ताजा खबर

समाचार

  • औषधि बिक्रीमा हुने कमिसन रोक्न नयाँ नियम

    news

    काठमाडौँ- सरकारले औषधिको बिक्री वितरणमा भइरहेको विकृति रोक्न ‘औषधि बिक्री प्रवद्र्धन संहिता’ ल्याउन लागेको छ। औषधि व्यवस्था विभागले संहिताको अन्तिम मस्यौदा तयार पारिसकेको छ।

    औषधि उत्पादक कम्पनी, आयातकर्ता तथा थोक विक्रेताले डाक्टर, औषधि पसले तथा स्वास्थ्यकर्मीलाई आफ्ना उत्पादनको बिक्री बढाउने नाममा आर्थिक वा भौतिक उपहार तथा लाभांश (बोनस तथा डिल) दिने, विदेश भ्रमण गराउनेजस्ता क्रियाकलाप गर्दै आएको भन्दै विभागले त्यसलाई रोक्न ‘औषधि विक्री प्रवद्र्धन संहिता २०७३’ ल्याउन लागेको हो।

    औषधि व्यवसायमा चलेको डिल, बोनस तथा असामान्य छुटलाई तत्काल कानुन बनाई नियन्त्रण गर्न र डिल–बोनस लिने तथा दुवैलाई सजायको व्यवस्था गर्न स्वास्थ्य मन्त्री गगन थापाले निर्देशनसमेत दिइसकेका छन्। मन्त्रीको निर्देशन लगत्तै विभागले संहिताको मस्यौदामा आवश्यक छलफल चलाइरहेको छ।

    विभागका महानिर्देशक नारायण ढकालले औषधिको बिक्री प्रवद्र्धनमा नैतिक आचरण व्यवहारमा नै स्थापित गर्न र अनैतिक बिक्रीलाई रोक्न नयाँ नियम ल्याउन लागिएको बताए। उनका अनुसार यो नियम कार्यान्वयनमा आएपछि औषधिको प्रेस्किप्सन, बिक्री, विज्ञापन, प्रायोजन लगायतका विषय कानुनी दायरामा आई औषधि बजार व्यवस्थित बन्नेछ।

    विभागले तयार पारेको संहिता अनुसार नेपालमा बिक्री वितरण हुने सबै प्रणालीका सम्पूर्ण औषधि र औषधिका रुपमा प्रवद्र्धन गरिने प्रविधिजन्य सबै स्वास्थ्यवद्र्धक तथा स्वास्थ्योपयोगी सामाग्रीहरुले डाक्टर, स्वास्थ्यकर्मी, सेवा प्रदायक, बिक्रेतालाई आर्थिक तथा भौतिक उपहार, भ्रमण खर्च दिन पाउने छैनन्। यसका साथै डाक्टर, स्वास्थ्यकर्मी र बिक्रेताले पनि यस्ता कुराहरु स्वीकार गर्नु नुहने संहितामा उल्लेख छ।

    संहिता विपरित कसैले कार्य गरेमा विभागले औषधि ऐन अनुसार उपहार तथा कमिसन दिने संस्था, सञ्चालक तथा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनेछ भने त्यस्ता उपहार र कमिसन लिने डाक्टर तथा स्वास्थ्यकर्मीलाई सम्बन्धित काउन्सिलको नियमअनुसार कारबाही गर्न पत्राचार गर्नेछ। यसका साथै विभागले त्यस्ता कमिसन र उपहारसमेत जफत गर्ने संहितामा उल्लेख छ।

    मनोरञ्जनात्मक गतिविधिमा खर्च गर्न नपाइने 

    संहिताले कुनै पनि उत्पादक कम्पनीलाई डाक्टर तथा स्वास्थ्यकर्मीलाई मनोरञ्जन गराउने, बिदा मनाउने वा समाजिक गतिविधि आयोजना गर्ने खालका कार्यक्रममा खर्च गर्न समेत रोक लगाएको छ। तर, औपचारिक सभा, सम्मेलन र वैज्ञानिक वैठकमा भने डाक्टर तथा स्वास्थ्यकर्मीलाई उद्योगले पठाउन सक्नेछन् । यसरी औपचारिक कार्यक्रममा पठाउँदा उद्योगहरुले चार वटा शर्तको अधिनमा रहेर मात्र डाक्टर तथा स्वास्थ्यकर्मीलाई प्रायोजन गर्न सक्नेछन्। 

    औपचारिक कार्यक्रमका लागि चार शर्त

    १. प्रायोजन केवल भ्रमण, बस्न, खान र दर्ता शुल्कको भुक्तानि गर्नमा मात्र सीमति हुनुपर्छ।

    २. स्वास्थ्यकर्मीको सम्मेलनमा भाग लिन खर्च भएको समयको पारिश्रमिक दिन पाइनेछैन।

    ३. यसरी गरेको प्रायोजन बापत कम्पनीको औषधि सिफारिस गर्ने, प्रवद्र्धन गर्ने या प्रयोगका लागि सिफारिस गर्ने शर्त राख्न पाइनेछैन । साथै सो शर्त नरहेको भनी सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीको कबुलियतनामा अभिलेख राख्नुपर्नेछ।

    ४. यसरी प्रायोजनमा लागेको खर्च एवं यस्ता लाभ लिने व्यक्तिहरुको विवरण उद्योगको वेभसाइटमा सार्वजनिक गरिनुपर्छ।
    परिवारको खर्च व्यहोर्न नपाइने।

    डाक्टर तथा स्वास्थ्यकर्मीका साथ सभा, सम्मेलनमा भाग लिन जाने अन्य व्यक्तिको खर्च कम्पनीले व्यहोर्न नपाइने व्यवस्था पनि संहितामा गरिएको छ । यदि, कोही डाक्टर तथा स्वास्थ्यकर्मीले आफन्त वा आफूसँग कोही व्यक्ति लैजान चाहन्छ भने त्यसको खर्च उनीहरु स्वयंले गर्नुपर्ने हुन्छ। 
    ‘औषधि उद्योग वा आधिकारिक प्रतिनिधिले कुनै डाक्टर वा स्वास्थ्यकर्मीको परिवारको सदस्यको राष्ट्रिय वा अन्तर्राष्ट्रिय भ्रमण सुविधा (जस्तैः हवाइजहाज, रेल, बस, पानीजहाज आदिको टिकट, कुनै आवासीय) उपलब्ध गराउन पाइने छैन’ संहितामा उल्लेख छ।

    निःशुल्क नमूना औषधिको अभिलेख राख्नुपर्ने

    कम्पनीहरुले डाक्टरहरुलाई निःशुल्क नमूना औषधि वितरण गर्दा पनि निश्चित संख्यामा मात्र वितरण गर्नुपर्ने व्यवस्था संहितमा राखिएको छ । यसरी वितरण हुने नमूना औषधिको अभिलेख कम्पनीले अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ । यस्ता नमूना औषधिमा ‘फिजिसियन स्याम्पल’ वा ‘नट फर सेल’ भनेर अनिवार्य रुपमा लेखेको हुनुपर्छ । यस्ता औषधिमा मूल्य लेख्न पाइनेछैन।

    संहिता अनुसार कुनै डाक्टरलाई वा स्वास्थ्यकर्मीलाई निःशुल्क नमूना औषधि उपलब्ध गराउँदा बढीमा तीन बिरामीलाई पुग्ने तोकिएको उपचार पद्दति बमोजिमको मात्रा मात्र वितरण गर्नुपर्ने व्यवस्थाको प्रस्ताव संहितामा छ। 

    ‘निःशुल्क औषधिको नमूनाको प्रत्येक प्याकिङ बजारमा उपलब्ध हुने औषधिभन्दा अलग देखिने र सबैभन्दा सानो प्याकिङभन्दा सानो हुनुपर्नेछ,’ मस्यौदामा लेखिएको छ, ‘यसरी वितरण गरिने औषधिको पारदर्शीताका लागि अभिलेख राख्नुपर्ने हुन्छ।’

    विदेशी उत्पादकले नेपालमा कार्यालय खोल्नुपर्ने

    संहिताको मस्यौदामा नेपालमा आफ्नो उत्पादन बिक्री वितरण गर्ने विदेशी कम्पनीले नेपालमा आफ्नै कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था राखिएको छ । यस्ता कार्यालयहरुले बिक्री प्रवद्र्धन प्रमुखको नाम विभागलाई दिनुपर्ने हुन्छ र प्रमुख परिवर्तन भएमा पनि विभागलाई जानकारी गराउनुपर्ने हुन्छ।

    के–के दिन पाइने?

    संहिताको मस्यौदामा उद्योग वा आधिकारिक प्रतिनिधिले डाक्टर तथा स्वास्थ्यकर्मीलाई नगद, नगदसरह मूल्यवान वस्तु, उपहार, व्यक्तिगत वा पारिवारिक प्रयोगको वस्तहुरु दिन वा दिन्छु भन्दै वाचा गर्न रोक लगाए पनि केही अध्ययन तथा अनुसन्धानका सामाग्री भने दिन छुट पाउने प्रस्ताव गरिएको छ।

    ‘स्वास्थ्य अनुसन्धान र स्वास्थ्य सम्बन्धी अध्ययनका लागि आर्थिक लाभ उपलब्ध गराउनु परेमा सरोकारवाला संस्थाको स्वीकृतिमा मात्र दिन पाइने र यो प्रयोजनका लागि उपलब्ध गराइएको आर्थिक सहयोग वितरण पारदर्शी हुनुपर्नेछ,’ मस्यौदामा उल्लेख छ।

    यसका साथै स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा प्रयोग हुने वस्तुहरु मूल्यवान नभएमा प्रवद्र्धन वा सम्झनाका लागि दिन सकिने, स्वास्थ्य सेवा तथा बिरामीको सेवाका लागि फाइदाजनक हुने भएमा चिकित्सासित सम्बन्धित वस्तु निुःशल्क दिन सकिने व्यवस्थाको प्रस्ताव मस्यौदामा छ

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org