सल्लेरीमा खसीको मासु प्रतिकिलो १२२० सम्म
सोलुखुम्बुः हिन्दू नेपालीहरूको महान् चाड दशैं नजिकिएसँगै सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा मासुको माग उच्च रूपमा बढेको छ । दशैंमा मासुका विभिन्न परिकार बनाएर परिवार तथा आफन्तजनसँग रमाइलो गर्ने परम्परा भएकाले सल्लेरी बजारका मासु पसलहरूमा ग्राहकहरूको चहलपहल र माग बढेको हो।
दशैंको समयमा विद्यालयहरू बिदा हुने र कार्यालय तथा गाउँघरबाट मानिसहरू आउजाउ गर्ने भएकाले सल्लेरी बजारमा मासुको मागमा वृद्धि भएको छ। बजारमा विशेषगरी खसी, राँगा र कुखुराको मासुको माग बढी रहेको छ।
स्थानीय मासु व्यापारी केसर बस्नेतका अनुसार कार्यालयहरू र संघ–संस्थाहरू बिदा भएर मानिसहरू गाउँतर्फ जाने क्रम चलेकाले बजारमा केही चहलपहल फेरबदल भए पनि कुखुराको मासु, दाना तथा चल्लाको कारोबार नियमित चलिरहेको छ। उहाँका अनुसार बर्ड फ्लुका कारण अघिल्ला समयमा धेरै कुखुरा नष्ट भएको र बोइलर चल्ला समयमा नराखिएकाले उत्पादन घट्न गई बजारमा जिउँदो कुखुराको मूल्य केही बढेको छ ।
तर पनि चाडपर्वलाई लक्षित गर्दै उपभोक्तालाई सहुलियत दिन आफूले प्रति ÷केजी रु ४८० मा नै मासु उपलब्ध गराइरहेको उहाँले बताउनुभयो। आवश्यक कुखुरा स्थानीय सोलु क्षेत्रका १५–२० वटा फार्महरूबाट र अपुग भएमा ओखलढुङ्गा, कटारी तथा घुर्मी जस्ता तल्लो तराई÷पहाडी क्षेत्रबाट आयात गर्ने गरिएको छ।
त्यस्तै, राँगाको मासु बिक्री गर्दै आएका व्यापारी पासाङ तामार्ङले दशैं नजिकिएसँगै शुद्ध राँगाको मासुको माग निकै बढेको बताउनुभयो। मानिसहरू गाउँ जाने र दशैंको उपभोगका लागि घर–घरमा मासु लैजाने भएकाले बिक्री बढेको उहाँको भनाइ छ। हाल बजारमा हड्डीसहितको राँगाको मासु प्रति केजी रु ४५० र सोलो (हड्डी नभएको) मासु रु ५५० मा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो।
त्यसैगरी बजारका खसी तथा कुखुरा मासु व्यापारी रुप बहादुर बस्नेत का अनुसार बजारमा खसी तथा कुखुराको मासुको माग लगातार बढ्दो क्रममा छ। काठमाडौँ लगायत ठूला शहरहरूबाट खसीको अत्यधिक माग हुने र बाहिर पठाइने भएकाले खसीको मूल्य केही महँगो भएको छ। अहिले बजारमा खसीको मासु प्रति केजी रु ११०० देखि १२२० सम्म र कुखुराको मासु प्रति केजी रु ५०० सम्ममा बिक्री भइरहेको छ।
चाडपर्वको समयमा उपभोक्तालाई ताजा, स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउन व्यापारीहरू सजग देखिएका छन्। बासी वा बिग्रिएको मासु बिक्री नगर्न, पसल तथा काट्ने ठाउँ सफा राख्न र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर बिक्री वितरण गर्न आफूहरू प्रतिबद्ध रहेको व्यापारीहरूले बताएका छन्।
ताजा खबर
सबै- सोलुखुम्बुमा प्रहरीको ७१ औँ स्थापना दिवस, नागरीकको विश्वास जित्न निर्देशन
- नेपाली कांग्रेसको सहमहामन्त्रीमा सोलुका शेर्पा निर्वाचित
- सल्लेरीमा खसीको मासु प्रतिकिलो १२२० सम्म
- नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रकाशसिंह कार्की निर्वाचित
- निम्सदाईको नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड

2026-10-09-08-52-42.jpeg)


2026-10-12-03-58-15.jpeg)

