सोलुखुम्बुमा पहिरोले इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ । पहिरोले नदी थुनिएपछि अस्थायी बाँध बनेको र त्यसबाट पानीको बहाव बढ्न सक्ने भन्दै कोशी प्रदेश सरकारले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले अस्थायी बाँध फुटेमा एकैपटक पानीको बहाव बढ्न सक्ने जोखिम रहेको हुँदा सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभएको छ । इङ्खुखोला, दूधकोशी र सप्तकोशी नदीका तटीय क्षेत्रमा बसोबास गर्नेलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उक्त स्थानमा यसअघि पनि पहिरो खस्ने गरेको र यसपटक पनि सोही क्रममा सामान्य बाँध बनेको हो । प्रहरी निरीक्षक तथा सूचना अधिकारी मौसम तामाङले समाचारमा आएजस्तो ठूलो वा जोखिमपूर्ण ताल नरहेको बताउनुभयो। पहिरोले बनेको अस्थायी बाँधबाट नदीको पानी नियमित रूपमा निकास भइरहेको उहाँको भनाइ छ । इङ्खु नदी दूधकोशीमा मिसिने भएकाले बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै फैलिएको सूचनामा पनि तत्काल आत्तिनुपर्ने अवस्था नरहेको तामाङले स्पष्ट पार्नुभयो। यद्यपि पछिल्लो समय लगातार बेमौसमी वर्षा भइरहेकाले नदी तथा खोलामा पानीको बहाव जुनसुकै बेला बढ्न सक्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
2026-10-30-05-25-10.jpeg)





