सोमबार, २६ असोज, २०८३ (1791656100)
आइतबार असोज २५, २०८३

सोलुखुम्बुका प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण

   सोलुखुम्बुः  राजनीतिक सङ्घर्ष, शैक्षिक नेतृत्व तथा सामाजिक सेवाका विविध अनुभवहरू समेटेर तयार पारिएको प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ पुस्तक शनिबार काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ ।
    सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५, जुबुमा वि.सं. २००९ साल चैत १० गते जन्मिनुभएका प्रेमकुमार राईको जीवन निरन्तर सङ्घर्ष र सामाजिक सक्रियताले भरिएको छ। सानै उमेरमा आमाबुवा र बजै गुमाउनुपर्ने बज्रपात सहँदै अत्यन्तै कठिन परिस्थितिबीच उहाँले आफ्नो जीवनयात्रा अघि बढाउनुभएको थियो। यस आत्मवृत्तान्तमार्फत उहाँले आफ्ना जीवनका उकाली–ओराली, राजनीतिक गतिविधि र सामाजिक योगदानका अनुभवहरूलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने सार्थक प्रयास गर्नुभएको छ।
    प्रकाशित पुस्तकमा नेपालको सामन्तवादविरोधी आन्दोलन, निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्ष, वामपन्थी राजनीतिक सङ्गठन निर्माण र २०३५ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनका महत्त्वपूर्ण प्रसङ्गहरू समेटिएका छन्। वि.सं. २०३३ सालमा धनकुटाबाट सोलुखुम्बु फर्किएपछि नेकपा (चौथो महाधिवेशन) सँग जोडिएर भूमिगत राजनीतिमा सक्रिय हुनुभएका राईले राजनीतिक कार्यकर्ताहरूलाई संरक्षण दिने र सङ्गठन विस्तारमा ठूलो योगदान पु¥याउनुभएको थियो। उहाँ वि.सं. २०४६ सालमा संयुक्त वाममोर्चा, सोलुखुम्बुको जिल्ला सचिवसमेत निर्वाचित हुनुभएको थियो।
    राजनीतिक र सामाजिक जीवनका साथै शिक्षा क्षेत्रमा पनि राईको योगदान अतुलनीय रहेको छ। उहाँले सोलुखुम्बुकै जनजागृति निम्न माध्यमिक विद्यालयमा वि.सं. २०३० देखि २०६९ सालसम्म निरन्तर प्रधानाध्यापकका रूपमा सेवा प्रदान गर्नुभएको थियो। एउटै विद्यालयमा ४० वर्ष चार महिना चार दिन नेतृत्व सम्हाल्नुभएका राईले शिक्षक सङ्गठन निर्माण, शैक्षिक योजना तर्जुमा र विद्यालय व्यवस्थापनमा अनुकरणीय भूमिका निर्वाह गर्नुभएको थियो।
   यसका साथै उहाँले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुमा लगातार आठ वर्ष (दुई कार्यकाल) मन्त्रीका रूपमा र वि.सं. २०६८ मा फाप्लु अस्पताल विकास समितिको अध्यक्षका रूपमा रहेर सामाजिक सेवा गर्नुभएको थियो। राईको यस ‘आत्मवृत्तान्त’ मा केवल सफलता र उपलब्धि मात्र नभई लेखकका कमजोरी, गल्ती, जीवनका डर र आन्तरिक आत्मसङ्घर्षका क्षणहरूलाई पनि इमानदारीका साथ प्रस्तुत गरिएको छ। पुस्तकमा समेटिएका थुलुङ राई समुदायको इतिहास, संस्कृति र वंशावलीसम्बन्धी महत्त्वपूर्ण सामग्रीहरूले यसलाई व्यक्तिगत जीवनकथाभन्दा माथि उठाएर एक व्यापक ऐतिहासिक दस्ताबेज बनाएका छन्।    
    उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री गिरिराजमणि पोखरेल, थुलुङ दुधकोशी गाउँपालिकाका पूर्वअध्यक्ष असिम राईलगायत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।