समाचार

  • स्तन रोगको पहिचान कसरी गर्ने ?

    news

    प्रा डा बेनु लोहनी र डा सुजित कुमार झा (त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज)

    विश्वव्यापि रुपमा स्तन क्यान्सर र महिलामा देखिने सबैभन्दा प्रमुख क्यान्सर हो। हरेक आठ जना मध्ये एक जना महिलालाई आफ्नो जीवनकालमा स्तन क्यान्सरको जोखिम रहन्छ। रोगको बारेमा बढ्दो ज्ञान र रेडियोलोजिको विकसित प्रबिधिले समयमै यससँग सम्बन्धित जोखिम पहिचान गर्न टेवा पुर्‍याएको छ।

    स्तन वा काखिमा गाँठो छामिनु सबैभन्दा बढी देखिने क्यान्सरको लक्षण हो। तर सबै गाँठा क्यान्सर हुदैनन्, तर क्यान्सर छुट्याउनु चाहिँ जरुरी हुन्छ। महिनावारी सँगै गाँठो सानो-ठूलो नहुनु, धेरै नदुख्नु, गाँठो स्तन भन्दा बढि कडा हुनु, बाहिर छाला वा भित्र मासु सँग जोडिएको जस्तो महसुस हुनु, स्तनको आकार बिग्रीनु, स्तनको छालामा डिम्पल वा खाल्डाखुल्डी पर्नु, रातो हुनु, धेरै चिलाउनु, स्तनको मुन्टोको आकार बिग्रीनु, चिरा पर्नु वा रगत आउनुले स्तन क्यान्सर तर्फ संकेत गर्दछ।

    अल्ट्रासाउन्ड र बायोप्सी जाँचबाट स्तनको गाँठो कस्तो अवस्थामा रहेको र कस्तो उपचार प्रयोग गर्ने भन्ने निर्णय गरिन्छ। उपचार सामान्यतया क्यान्सर कुन अवस्थामा छ भन्ने कुराको पहिचानमा भर पर्दछ।

    बोसो लगायत कोषिकाद्वारा निर्मित हुने यो अङ्ग स्त्री र पुरुष दुबैमा हुन्छ, तर हर्मोनको बदलाव सँगै स्त्री मा बढी विकसित हुने गर्दछ। महिलाको मातृत्वसँग जोडिएको यो अङ्गले मुलत: नवजातका लाई दूध बनाउने कार्य गर्दछ। कुनै कारणबस, स्तनका कोषिकाहरु आवस्यकता भन्दा बढी विकास हुन थाले भने क्यानसरको जोखिम हुन सक्दछ।

    आफूलाई क्यान्सरसँग सम्बन्धित कुनै लक्षण देखिएमा वा चिकित्सकलाई शंका लागेमा विभिन्न जाँचहरु गरेर स्तन क्यान्सरको पहिचान गर्न सकिन्छ। ४५ वर्षदेखि ५४ वर्ष सम्मका महिलाले क्यानसरको कुनै लक्षण वा शंका नलागेतापनि हरेक वर्ष म्यामोग्राम गराउन अमेरिकन क्यानसर समाजले सल्लाह दिएको छ। ४० देखि ४४ वर्षको हकमा महिलाले इच्छाएको खण्डमा हरेक वर्ष तथा ५५ वर्ष भन्दा माथिका महिलाले दुई वर्षमा एक पटक म्यामोग्राम गर्ने सल्लाह दिने गरिन्छ।

    आफ्नो स्तनको आफैले गर्ने जाँचका ५ विधिहरु:

    सेल्फ ब्रेस्ट इक्जाम अर्थात् आफैले गर्ने स्तनको जाँचमा महिलाले आफ्नो स्तनका हरेक भागलाई पालैपालो छामेर जाँच गर्ने गरिन्छ। हरेक महिना यस्तो जाँच आफै गर्ने तथा कुनै शंका लागेमा चिकित्सकको परामर्श लिने गर्नुपर्दछ।

    पहिलो: ऐना अगाडि कपडा फुकालेर आफ्नो स्तन हेर्ने र कुनै अस्वभाविक आकार, रंग, डिम्पल, स्तनको मुन्टोको आकार के छ भनेर हेर्ने।

    दोस्रो: अब आफ्नो दुबै हात माथी उचालेर आफ्नो स्तन र काखिलाइ नियाल्ने।

    तेस्रो: हात माथी उचालेको बेला स्तनको मुन्टोबाट कुनै पानी, दूध वा रगत आएको नियाल्ने।

    चौथो: खाटमा पल्टिएर आफ्नो स्तनलाई अर्को पट्टिको हातले नरम र गोलाकार रुपमा हरेक भाग लाई छाम्ने। त्यस्तै काखिलाई पनि छाम्ने।यसरी छाम्दा स्तनको कुनै भाग पनि नछुट्ने गरि छम्ने।

    पाचौ: उभिएर वा बसेर चौथो विधि अनुसार स्तनलाई चारैतिर छाम्ने। नुहाउने बेला समेत यो गर्न मिल्छ।

    स्तन क्यान्सर सँगको लडाइमा हामी सबै सचेत र सहभागी हुनु पर्दछ। समयमै पत्ता लगाउन सके यसको उपचार सहज छ। पारिवारिक सहयोग, स्तन क्यान्सरप्रतिको ज्ञान, सचेतना र जागरण तथा सरकारी स्तर बाट यसको जाँच र उपचार प्रति लिइने विभिन्न नीतिले पनि अवश्य यसको उपचारमा टेवा पुर्‍याउन सक्दछ। ठोस कुनै अनुसन्धान नभएकाले समाजमा यो रोग पाश्चिमी मुलुक सरह भयावह हुन सक्ने कुरा नकार्न सकिन्न। सामजिक रुपमा खुला छलफल गर्ने तथा समस्यालाई च्यापेर बस्नुभन्दा चिकित्सकिय परामर्शमा लाग्ने तथा लक्षण नहुँदा समेत सम्भावित जोखिम पहिचानका लागि जाँच गर्न अग्रसर हुनुपर्दछ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org