समाचार

  • काँकड्भिट्टाले जित्यो इटहरी गोल्डकप, नगेन लिम्बु सर्वोत्कृष्ट खेलाडी

    news

    इटहरी, चैत ३ – एघारौँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधी काँकड्भिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाले जितेको छ । सशस्त्र प्रहरी बल पूर्वाञ्चललाई १–० गोल अन्तरले हराएर काँकड्भिट्टाले उपाधी जितेको हो ।

    काँकड्भिट्टालाई उपाधी दिलाउन पिटरले गोल गरे । ८० मिनेटमा छोट्याइएको  खेलको ४४ औँ मिनेटमा नगेन लिम्बुलाई फल गरेपछि पाएको फ्रि किकमा नगेन लिम्बुको क्रसमा पिटरले गरेको प्रहार सशस्त्रका गोल किपर दिलकुमार लिम्बुले बचाउने कुनै मौका पाएनन् । पिटरको एक गोल नै खेलमा निर्णायक बन्यो ।

    अधिकांश झापा ११ बाट खेल्ने खेलाडी लिएर मैदानमा उत्रिएको काँकड्भिट्टाले सुरुदेखि नै आक्रमण गर्यो । १८ औँ मिनेटमा श्यामसुनले डि बक्स भित्रबाट गरेको प्रहार पोष्ट भन्दा केही बाहिर गयो । २८ औँ मिनेटमा पिटरले गरेको प्रहारले पनि पोष्टको बाटो लिन सकेन । सशस्त्रका लागि भने खेलको सातौँ मिनेटमा रुपक लामाले गरेको प्रहार पोष्ट भन्दा थोरै माथिबाट गयो । 

    रामकुमार कुमालले गरेको प्रहार पनि गोलमा परिणत हुन सकेन । दोस्रो हाफमा पुनः काँकड्भिट्टा आक्रमक रुपमा प्रस्तुत भयो । काँकड्भिट्टाका लागि बुद्ध चेम्जोङले ५६ औँ मिनेटमा वान भर्सेज वानमा पाएको अवसर खेर फाले । ७८ औँ मिनेटमा पिटरले सुन्दर अवसर पाएका थिए । डि बक्सभित्र नगेन लिम्बुले मिलाएको अवसरमा उनको प्रहार बार माथिबाट बाहिरयो । 

    अघिल्लो संस्करणको उपाधी पनि काँकड्भिट्टाले नै उचालेको थियो । उपाधीसँगै काँकड्भिट्टाले दुई लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता सशस्त्र प्रहरी बल पूर्वाञ्चलले एक लाख रुपैयाँ पाएको छ ।

    खेलको म्यान अफ द म्याच फाइनल खेलका गोलकर्ता पिटर भए । यसैगरि प्रतियोगिताको  सर्वाधिक गोलकर्ता पनि काँकड्भिट्टाकै श्यामसुन भए । उनले प्रतियोगिता भर तीन गोल गरे । यसैगरि सर्वोत्कृष्ट खेलाडी काँकड्भिट्टाका नगेन लिम्बु भए । उनले ३२ इन्चको टेलिभिजन प्राप्त गरे । इटहरीका उदयमान खेलाडी भने विमल मगर भए । उनलाई २१ इन्चको टेलिभिजन प्रदान गरिएको छ । राष्ट्रिय जागृती क्लबको आयोजनामा भएको प्रतियोगितामा एक विदेशीसहित ८ टिमको सहभागिता रहेको थियो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org