सगरमाथा क्षेत्रमा २४ घण्टादेखि निरन्तर हिमपात,२ फिट बाक्लो हिउँ
सोलुखुम्बु : सगरमाथा क्षेत्र (खुम्बु क्षेत्र) मा २४ घण्टादेखि लगातार भारी हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा अविरल वर्षा जारी रहेको छ । खुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजारभन्दा माथिल्लो क्षेत्रमा अत्यधिक हिमपात भएको छ, जसका कारण पर्यटकीय क्षेत्रहरू करिब २ फिट बाक्लो हिउँले ढाकिएका छन्।
मौसममा आएको तीव्र बदलावसँगै सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प), कालापत्थर, गोक्यो लगायतका माथिल्लो उचाइका क्षेत्रहरूमा हिउँ पर्ने क्रम अझै रोकिएको छैन। हिमपातका कारण खुम्बु क्षेत्रको पदमार्ग र हिमालतर्फ जाने बाटोहरू हिउँले पुरिएपछि पर्यटकीय गतिविधि प्रभावित बनेका छन्।
सगरमाथा क्षेत्रको मौसम प्रतिकूल बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) नविन राजा बुढाथोकीले सञ्चारमाध्यममार्फत सगरमाथा क्षेत्रमा रहेका सबै पर्यटकहरूलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गर्नुभएको छ ।
“नाम्चेभन्दा माथिल्लो क्षेत्रमा करिब दुई फिटसम्म हिउँ जमिसकेको छ र हिमपात अझै जारी छ,“ डिएसपी बुढाथोकीले भन्नुभयो, “मौसममा सुधार नआएसम्म माथिल्लो क्षेत्रतर्फको यात्रा अगाडि नबढाउन र आफ्ना गाइड एवं स्थानीय प्रशासनको सम्पर्कमा रहन सम्पूर्ण पर्यटकहरूलाई अनुरोध गर्दछौँ।“ सगरमाथाको माथिल्लो भेगमा हिमपात भइरहँदा सोलुखुम्बुका तल्लो क्षेत्रहरू (सल्लेरी, सोलुदुधकुण्ड, नेचासल्यान, थुलुङ दुधकोशी लगायतका स्थानीय तहहरू) मा भने लगातार पानी परिरहेको छ । जिल्लाभर भइरहेको यो अविरल वर्षा र अत्यधिक चिसोका कारण स्थानीय जनजीवन कष्टकर बनेको छ भने हिमाली क्षेत्रमा पदयात्रामा निस्किएका पर्यटकहरू विभिन्न लज तथा होटलहरूमै रोकिएका छन्। प्रहरीले विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्लाका सम्पूर्ण प्रहरी युनिटहरूलाई हाइ–अलर्ट (उच्च सतर्कता) मा राखेको र पर्यटकीय क्षेत्रमा आवश्यक समन्वय गरिरहेको जनाएको छ ।






