खतम हुन्छ नै भने । ‘गुडलक’ भन्ने शब्द नै प्रयोग गर्नुभो । कतिपय छलफलहरुमा चाहिँ आन्तरिम मामिलामा हस्तक्षेप, सुक्ष्म व्यवस्थापन रोकिनुपर्‍यो, त्यसो भएपछि मात्र नेपाल भारत सम्वन्ध राम्रो हुन्छ भन्दा वा

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org