समाचार

  • एसइई परीक्षामा चिटको थुप्रो, प्रजिअ भन्छन् - फोटो नखिचिदिनुस्

    news

    सप्तरी, चैत ३ – बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तरगत सप्तरी जिल्लाका परीक्षा केन्द्रहरुमा साना चिट, गाइड र गेसपेपरको थुप्रो लागेको छ । 

    प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको नेतृत्वमा बिहान सदरमुकामका चार परीक्षा केन्द्रमा अनुगमन हुँदा परीक्षा कोठाबाट विद्यार्थीले धमाधम गाइड र गेसपेपर निकाल्न थाले । राजविराजमै कस्तो परीक्षा भइरहेको छ भन्ने विषयमा प्रजिअ कटुवाल नेतृत्वको टोली परीक्षा केन्द्र पुग्दा केन्द्रबाहिर मेला लागेको थियो । उहाँले परीक्षा केन्द्रभित्र फेला परेका गाइड र गेस पेपरको फोटो नखिच्न संचारकर्मीलाई आग्रह गर्नुभयो ।

    स्थानिय केअ मावि, पबिमावि, राजदेवी मावि र मोडेल क्याम्पस परीक्षा केन्द्रमा अनुगमनका क्रममा जब टोली परीक्षा कोठामा पुग्यो अनि सुरु भयो गाइड, गेसपेपर र चिटको फालाफाल । 

    प्रजिअ कटुवाल, जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डे, एसपी अनुराग द्धिवेदी लगायतको टोलीले गेस पेपर गाइड निकाल्न विद्यार्थीलाई भन्ने बितिकै गाइड गेस पेपर फालाफाल हुन थालेको हो । दुईतर्फी लगाइएको बेन्चको बिचमा गाइड र गेस पेपरको थान्को लाग्न थाल्यो । प्रहरीले सबै गाइृड र गेस पेपर बाहिर निकालेर परीक्षा केन्द्र बाहिर ल्याइर जलाए । 

    केही वर्षअघि एसएलसी परीक्षामा चिट चोर्ने चोराउनेका लागि सप्तरी नाम चलेको थियो । न्याय नपाए गोर्खा जानु एसएसली पास गर्न असजिलो भए सप्तरी जानु भन्ने उखान नै यता प्रचलित भइसकेको थियो । विद्यार्थी पास गराउन ठेकेदारी प्रथा कायम भएको थियो । तर अघिल्ला केही वर्षमा सुधारत्मक कार्य समेत भएका थिए । 

    यसवर्षको एसइई परीक्षा कोठा भित्र गाइड र गेस पेपरको थान्कोले परीक्षा प्रणाली सप्तरी जिल्लामा फेरि सधारनुपर्ने आवश्यकता देखिएको छ । तर जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले परीक्षा मर्यादित भइरहेको दाबी गर्नुभएको छ । उहाँले गएका वर्षमा जस्तो बोराका बोरा गाइड र गेस पेपर नभई कम संख्यामा गाइड गेस पेपर परीक्षार्थीसित फेला परेको बताउनुभयो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org