शनिबार, ६ मङ्सिर, २०८३ (1795112100)
शुक्रबार मङ्सिर ५, २०८३

हरिवोधनी एकादशीमा सोलुखुम्बुका विभिन्न स्थानमा  मेला 

सोलुखुम्बु  :   हिन्दु धर्मका भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी दिन सोलुखुम्बुबा विभिन्न  स्थानमा मेला लागेको छ ।  थुलुङ दुधकोशी गााउँपालिका वडा नम्बर ७ र ६ को दुधकोशी नदि किनारामा  एकादशीको विशेष मेला लागेको छ । यी स्थानमा हरेक वर्षको एकादशीका दिनमा मेला लाग्ने गरेको छ । यस्तै सोताङ गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाका विभिन्न स्थानमा  मेला लागेको जनाएको छ । सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ ।

चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ । एकादशीका दिन उपवास बसी नारायणको आराधना गरी  र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ ।  आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ । त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ ।  अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ । भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएको उल्लेख छ ।