समाचार

  • स्थानीय चुनावको मतपत्र कस्तो हुन्छ ? निर्वाचन आयोगले गर्‍यो निर्णय

    news

    ३ चैत, काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय चुनावमा प्रयोग गरिने मतपत्र टुंगो लगाएको छ । आगामी शनिबारदेखि छपाई सुरु गर्ने योजना छ ।

    आयोग स्रोतका अनुसार मतपत्र सेतो कागजमा रातो पि्रन्ट हुने डिजाइन फाइनल भएको छ ।

    स्थानीय चुनावमा ६ प्रकारको मतपत्र हुनेछ । जिल्लाहरुमा दर्ता भएका दल र सम्भावित स्वतन्त्र उम्मेदवारको संख्या आंकलन गरेर मतपत्रको डिजाइन बनाइएको छ ।

    विगतमा उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित भएपछि मात्र मतपत्र छपाईको काम हुन्थ्यो । तर, यो पटक समय कम भएको भन्दै उम्मेदवारी दर्ता प्रक्रिया नै सुरु नभई मतपत्र छपाई थाल्ने निर्णय भएको छ ।

    आयोग स्रोत भन्छ, ‘जस्तो मनाङमा ७ वटा दल दर्ता भएको छ । त्यहाँ ४/५ स्वतन्त्र उम्मेदवार हुनसक्छ भन्ने अनुमानका आधारमा मतपत्र बनाइएको छ ।’

    कस्तो हुनेछ मत पत्र ?

    आयोगको निर्णय अनुसार मेयर र उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका साथै वडा अध्यक्ष र सदस्यहरु छनोटका लागि एउटै मत पत्र हुनेछ ।

    मतपत्रमा सात वटा ठाडो लाइन तानिएको हुनेछ । जसको तर्सो लाइनमा क्रमशः मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र अन्य (दुई सदस्य) लेखिएको हुनेछ भने ठाडो लाइनमा दलहरुको चुनाव चिन्ह हुने निर्वाचन आयोग स्रोतले जनाएको छ ।

    पछिल्लो संविधानसभा चुनावको समानुपातिकतर्फ पाएको मतका आधारमा क्रमसंख्या निर्धारण गरिएको छ । पहिलो नम्बरमा कांग्रेसको चुनाव चिन्ह रुख छ भने दोस्रोमा एमालेको सूर्य र तेस्रोमा माओवादीको हरिया गोलाकारभित्र हथौडा छ ।

    यसरी ३० दलको चुनाव चिन्ह हुनेछ । यसपछि आयोगमा दर्ता भएका आधारमा नयाँ दलहरुको क्रमसंख्या निर्धारण गरिएको छ र, त्यस अनुसार नै चुनाव चिन्ह हुनेछ ।

    स्वतन्त्र उम्मेदवारहरु पुछारमा हुनेछन् । स्वतन्त्र उम्मेदवारका लागि आयोगले अहिले निश्चित चुनाव चिन्ह छाप्नेछ, जुन फरक फरक ठाउँमा फरक फरक उम्मेदवारहरुलाई दिइनेछ । पहिला उम्मेदवारी दिनेलाई स्वतन्त्रतर्फको पहिलो चुनाव चिन्ह दिने निर्वाचन आयोगको निर्णय छ ।

    निर्वाचन आयोगले मतपत्र छपाईको जिम्मा जनक शिक्षा समाग्री केन्द्रलाई दिइसकेको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org