सोमबार, १७ कार्तिक, २०८३ (1793470500)
आइतबार कार्तिक १६, २०८३

  जिल्ला अस्पताल फाप्लुमा आङ खसेका महिलाहरुको निशुल्क परिक्षण तथा शल्यक्रिया गरिने

सोलुखुम्बु  :   जिल्ला अस्पताल फाप्लुमा पाठेघर (आङ) खसेका महिलाहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा शल्यक्रिया छनोट शिविर सुरु भएको छ । कोशी प्रदेश सरकार र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा गत कार्तिक १० गतेदेखि सुरु भएको यो विशेष शिविर आगामी एक महिनासम्म निरन्तर सञ्चालन हुने अस्पताल प्रशासनले जनाएको छ ।
    ८ वटा स्थानीय तह रहेको भौगोलिक रूपमा विकट हिमाली जिल्ला सोलुखुम्बुमा यसअघिसम्म पाठेघरको जटिल समस्या भएका महिलाहरूको शल्यक्रिया गर्ने सेवा स्थायी रूपमा उपलब्ध थिएन। जसका कारण विपन्न तथा ग्रामीण क्षेत्रका महिलाहरू सामान्य उपचारका लागि पनि ओखलढुङ्गा, विराटनगर वा काठमाडौँ धाउनुपर्ने बाध्यता थियो भने धेरैजसो महिलाहरू आर्थिक अभाव र सामाजिक सङ्कोचका कारण रोग लुकाएर बस्न विवश थिए।
जिल्ला अस्पताल फाप्लुका डाक्टर मण्डलका अनुसार, जिल्लामै विशेषज्ञ सेवा नहुँदा यहाँका बिरामीहरूले ठूलो खर्च गरेर बाहिर जानुपर्ने बाध्यतालाई ध्यानमा राख्दै यो एक महिने लामो शिविरको आयोजना गरिएको हो। यो अवधिभर जिल्लाका सबै स्थानीय तहका पीडित महिलाहरूको विस्तृत स्वास्थ्य परीक्षण गरिनेछ र शल्यक्रिया गर्नुपर्ने जटिल बिरामीहरूको छनोट गरिनेछ । छनोट प्रक्रिया सकिएपछि बाहिरबाट विशेषज्ञ चिकित्स हरूको टोली जिल्ला अस्पतालमै ल्याएर पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरिने डाक्टर मण्डलले बताउनुभयो।

यसअघि गत वर्ष सञ्चालन गरिएको यस्तै अभियानमा जिल्लाका १० जना आङ खसेका महिलाहरूको सफल शल्यक्रिया गरी उनीहरूलाई पीडामुक्त बनाइएको अस्पतालको तथ्याङ्क छ । गत वर्षको सफलता र प्रभावकारितालाई हेर्दै यस वर्ष पनि धेरै भन्दा धेरै पीडित महिलाहरूलाई सेवा दिने लक्ष्य राखिएको छ । अस्पतालमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क परीक्षण, औषधि तथा शल्यक्रिया सेवा उपलब्ध भएपछि वर्षौँदेखि रोग लुकाएर कष्टकर जीवन बिताइरहेका ग्रामीण क्षेत्रका महिलाहरूमा खुसीयाली छाएको छ । अहिले अस्पतालमा परीक्षणका लागि आउने महिलाहरूको सङ्ख्या दैनिक रूपमा बढिरहेको र स्वास्थ्यकर्मीहरूले उनीहरूलाई परामर्श र उपचार सेवा दिइरहेको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले यो एक महिने सुनौलो अवसरको लाभ उठाउन र आफ्नो स्वास्थ्य परीक्षण गराउन जिल्लाभरिका सम्पूर्ण आमादिदीबहिनीहरूमा अपिल समेत गरेको छ ।