समाचार

  • चीनमा चार सय विद्यार्थी दुषित पानीका कारण बिरामी

    news

    उत्तरपूर्वी चीनको एउटा निजी विद्यालयमा अध्ययनरत ३८१ विद्यार्थी दूषित खानेपानी सेवन गरेका कारण बिरामी परेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको चिनियाँ अधिकारीले बिहीबार जनाएका छन्। 

    जेलिन प्रान्तको फुयुस्थित नम्बर २ प्रयोगात्मक विद्यालयमा अध्ययनरत विद्यार्थी मङ्गलबार विद्यालयबाट फर्केपछि रातिदेखि एकाएक बिरामी परेका स्थानीय प्रशासनले जनाएको छ। 

    प्राप्त जानकारीअनुसार विद्यालयको फिल्टर गरेको खानेपानीमा अत्यधिक किटाणु (व्याक्टेरिया) रहेको बिरामी विद्यार्थीको नमुना रगत सङ्कलनबाट पत्ता लागेको जनाइएको छ। बिरामीको बान्ताको नमुनामा ‘नोरोभाइरस’ भेटिएको अस्पताल स्रोतले जनाएको छ। 

    उक्त विद्यालयमा आठ हजार आवासीयसहित करिब १० हजार विद्यार्थीले अध्ययन गर्ने गरेका र उनीहरु सबैलाई फिल्टर गरेको पानी पाइप लाइनमार्फत दिइने गरेको थाहा भएको छ। 

    विद्यालयद्वारा व्यवस्था गरेको खानेपानीका कारण विद्यार्थी बिरामी परेको भन्ने रिपोर्ट पछि समस्या थप नबनोस भनी विद्यालयद्वारा आपूर्ति गर्दै आएको खानेपानी बन्द गरिएको छ। 

    बिरामी विद्यार्थीमध्ये अस्पतालमा उपचारपछि बिहीबार ५ बजेसम्म १२५ जना अस्पतालबाट घर फर्केका छन्। 

    पानीमा भेटिएको सङ्क्रमणका सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ। रासस÷सिन्ह्वा

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org