आइतबार, १६ कार्तिक, २०८३ (1793297700)
शुक्रबार कार्तिक १४, २०८३

सगरमाथा मिलिजुली कृषि सहकारीको १० वर्षे उपलब्धि सार्वजनिक,२१ लाख बढी बचत, मेयर शेर्पाद्वारा प्रशंसा

 सोलुखुम्बु  : सगरमाथा मिलिजुली साना किसान कृषि महिला सहकारी संस्थाले आफ्नो स्थापनाको १० वर्षे उपलब्धि सार्वजनिक गरेको छ । संस्थाले सोलुदुधकुण्ड नगरपालिकाका विभिन्न क्षेत्रमा महिला सशक्तीकरण, प्राङ्गारिक कृषि र सामाजिक विकासमा पु¥याएको योगदानको प्रतिवेदन सार्वजनिक गरेको हो। विगत एक दशकदेखि दातृ निकायको सहयोगमा संस्थाले विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका साथै ग्रामीण महिलाहरूलाई आत्मनिर्भर बनाउन सशक्तीकरणका विभिन्न तालिम र वातावरणमैत्री प्राङ्गारिक कृषिको प्रवद्र्धनमा संस्था निरन्तर क्रियाशील छ । हाल यस सहकारीमा आबद्ध कृषकहरूको संख्या १७८ पुगेको छ भने संस्थाको कुल बचत २१ लाख रुपैयाँभन्दा बढी रहेको सार्वजनिक गरिएको छ ।
१० वर्षे उपलब्धि सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले सहकारीले कृषि र महिला सशक्तीकरणको क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। मेयर शेर्पाले नगरको आर्थिक विकासमा साना किसान र महिला सहकारीहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा नगरपालिकाले कृषि प्रवद्र्धनका कार्यक्रममा सहकारीसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।
    कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङले महिलाहरू संगठित भएर उत्पादनमूलक क्षेत्रमा लाग्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले संस्थाको वित्तीय सुशासन र सामाजिक कार्यको सह्राहना गर्नुभयो।
संस्थाकी अध्यक्ष कल्पना थापा मगरले १० वर्षको यात्रामा कृषक र महिलाहरूको आर्थिक जीवनस्तरमा उल्लेख्य सुधार आएको बताउनुभयो। आगामी कार्ययोजनाबारे प्रष्ट पार्दै अध्यक्ष मगरले भन्नुभयो, “कृषि र सशक्तीकरणको जग बलियो बनाइसकेका छौँ, अब संस्थाले आगामी दिनमा स्थानीयस्तरमा शिक्षाको क्षेत्रमा पनि विशेष काम गर्ने र विपन्न बालिकाको पहुँच बढाउने लक्ष्य लिएको छ ।“ सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि र शेयर सदस्य कृषक महिलाहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाको प्रगतिको समीक्षा गर्दै उत्कृष्ट कृषकहरूलाई सम्मान समेत गरिएको थियो।