ताजा खबर

समाचार

  • ‘कला साहित्य उत्सव समाज र बौद्धिक अभ्यासमा रुचि राख्ने सबैका लागि हो’

    news

    युवा लेखक तथा टिप्पणीकार उज्ज्वल प्रसाईं नेपाली साहित्य र कलाका क्षेत्रमा अहोरात्र जुटिरहने नाम हो । अंग्रेजी साहित्यका विद्यार्थी प्रसाईंद्वारा अनुदित ‘गणतन्त्रका संघर्ष’ पुस्तक चर्चित छ । ‘रिडर्स झापा’ नामक खुला वैचारिक संस्थाको सक्रिय अध्यक्ष समेत रहेका प्रसाईं औपचारिक साहित्यिक कार्यक्रमहरुमा बाँधिने भूमिकालाई नवीनता प्रदान गर्दै कला र साहित्य क्षेत्रमा नयाँ विचार आउनुपर्छ भन्ने मान्यता राख्छन् । आउँदो फागुनमा यो संस्था, झापाको काँकडभिट्टामा ‘कला साहित्य उत्सव’को आयोजनामा जुटिरहेको छ । उनै प्रसाईंसँग ‘रिडर्स झापा’को कला, साहित्य र राजनीतिको आसपास रहेर सुरञ्जन घिमिरेले गरेको कुराकानी ।

    यही फागुन १२, १३ र १४ मा ‘रिडर्स झापा’ले काँकडभिट्टमा कला साहित्य उत्सव गर्न लाग्दै छ, यसका लागि तयारी कस्तो छ ?
    कला साहित्य उत्सवको तयारी द्रुतगतिमा हुँदै छ । विषय र वक्ताहरुको छनौट गर्दै छौं । आयोजनाका लागि चाहिने आर्थिक सहयोग जुटाउँदै छौं ।

    कति सहभागीहरुले भाग लिने अनुमान गर्नुभएको छ ?
    कला साहित्य उत्सवका विभिन्न चरणमा लगभग पाँच हजार दर्शकहरु सहभागी हुनुहोला भन्ने अनुमान छ । कारण, हामीले साहित्य, सिनेमा, चित्रकारिता, मूर्तिकला र विद्यालयस्तरका कार्यक्रमहरु समेत यसमा समावेश गरेका छौं । छलफल हुने विषयहरु राजनीति, सञ्चार, अर्थतन्त्र र साहित्य समेटेकाले धेरै ठूलो सहभागिता हुनेछ भन्ने अनुमान छ ।

    पुस्तकलगायत विविध वस्तुहरुको बिक्रीबाट कति रकमको कारोबार हुने अनुमान गर्नुभएको छ ?
    हामी संस्थाकै तर्फबाट कुनै वस्तुको बिक्रीवितरण गर्दैनौँ । पुस्तक बिक्रेतालाई ठाउँ बनाइदिन्छौँ, ठाउँ दिएबापत केही न्यूनतम शुल्क लिन्छौँ । त्यति नै हो । हामी आफैँले केही बिक्री गर्दैनौँ ।

    उत्सव अघिपछिको समयमा ‘रिडर्स झापा’ले नयाँ पुस्तामा पठन संस्कृति विकासका लागि के–कस्ता कामहरु गरिरहेको छ ?
    हामी पुस्तक अध्ययन र छलफललाई विशेष प्राथमिकतामा राख्छौं । समय समयमा विषयविज्ञ बोलाएर अन्तत्र्रिmया कार्यक्रमहरु गर्दै छौँ । नयाँ पुस्ताका युवाहरुलाई जोड्ने प्रयत्नमा तल्लीन छौँ । अब विस्तारै नेपाली इतिहास र अर्थतन्त्रजस्ता विषयमा निःशुल्क र खुला कक्षाहरु समेत सञ्चालन गर्न थाल्नेछौं । कला साहित्य उत्सव स्वयंमा पठन संस्कृतिको विकासकै लागि आयोजना गरिएको हो ।

    तपाईं बस्नुहुन्छ काठमाडौं, उता अध्यक्ष हुनुहुन्छ ‘रिडर्स झापा’को, झापामै बसेर अध्यक्ष सम्हाल्न सम्भव थिएन ?
    सही प्रश्न सोध्नुभयो । म काठमान्डु बस्ने भएपछि रिडर्स झापाको अध्यक्ष भइरहन जरुरी छँदै छैन । रिडर्स झापा सुरु गर्दा, म र केही साथीहरुले नै यस्तो संस्थाको अवधारणा अघि सारेकाले औपचारिक रुपमा दर्ता गर्ने बेला साथीहरुले मलाई नै अध्यक्ष राख्नुभएछ । उसबेला मैले ठीकै माने । कारण, यो औपचारिक पदले हाम्रो काममा खासै अर्थ राख्दैन । त्यहाँ सबै पदाधिकारीहरु वा गैरपदाधिकारीहरु उत्तिकै सक्रियतापूर्वक काम गर्छौं । यो अध्यक्ष पद केवल औपचारिकताका लागि मात्रै हो, त्यसैले यो वा त्यो अध्यक्ष वा उपाध्यक्ष हुनुपर्छ भन्ने बहसमा नफसौं भन्ने नै सल्लाह भएकाले अहिलेसम्म त्यो औपचारिक पद कायमै रहेको हो । तर, यति औपचारिकता नै पनि अब निरन्तर राखिरहनुपर्ने आवश्यकता छैन । तर, अर्को कुरा पनि छ । म काठमान्डु बसेर पनि रिडर्स झापाका लागि सक्रिय नै छु । उहाँ बसेर काम गर्ने साथीहरुसँग निरन्तर सम्पर्कमा छु र उहाँहरुले सुझाएका काम पनि गरिरहेको छु । फेरि यसको अर्थ यो हैन कि म नै अध्यक्ष पदमा बसिरहनुपर्छ । अब अरु नै साथीले यो औपचारिक पद वहन गर्नुहुनेछ ।

    ‘रिडर्स झापा’ संघीयताको पक्षमा कुरा गर्छ तर यसको अध्यक्ष स्वयंचाहिँ केन्द्रमै बसिरहँदा मौन रुपमा ‘केन्द्र शक्तिवान् नै छ’ भन्ने जस्तो बुझिन्छ नि ?
    रिडर्स झापाले संघीयताको पक्ष वा विपक्षमा आफ्नो औपचारिक मत व्यक्त गरेको छैन । व्यक्तिगत रुपमा म संघीयताको पक्षधर हुँ । संस्थाका अरु साथीहरु पनि हुनुहोला र कोही संघीयता जरुरी छैन भन्ने पनि ठान्नुहोला । हामी सबै खाले मत जाहेर गर्न र तिनमा तार्किक वहस गर्न तयार छौं । रिडर्स झापा लोकतन्त्र र लोकतन्त्रलाई सुदृढ बनाउन बहस जरुरी छ भन्ने कुरामा चाहिँ विश्वास गर्छ । अब काठमान्डु बसेर अध्यक्ष भइरहनु संघीयताको मर्मविपरीत छ भन्ने तपाईंको सवालको जवाफ मैले माथि नै दिइसकेँ । रिडर्स झापाको अध्यक्ष वा उपाध्यक्ष को छ भन्ने मुख्य विषय हैन । तर, औपचारिक पद नै भए पनि उतै सक्रिय साथीहरुले सम्हाल्न उपयुक्त हुन्छ ।

    रिडर्स झापा’ले ‘रिडर्स’ नाम राखेर युवापुस्तामा ‘कट्टर कम्युनिष्ट’ सिद्धान्तको पक्षमा वकालत गरिरहेको गाइँगुइँ सुनिन्छ नि ?

    मैले माथि नै भनिसकें, यो वा ऊमा कट्टर हुने कुनै प्रोजेक्ट चलाएको छैन रिडर्स झापाले । त्यहाँ सक्रिय रहेका सदस्यहरु कांग्रेस, एमालेजस्ता पार्टीमा समेत सक्रिय साथीहरु हुनुहुन्छ । त्यसो त त्यहाँ सक्रिय केही साथीहरु कुनै पार्टीमा पनि आबद्ध हुनुहुन्न । कम्युनिष्टको कुरा छोड्नुस्, कुनै विषयमा पनि कट्टरताको वकालत गर्दैन संस्था रिडर्स झापाले । यो खुला बहस गर्ने ठाउँ हो । फरक मत राख्न पाउने व्यवस्थाको वकालत गर्ने र सूचना र तथ्यका आधारमा तार्किक बहस गरौं भन्ने हाम्रो उद्देश्य हो । हाम्रो मुख्य नारा नै ‘गतिशीलताका लागि निरन्तर अध्ययन’ हो । गतिशीलता र कट्टरता दुई विपरीत अवधारणा हुन् । हामी कट्टर हैन, खुला र गतिशील हुन चाहन्छौं ।

    रिडर्स झापा’ कुनै खास राजनीतिक घटकसँग नजिक छ भन्ने सुनिन्छ । एउटा ‘साहित्य र कला’ क्षेत्रका स्रष्टा र सर्जकहरु भेला हुने कार्यक्रममा राजनीतिलाई उच्च स्थानमा राखेर तर्क गर्नु अलिक असान्दर्भिक भएन र ?
    तपाईंको यो प्रश्नको उत्तर पनि माथि दिइसकियो । साहित्य कुनै राजनीति, अर्थतन्त्र वा द्वन्द्व नभएको अलग्ग टापुमा गरिने उद्यम हो भने हामीले साहित्यिक उत्सवमा गरिरहेका काम गलत हुन् । तर, साहित्य समाजमै लेखिन्छ र मानिसहरुले नै लेखिरहेका छन् भने हामी समाजसँग एकदमै नजिक छौं र मान्छेका सुख दुःखकै कुरा गरिरहेका छौं । कुनै खास राजनीतिक घटकसँग नजिक भन्ने सवाल नै गलत छ । यहाँ सबैखाले राजनीतिक विचार राख्ने व्यक्तित्व आएर छलफल गरेका छन् र हामी खुला छौं । हो, बोल्न, लेख्न, फरक मत राख्न र बहस गर्न पाउने व्यवस्थाको भने वकालत गर्छौं । त्यसो गर्दा कसैले कुनै राजनीतिक घटकसँग नजिक देख्छ र त्यसरी व्याख्या गर्छ भने हामीलाई आपत्ति हुँदैन ।

    के ‘रिडर्स झापा’ पनि विचार र दर्शनको नारा लगाएर यही गर्न खोजिरहेको हो ?
    तपाईंका सबै प्रश्न खास गरी एउटै हुन् । तथापि यति भनौं, यो स्वतन्त्र र खुला बहस गर्ने थलो हो । कुनै खास वाद वा त्यो वाद मान्ने पार्टीको मौजा हैन ।

    रिडर्स झापा’ले सिर्जनशीलतालाई भन्दा पनि सिद्धान्तलाई ज्यादा ध्यान दिएको पाइन्छ । जब कि राम्रोसँग देश नबुझेका नयाँ पुस्ताका अगाडि विदेशी सिद्धान्तका कुराहरु गरिरहँदा उनीहरुमा मौलिक सैद्धान्तिक ज्ञानको अभाव रहने देखिन्छ नि ?
    हामीले केही समय नेपाली समाजको व्यवस्थित अध्ययन गरौं भनेर एउटा कोर्स बनायौं । नेपालको इतिहास, अर्थतन्त्र, राष्ट्रियता, नेपालमा अभ्यास गर्न खोजिएको समावेशीता, दलितको सवाल, नेपाली महिला र जनजातिका सवालमा लेखिएका खोजमूलक र उच्चस्तरीय समाजशास्त्रीय आलेखहरु समेटेर कोर्स बनायौं । र, विस्तारै यी सबै विषयमा पालै पालो प्रस्तुती गर्यौं र खुला छलफल गर्यौं । यी सिद्धान्त र व्यवहारका अध्ययन थिए । यो प्राज्ञिक कर्म थियो । त्यसैले जे गरिरहेका छौं, त्यो सर्वथा सही र उपयोगी काम गरिरहेका छौं भन्नेमा हामी ढुक्क छौं ।

    यो उत्सवमा चित्रकला र मूर्तिकला प्रदर्शनीमा कहाँ–कहाँका चित्रकार र मूर्तिकार सहभागी हुनुहुनेछ ?
    चित्रकार र मूर्तिकारहरु प्राय सबै स्थानीय नै हुनुहुन्छ । केही दार्जिलिङबाट समेत आउनुहुनेछ । विद्यार्थीहरुलाई प्रशिक्षण दिने चित्रकारहरु भने काठमाडौं विश्वविद्यालयमा अध्ययनरत कलाकारहरु हुनुहुन्छ ।

    ‘रिडर्स झापा’ले बुक बस पनि सञ्चालनमा ल्याएको छ । यसले कुन–कुन विधाका कस्ता–कस्ता पुस्तकहरु झापाका कुन–कुन स्थानबाट पाठकसमक्ष पु¥याइरहेको छ ?
    बुक बस झापा जिल्लाका विभिन्न क्षेत्रका गरेर २० वटा विद्यालयहरुमा पुग्नेछ । सामुदायिक र निजी दुवै विद्यालयहरुमा यो बस पुग्नेछ । बसमा कथा, कविता, उपन्यास, बालबालिकालाई रुचि हुने खालका सामग्री, चित्र किताब सबैखाले पुस्तकहरु छन् ।

    ‘रिडर्स झापा’को स्थापनापछि झापामा साहित्यिक बहस र विमर्शहरुमा बढोत्तरी आएको पाइन्छ । यो ‘रिडर्स झापा’कै प्रभाव हो त ?
    रिडर्स झापाको स्थापनापछि बहस, छलफल, अन्तत्र्रिmया बढेका हुन् भने हाम्रो प्रयत्नले अरुलाई पनि हौसला दिएको होला भनेर अनुमान गर्न सकिन्छ । पक्कै केही प्रभाव त परेकै होला । हामीले झापामा लम्बेतान आसन ग्रहण नगराई र अर्थहीन झिँझोलाग्दो भाषण पनि नगराई कुराकानीकै शैलीमा प्यानल छलफलहरु चलाएपछि अरुले पनि त्यसो गर्न थालेका छन् । झापामा भर्खरै सम्पन्न स्वास्थ्य महोत्सवमा पनि त्यस्ताखाले छलफलहरु गरिए । हाम्रो समूहका साथीहरुकै संलग्नतामा पनि त्यस्ता काम गरियो । अब लगत्तै बाल महोत्सव हुँदै छ, त्यसका मुख्य कार्यक्रममा समेत यसैको प्रभाव देखिन्छ । त्यसर्थ हामीले गरेका कामका केही प्रभाव पक्कै परेका रहेछन् भन्न सकिन्छ ।

    ‘रिडर्स झापा’को टिम सदस्यहरुले झापाका सम्बन्धित सरकारी निकायबाट के कस्तो साथ र सहयोग पाउनुभएको छ ?
    हामीलाई कला साहित्य उत्सवका लागि थुप्रै व्यापारिक, सरकारी, र केही व्यक्तिगत तहमा सहयोगहरु प्राप्त भएको छ । अब केही समयमा सरकारी तवरबाट केही अध्ययन सामाग्रीका लागि पनि सहयोग होला भन्ने अपेक्षा गरेका छौं । प्रयत्न पनि गर्दैछौं । तर, यसअघि कुनै सहयोग बिना नै, संस्थामा संलग्न साथीहरुका व्यक्तिगत खर्चबाट नै सबै अध्ययन सामाग्रीहरु खरिद गर्दै आएका छौं । तर, कसैले अध्ययन सामाग्री जुटाउन निःशर्त सहयोग गर्न चाहान्छ भने, हामी सहयोग लिन भने तत्पर नै छौं ।

    अन्त्यमा, पाठकहरुलाई थप भन्नैपर्ने कुरा केही छन् कि ?
    कला साहित्य उत्सव केवल साहित्यकारका लागि हैन । साहित्य लेख्न चाहानेका लागि मात्रै पनि हैन । यो राजनीति, संस्कृति, कलाकारिताका विभिन्न विधा, अर्थतन्त्र, र सिंगो नेपाली समाज र बौद्धिक अभ्यासमा रुचि राख्ने सबैका लागि आयोजना गरिएको हो । त्यसैले काँकडभिट्टा वरपर रहने सबैले सहभागी भएर अन्तरक्रिया, छलफल गरौं ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org