आइतबार, १६ कार्तिक, २०८३ (1793384100)
शनिबार कार्तिक १५, २०८३

सोलुखुम्बुमा खाद्य महोत्सव, कृषि उत्पादनको प्रदर्शनी

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शनिबार खाद्य महोत्सव आयोजना गरिएको छ । स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, प्राङ्गारिक खेतीप्रति प्रोत्साहन तथा किसानले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । सगरमाथा मिलिजुली साना किसान तथा कृषी महिला सहकारीको आयोजना तथा एफआइएआर, ओसिरिस, शोक फामिलियन स्टिफ्टुङ, सोलिकन इट, सोरप्टिमिस्ट इन्टरनेसनल, टुलबक्सलगायत विभिन्न संघसंस्थाको सहकार्यमा महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा कृषकले आफूले सिकेको सीप र प्रविधिको प्रयोग गरी उत्पादन गरेका तरकारी तथा फलफूल प्रदर्शन गर्नुका साथै बिक्रीसमेत गरेका थिए

। महोत्सवमा सहभागीलाई प्राङ्गारिक खाद्य परिकारको स्वाद चखाइएको थियो। कार्यक्रममा किसानले कृषि तथा महिला सशक्तीकरणका क्षेत्रमा सहयोग पुर्याउने संघसंस्थाप्रति आभार व्यक्त गरेका थिए। सहयोगी संस्थाहरूले सोलुदुधकुण्ड नगरपालिकाका घुन्सा, कुनिखोप, मेराङ्दिन र च्याङ्सारमा प्राङ्गारिक कृषि तालिम सञ्चालन, जग्गा खरिद तथा सहकारी भवन निर्माण, कक्षा ११ र १२ मा छात्रवृत्ति, विश्वविद्यालय अध्ययनका लागि छात्रवृत्तिको सुरुवात, घुम्ती कोष स्थापना तथा बालिका क्लब गठनलगायतका काममा सहयोग गरेका छन् ।