सोलुखुम्बुका १७ वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न
सोलुखुम्बु : सोलुखुम्बुका १७ वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन अन्तर्गत शनिवारदेखि सुरु भएको देशव्यापी वडा अधिवेशनका क्रममा सोलुखुम्बु जिल्लाका १७ वटा वडामा अधिवेशन भएको हो । नेपाली कांग्रेस सोलुखुम्बुका पार्टी सचिव युवराज घिमिरेका अनुसार महाकुलुङ गाउँपालिकामा रहेका पाँच वडामध्ये वडा नम्बर चार र पाँचमा अधिवेशन भएको छ । त्यसैगरी, ११ वटा वडा रहेको सोलुदुधकुण्ड नगरपालिकाका आठ वटा वडामा अधिवेशन सकिएको छ भने बाँकी चार वडामा आइतबार अधिवेशन हुनेछ ।
पाँच वटा वडा रहेको नेचासल्यान गाउँपालिकाको वडा नम्बर एकमा शनिवार नै अधिवेशन भएको छ । यस्तै, थुलुङ दुधकोसी गाउँपालिकाका वडा नम्बर १, ३, ६, ७ र ८ मा अधिवेशन आज भएको छ भने सात वटा वडा रहेको माप्यदुधकोसी गाउँपालिकामा एक वडाको अधिवेशन सम्पन्न भएको छ । कतिपय वडाहरुमा अधिवेशन जारी रहेको छ ।
जिल्लाका बाँकी रहेका खुम्बु पासाङल्हामु, लिखुपिके र सोताङ गाउँपालिकाका साथै अन्य पालिकाका बाँकी वडाहरूमा आइतबार अधिवेशन हुने सचिव घिमिरेले जानकारी दिनुभयो। केन्द्रीय तालिका अनुसार शनिवार र आइतबार देशभरका वडामा अधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको छ । यो वडा अधिवेशनले नयाँ वडा कार्यसमिति गठन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिहरू समेत चयन गर्नेछ । यसरी छानिएका क्षेत्रीय प्रतिनिधिहरूले क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् भने तिनै महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय महाधिवेशनमा भाग लिएर नेपाली कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने व्यवस्था रहेको छ ।
ताजा खबर
सबै- प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरिक्षण
- रेड पाण्डा म्याराथनको तयारी पुरा, ३ सय धावक सहभागी हुदै , अभिनेता दयाहाङ राई सोलुुखुम्बुमा
- हिमालयन डायमण्ड फाउन्डेसनद्वारा टाक्सिन्दु माविका १८५ विद्यार्थी र २२ शिक्षक(कर्मचारीलाई न्यानो ज्याकेट तथा पोशाक वितरण
- रामेछाप हुँदै सगरमाथा आधारशिविर जोड्ने सडक निर्माणका लागि ५ अर्ब बजेट सुनिश्चित
- माप्य दुधकोशीका २ आगलागीबाट १ करोड बढिको क्षति






