सोमबार, २६ असोज, २०८३ (1791656100)
आइतबार असोज २५, २०८३

सोलुदुधकुण्ड–४, फाप्लु जिल्लाको तेस्रो बालमैत्री वडा घोषित

  सोलुखुम्बुः  जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–४, फाप्लुलाई तेस्रो ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाको प्रमुख आतिथ्यतामा आयोजित विशेष समारोहबीच पानसमा बत्ती बालेर सो वडालाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो।
   फाप्लुमा रहेका ३१९ घरधुरीका १ हजार ४ सय १३ जना बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, उमेरअनुसार विकास गर्न पाउने र अर्थपूर्ण सहभागिता जनाउन पाउने मौलिक अधिकार सुनिश्चित गर्नु यस घोषणाको मुख्य उद्देश्य रहेको छ । कार्यक्रममा बालमैत्री वडा घोषणापत्र प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले फाप्लुमा जिल्ला अस्पताल तथा फाप्लु विमानस्थल जस्ता महत्त्वपूर्ण पूर्वाधारहरू रहेकाले यहाँको बालमैत्री व्यवहारको अनुगमन सिंगो जिल्लाले मात्र नभई संसारभरिका मानिसहरूले गर्ने बताउनुभयो। उहाँले बालमैत्री व्यवहारलाई केवल कागजी प्रक्रियामा सीमित नराखी घरपरिवारदेखि विद्यालय र समुदायसम्म संस्कृतिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।
   त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरले बालबालिकाको सुरुआती उमेर र अवस्थामा गरिने सही लगानीले नै भविष्यमा सक्षम, वैज्ञानिक, देशभक्त र सचेत नागरिक तयार गर्न सकिने धारणा व्यक्त गर्नुभयो। कार्यक्रमका अन्य अतिथिहरूले पनि बालबालिकाको चौतर्फी विकासका लागि स्थानीय तह, अभिभावक, शिक्षक र नागरिक समाजको सहकार्य अपरिहार्य रहने कुरामा विशेष जोड दिएका थिए।
   सोलुदुधकुण्ड नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले बालबालिकाको क्षेत्रमा गरिने लगानी र समग्र विकासका गतिविधिहरूलाई आगामी दिनमा थप जिम्मेवार र प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
   बालमैत्री वडा घोषणा समारोहका सभाध्यक्ष एवं सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लुका वडा अध्यक्ष युवास तामाङले वडाले हासिल गरेको यो ऐतिहासिक उपलब्धि सबै नगरवासी, जनप्रतिनिधि र सरोकारवालाको निरन्तर साथ, सहयोग र समन्वयकै परिणाम भएको बताउनुभयो। उहाँले “अबको मुख्य चुनौती भनेको सूचकांकको संख्या पु¥याउनु मात्र नभई, बालमैत्री वातावरणलाई व्यवहार र दैनिक संस्कृतिमा पूर्ण रूपमा रूपान्तरण गर्नु हो” भन्दै दिगो कार्यान्वयनमा जोड दिनुभयो।
   सोलुदुधकुण्ड नगरपालिकाले वि.सं. २०८० सालमा सिङ्गो नगरलाई नै बालमैत्री बनाउने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताअनुसार नगरपालिकाले आफ्ना सबै वडाहरूलाई क्रमैसँग बालमैत्री बनाउँदै अन्ततः नगरलाई नै ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका’ घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको छ। यसअघि नै नगरपालिकाको वडा नम्बर ७ र ३ लाई बालमैत्री वडा घोषणा गरिसकिएको छ भने फाप्लु यस अभियानमा जोडिने तेस्रो वडा बनेको छ ।