मंगलबार, १६ भदौ, २०८३ (1788113700)
सोमबार भदौ १५, २०८३

एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने काकु माविका तीन विद्यार्थी सम्मानित

     सोलुखुम्बुः माप्य दुधकोशी गाउँपालिका–४, भेडाचौरस्थित श्री काकु माध्यमिक विद्यालयले एसईई तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने तीन जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित समारोहमा माप्य दुधकोशी गाउँपालिका–४ की कार्यवाहक वडा सदस्य सीता राईको प्रमुख आतिथ्यतामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानपत्र र नगद प्रदान गरिएको हो।
     विद्यालयले स्थापना गरेको ‘शैक्षिक उन्नयन कोष (अक्षय कोष)’ मा जम्मा भएको रकमबाट प्राप्त वार्षिक ब्याजको प्रतिफल प्रयोग गरी विद्यार्थीलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ। सम्मानित हुने विद्यार्थीमा एसईई परीक्षामा ३.६१ जीपीए ल्याउने मनिर राई, ३.५६ जीपीए ल्याउने डोमा शेर्पा र कक्षा १२ को परीक्षामा ३.२५ जीपीए ल्याउँदै विद्यालय प्रथम हुन सफल रेविका राई रहेका छन्। तीनै जना विद्यार्थीलाई जनही ४ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।
    कार्यक्रममा प्रधानाध्यापक बिनोद बस्नेतले विद्यालयको शैक्षिक वातावरणलाई थप गुणस्तरीय बनाउन शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य महत्वपूर्ण हुने बताउनुभयो। विद्यार्थीहरूले आफ्नो मेहनत र लगनशीलताबाट विद्यालयको शैक्षिक प्रतिष्ठा उकास्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उहाँले अक्षय कोषले विद्यार्थीलाई निरन्तर उत्कृष्ट नतिजा हासिल गर्न प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो।
    प्रमुख अतिथि कार्यवाहक वडा सदस्य सीता राईले ग्रामीण क्षेत्रका विद्यालयबाट पनि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्न सकिन्छ भन्ने उदाहरण काकु माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेको बताउनुभयो। उहाँले विद्यार्थीको प्रतिभा र मेहनतलाई प्रोत्साहन गर्न विद्यालय तथा समुदायको निरन्तर सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खासवीर  राईले अक्षय कोषलाई आगामी दिनमा थप सुदृढ बनाउँदै धेरै विद्यार्थीलाई प्रोत्साहन र सम्मान गर्ने योजना रहेको बताउनुभयो। उहाँले सम्मानित विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो। समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।