समाचार

  • नेपालमा ऊर्जा मिश्रणको आवश्यकता

    news

     इ. रामराज शर्मा

    राजधानीलगायत मुख्य सहरहरू लोडसेडिङ्ग  मुक्त भए । सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने वाचा फेरि पनि दोहोर्‍यायो । केही नीतिगत सुधारहरु गरिए । उदाहरणका लागि ऊर्जा खरिद दर हिँउद र बर्खाको लागि १०० मेगावाटसम्मका 'रन अफ द रिभर' आयोजनाका लागि ४.८ र ८.४ रुपियाँ कायम गरियो । जलाशय युक्त आयोजना र 'पिकिङ्ग रन अफ द रिभर' आयोजनाका लागि नयाँ ऊर्जा खरिद दर कायम भयो । 'टेक एन्ड पे'बाट  'टेक  अर पे' अपनाइयो, रेमिट हाइड्रो र जनताको जलविद्युत् जनताकै लगानी भन्ने कार्यक्रममार्फत आशाका किरण देखाइए । समग्रमा यो एक वर्ष विद्युत् क्षेत्रका लागि धेरै नै उत्साहजनक देखिएको छ ।

    तर, ऊर्जा भन्नेबित्तिकै जलविद्युत्मा मात्र सीमित रहेको देखिन्छ । वायु र सौर्य ऊर्जाजस्ता वैकल्पिक स्रोतको भने चर्चा नै भइरहेको छैन । हाम्रो देशमा रहेको अपार जलस्रोतको दाँजोमा अन्य ऊर्जाका स्रोत आकर्षक नभए पनि दीर्घकालीनरूपमा हेर्ने हो भने ऊर्जा का वैकल्पिक स्रोतको विकासलाई यसरी उपेक्षा गर्नु बुद्धिमानी  देखिँदैन ।
    औद्योगिक क्रान्तिपछि विश्वमा कोइला र पेट्रोलियम पदार्थको अत्याधिक दोहन तथा प्रयोगले कार्बन उत्पादन उच्च मात्रामा हुन पुग्यो । परिणामस्वरूप, विश्व तापमानमा १ डिग्री सेल्सियसभन्दा धेरै वृद्धि भई त्यसको असर बिस्तारै संसारभर देखिन थालेको छ । यस परिप्रेक्ष्यमा सन् २०१५ मा फ्रान्सको पेरिसमा सम्पन्न मौसम परिवर्तनसम्बन्धी विश्व सम्झौताले विकसित देशहरूलाई कार्बन उत्पादन कटौती गर्न बाध्य पार्‍यो । एकातिर कोइलालगायत पेट्रोलियम पदार्थको भण्डार रित्तिँदै जानु र अर्कोतर्फ विश्व तापमान वृद्धिको नकारात्मक असर देखिनुले सबैलाई  भरपर्दो नविकरणीय ऊर्जाका स्रोतका बारेमा सोच्न बाध्य पारिरहेको थियो । सन् २०१६ को आँकडाअनुसार सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देशमा क्रमश: चीन, अमेरिका, भारत  र रसिया  रहेका छन् ।

    विश्वका १४३ राष्ट्रले अनुमोदन गरेको पेरिस सम्झौताअनुसार  औद्योगिक क्रान्तिपछि विश्व तापमान वृद्धि बढीमा २ डिग्री सेल्सियसभित्रै सीमित गर्नुपर्ने हुन्छ । तर, विश्व तापमानमा औद्योगिक क्रान्तिपछि १ डिग्री सेल्सियस वृद्धि भइसकेको छ । अब पनि छिट्टै उपयुक्त कदम नचाल्ने हो भने विश्व वातावरणमा निकै उथलपुथल आउन सक्ने अनुमान गरिएको छ। समुद्री सतह बढ्दै गएर माल्दिभ्सजस्ता देश डुब्ने खतरा, हिमालहरू रित्तिँदै जाने जोखिम, वर्षाको ढाँचामा परिवर्तन हुँदै पूरै विश्व पर्यावरणमै खतरा हुनसक्ने आकलन गरिएको छ ।

    यिनै कुरालाई ध्यानमा राख्दै धेरै कार्बन उत्सर्जन गर्ने देशले कार्बन कटौती गर्ने उपायस्वरूप ऊर्जा उत्पादनमा नविकरणीय स्रोतको उपयोग बढाउँदै लगेका हुन् । पछिल्लो आँकडाअनुसार वर्षभरको कुल खपतको अमेरिकामा १५, चीनमा २५, भारतमा ३०, बेलायत १५ र जर्मनीमा ३५ प्रतिशतको हाराहारीमा नवीकरणीय ऊर्जाको  प्रयोग भएको देखिन्छ। 
    अतिविकसित र मध्यम विकसित  देशहरूले जलस्रोतको अधिकतम उपयोग गर्नुसँगै वायु र सौर्य ऊर्जाको समानान्तर विकास गर्दै कोइला द्वारा सञ्चालित परियोजना  विस्थापित गर्ने प्रयास गर्दैछन् । यसैले हामीले पनि जलस्रोतको साथसाथै वायु र सौर्य ऊर्जाको विकासमा पनि सोच्नु जरुरी भइसकेको छ ।
    चीन, भारत, रुस र ब्राजिलजस्ता जलस्रोतका धनी देशले जलविद्युत्का साथसाथै सौर्य र वायु  ऊर्जाको समानान्तर विकास गरिरहेका छन् । चीनको जलस्रोतमा कुल ६ लाख मेगावाटभन्दा धेरै क्षमता रहेको र त्यसमध्ये ३ लाख २० हजार मेगावाट उत्पादन गरिरहेको छ । वायु  ऊर्जा केन्द्रको क्षमता १ लाख ७० हजार मेगावाट र सौर्य ऊर्जा क्षमता  ४४ हजार मेगावाट  रहेको देखिन्छ। यसैगरी ब्राजिलको कुल जलविद्युत् क्षमता ५ लाख २० हजार मेगावाट मध्ये ९२ हजार मेगावाट उत्पादन गरिरहेको र जलस्रोतको विकास सँगसँगै ११ हजार मेगावाट क्षमताका वायु ऊर्जा केन्द्रको विकास गरेको छ। 
    वैकल्पिक ऊर्जा प्रबर्धन  केन्द्र, सौर्य तथा वायु  ऊर्जा अध्ययन केन्द्रजस्ता संस्थाले गरेको अनुमानअनुसार नेपालमा सौर्य ऊर्जा र वायु ऊर्जाको सम्भावना उत्साहजनक नै देखिन्छ । वर्ष भरमा लगभग ३०० दिन घमाइलो रहने, सोलार रेडियसनको मात्रा ३.६ देखि ६.२ युनिट प्रतिदिन प्रतिवर्गमिटर रहेको तथ्यांकअनुसार नेपालभर २१ सय मेगावाट बराबरको विद्युत् सौर्य प्राणालीबाट उत्पादन हुनसक्ने देखिन्छ ।  

    नेपालका उच्च पहाड र माथिल्लो हिमाली क्षेत्रका समथर भूभाग वायु ऊर्जा उत्पादनको लागि उत्तम मानिन्छ । समुद्री किनारमा रहेका देशहरूले 'अफसोर' अथात् समुद्रमा अवस्थित वायु ऊर्जा केन्द्र बनाउँछन् तर हामीसँग त्यो सुविधा छैन । अध्ययनअनुसार नेपालमा ३ हजारभन्दा बढी मेगावाटको वायु ऊर्जा उत्पादनको सम्भावना छ । तर, हालसम्म यी सबै अध्ययनमै सीमित छन् । 

    ठूला सौर्य र वायु ऊर्जा केन्द्र स्थापना गर्न आवश्यक पर्ने जमिन एउटा मुख्य चुनौती हो । एक मेगावाट सौर्य विद्युत् उत्पादन गर्न एउटा फुटबल मैदान बराबर कम्तीमा  ६ हजार ४०० वर्ग मिटर जमिन आवश्यक पर्छ भने वायु  ऊर्जाको लागि यसभन्दा पनि धेरै जमिन आवश्यक पर्छ। जस्तै सय मेगावाट विद्युत् उत्पादन गर्न पर्‍यो भने सयवटा फुटबल मैदानभन्दा धेरै जमिन आवश्यक हुन्छ । यो ठूलै चुनौती हो । अर्को हाम्रो विद्युत् प्रसारण लाइन जलविद्युत्लाई मात्र ध्यानमा राखेर तयार र विस्तार गरिएको छ । सोही कोरिडोर वरपर वायु र सौर्य ऊर्जाको लागि उपयुक्त र आवश्यक जमिन पाउन निकै कठिन छ। मुख्य प्रासरण लाइनमा नजोडिएका अर्थात् 'अफ द ग्रिड'मा ठूला वायु  र सौर्य ऊर्जा केन्द्रको कुनै उपयोगिता हुँदैन ।
    एक मेगावाट क्षमताको  सौर्य ऊर्जा उत्पादन लागत लगभग १० देखि ११ करोड र  वायु ऊर्जा १३ - १४ करोडको हाराहारीमा हुन्छ । सोही क्षमताको जलविध्युत् उत्पादन गर्न २० करोड जति खर्चिनुपर्छ । झट्ट हेर्दा वायु र सौर्यबाट विद्युत् उत्पादन गर्न सस्तो देखिए पनि वास्तविकता फरक छ । प्रतिमेगावाट क्षमताको वार्षिक उत्पादनको मात्रा तुलना गर्ने हो भने जलस्रोतबाट सरदर ५२ लाख युनिट, सौर्यबाट १३ देखि १८ लाख युनिट र वायुबाट २० देखि २२ लाख युनिट बिजुली  उत्पादन हुन्छ  । तर,  सञ्चालन, मर्मत र अन्य कुराको समग्र र दीर्घकालीन  लेखाजोखा गर्दा वायु र सौर्य ऊर्जा जलस्रोतको तुलनामा १.५ देखि ३ गुनासम्म महँगो पर्न आउने देखिन्छ।

    सौर्य प्रणालीबाट विद्युत् ऊर्जा प्राप्त हुने समय निश्चितजस्तै हुन्छ भने वायुबाट कुनै पनि समयमा उत्पादन हुन सक्छ । तर, वायु ऊर्जा उत्पादनको मात्रा एकदम छिटो घटबढ हुने हुनाले ग्रिड सन्तुलित राख्न सोहीअनुरूपको प्रविधि आवश्यक हुन्छ । हाम्रो विद्युत् खपतको उतारचडाव हेर्दा बिहान र बेलुका उच्च खपत हुने दिउँसो र रातभर न्यून खपत हुने गरेको देखिन्छ ।

    न्यून खपतको समयमा जलस्रोतबाटै प्राप्त विद्युत्ले पुग्ने हो भने किन सौर्य ऊर्जा चहियो भन्ने सवाल पनि जायज नै छ। तर, दीर्घकालीनरूपमा सोच्ने हो भने विकासको क्रमसँगै विद्युत् खपतको शैलीमा परिवर्तन आउँछ । देशमा  उद्योगधन्दा प्रशस्त खुलेपछि दिउँसो ऊर्जाको माग उच्च हुनेछ ।
    सौर्य ऊर्जाको मात्रा थप्ने एउटा सरल उपाय  घरघरमा सोलार प्यानल राखेर विद्युत् उत्पादन गर्ने र सबैलाई राष्ट्रिय ग्रिडमा जोड्ने हो। वैकल्पिक ऊर्जा केन्द्रमार्फत घरघरमा सोलार जडान गर्ने काम भई त रहेको छ तर तिनलाई राष्ट्रिय ग्रिडमा जोड्न सकिएको छैन।

    सरकारले सौर्य ऊर्जा उत्पादन बढाउन अनुदान र सस्तो ब्याजदरमा ॠण  उपलब्ध गराउँदै आए पनि खासै सफल हुन सकेको देखिन्न । एक लाख घरमा मात्रै १ किलोवाट क्षमताका सौर्य उपकरण जडान गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकियो भने पनि  १०० मेगावाटसम्मको योगदान पुग्न सक्छ। उक्त जडित सोलारबाट प्राप्त विद्युत् सम्बन्धित घरले नै प्रयोग गर्ने र बढी भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जाने हुँदा समग्र विद्युत् वितरण प्रणालीमा नै  सहयोग पुग्ने  हुन्छ ।

    यसरी राष्ट्रिय ग्रिडमा जोडिन आएको बिजुलीलाई सरकारले आकर्षक मूल्यमा किनिदिनु आवश्यक हुन् छ। विश्वभर सौर्य ऊर्जा उपकरणको मूल्य द्रूतगतिमा घटिरहेको अवस्थामा पनि  नेपालमा १ किलोवाटको सौर्य ऊर्जा उपकरण र जडान खर्च चार लाख रुपियाँको हाराहारीमा हुनु नै यसमा प्रमुख बाधा रहेको देखिन्छ । भारतमा भारु एक लाखको हाराहारी मै यति सौर्य विद्युत् उत्पादन हुन्छ ।  

    वायु र सौर्य ऊर्जा आयोजनाको सबैभन्दा सबल पक्ष केही महिनामै कैयौँ मेगावाटका आयोजना सम्पन्न गर्न सकिनु हो जुन जलविद्युत्मा सम्भव छैन । आर्थिक लागत र ऊर्जाको उत्पादनमात्र हेर्दा आकर्षक नदेखिए पनि विदेशबाट बिजुली आयात गर्नुपर्ने अवस्थाले गर्दा जलाशययुक्त आयोजनालाई वर्षभर प्रभावकारीरूपमा सञ्चालन गर्नु तथा वैकल्पिक स्रोतको सन्तुलित परिचालन गर्न केही ठूला वायु वा सौर्य ऊर्जा केन्द्र स्थापना गर्नु जरुरी देखिन्छ ।  

    हामीसँग अहिले १०० मेगावाट क्षमताका सौर्य वा वायु  ऊर्जा केन्द्र हुन्थे भने दिउँसोको समयमा भारतबाट बिजुली  आयात गर्नुपर्ने थिएन र ठूलो रकम विदेशिनबाट रोकिने थियो। अबको केही वर्षमा बूढीगण्डकीलगायत अन्य जलाशययुक्त र पिकिङ्ग आयोजना बन्ने नै छन् । माथि भनेजस्तै विश्व तापमानमा आएको असरले हाम्रा हिमालको आयुमा पनि प्रश्न चिन्ह लागिसकेको छ। वर्षाको ढाँचामा परिवर्तन हुँदैगएको छ । यस्तो अवस्थामा ध्यान दिएर जलविद्युत्का साथसाथै सौर्य र वायु  ऊर्जाको पनि विकास गर्दै जानु आवश्यक देखिन्छ । 

    हाम्रो देश भूकम्पीय क्षेत्रमा रहेको हुनाले महाभूकम्पको जोखिम सधैँ रहन्छ । यस्तो भूकम्पीय क्षेत्रमा ठूला जलाशययुक्त आयोजनालाई उच्च जोखिम रहन्छ ।  यसले पनि केही वैकल्पिक स्रोत निर्माण गर्नु जरुरी छ । सन्  २०१४ को खडेरीले ब्राजिलको जलविद्युत्मा परेको असरले देशकै अर्थतन्त्रलाई सखाप पारेको थियो । उक्त घटनाबाट पाठ सिक्दै ब्राजिलले वायु  ऊर्जाको विकास गरेको हो । हामीले पनि जलस्रोतमा मात्रै आश्रित हुँदा भविष्यमा त्यस्तै समस्या भोग्नु नपरोस् भन्ने हेतुले पनि केही ठूला  वायु  र सौर्य ऊर्जा केन्द्र निर्माण गर्नु आवश्यक छ । ऊर्जा मिश्रण नै भविष्यमा  उत्पन्न हुनसक्ने समस्याको सामाधान हो।  
     (जलविद्युत् विशेषज्ञका रूपमा बेलायतमा कार्यरत )

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org