ताजा खबर

समाचार

  • फिलिपिन्सबिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा, कर्णको पुनरागमन

    news

    ४ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसिया कप २०१९ को छनौट प्रतियोगिता अन्तर्गत फिलिपिन्सबिरुद्धको आसन्न खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।

    टोलीका प्रमुख प्रशिक्षक ग्योतुकी कोजीले बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्येबाट २० खेलाडी सम्मिलित नेपाली टोलीको घोषणा गरेका हुन् ।

    नेपाली टोलीमा ३ गोलरक्षक, ७ डिफेण्डर, ६ मिडफिल्डर र ४ स्ट्राइकर समावेश गरिएको छ । दोस्रो छनौटपछि अन्तिम २७ मा परेका खेलाडीमध्येबाट देभेन्द्र तामाङ र सुमन लामा चोटका कारण बाहिरिएका छन् भने एलन न्यौपाने, अनिल गुरुङ, राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत टिममा स्थान बनाउन असफल रहे ।

    त्यस्तै घरेलु नकआउट फुटबलका स्टार स्ट्राइकर कर्ण लिम्बु ३ बर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । सन् २०१४ मा यमनबिरुद्धको खेलपछि उनी राष्ट्रिय टोलीमा अटाएका थिएनन् । नेपालको राष्ट्रिय टिमबाट उनले एकमात्र खेल खेलेका छन् ।

    सुपरस्टार नवयुग श्रेष्ठ चोटका कारण खेल्न नसक्ने भएपछि प्रशिक्षक कोजुले कर्णलाई टिममा समावेश गरेका हुन् ।

    एसियन कपको छनौट अन्तर्गतको पहिलो खेलमा नेपालले आगामी चैत १५ गते फिलिपिन्ससँग मनिलामा प्रतिस्पर्धा गर्दैछ ।

    घोषित नेपाली टोलीका सदस्यहरुमा

    गोलरक्षकः बिकेश कुथु, किरण लिम्बु र बिशाल श्रेष्ठ
    डिफेण्डरः रविन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रञ्जित धिमाल र जितेन्द्र कार्की
    मिडफिल्डरः रोहित चन्द, बिशाल राई, हेमन गुरुङ, बिक्रम लामा, अञ्जन विष्ट र सुजल श्रेष्ठ
    स्ट्राइकरः बिमल घर्तीमगर, रञ्जन विष्ट, भरत खवास र कर्ण लिम्बु

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org